चितवन । चितवनको पर्यटन विकासको लागि सरकार, पर्यटन व्यवसायी र संरक्षणकर्मीहरुले पर्यटन उद्योगको अबस्था विश्लेषण गरेका छन् । चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आयोजना गरिएको संरक्षणमुलक अन्तरसंवाद कार्यक्रम आयोजना गरी उनीहरुले विगतको चितवनको पर्यटनको विगत अबस्था र भावि योजनाको बारेमा विश्लेषण गरेका हुन् ।
एक दशक अघि र एक दशक यताको चितवनको पर्यटनको विश्लेषण गर्दा पर्यटक आगमनको अबस्था उल्टिएको छ । १० बर्ष अघि ७० प्रतिशत विदेशी, २० प्रतिशत नेपाली र १० प्रतिशत सार्क मुलुकबाट पर्यटक आउने गरेकोमा अहिले त्यसको ठिक विपरित ७० प्रतिशत नेपाली, २० प्रतिशत विदेशी र १० प्रतिशत मात्र सार्क मुलकका पर्यटक चितवन आउने गरेको तथ्याङ्कले देखाएको छ । स्वदेशी पर्यटकको संख्या बृद्धि हुँदा विदेशी पर्यटकको संख्या घट्नुले पर्यटन उद्योगको स्थायित्वमा असर गर्ने देखिन्छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन विज्ञ तथा इकोलोजिष्ट डा.सिद्धार्थ ब्रज ब्रजचार्यले चितवनको पर्यटनको स्थायित्वको लागि ५० प्रतिशत विदेशी, ३० प्रतिशत नेपाली र २० प्रतिशत सार्क मुलुकबाट आउने बातावरण तयार गर्न उनले सुझाब दिनुभयो । उहाँले चितवनको सफारी पर्यटनले मुलुककै पर्यटन उद्योगमा सकरात्मक छाप छोड्न सफल भएको बताउनुभयो ।
चितवनको सफारी पर्यटनको विकल्प खोजिए दुर्भाग्य हुने भन्दै उहाँले चितवन आउने विदेशी पर्यटकको संख्या बृद्धि गर्न सुझाब दिए । सौराहामा विहीबार देखि सुरु भएको १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत क्षेत्रीय होटल संघ चितवन, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, पर्यटन कार्यालय सौराहाले चितवनको पर्यटन हिजो र आज, सफारी पर्यटनमा विविधता, मौलिकता र नविनता विषयक अन्तरसंवाद कार्यक्रम गरिएको हो ।
चितवनको सफारी पर्यटनसंग सरोकार राख्ने नेपाल सरकार, पर्यटन व्यवसायी, निकुञ्ज र संरक्षणकर्मीहरु बीच सफारी पर्यटनको सम्भावना र स्थायित्वका विषयमा बहस गरिएको संघका महासचिव गुणराज थपलियाले बताउनुभयो । पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले सहजीकरण गरेको चितवनको पर्यटन हिजो र आज विषयमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगाना, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त, लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङबो, पर्यटन विकास समिति सौराहाका अध्यक्ष भेषराज दुवाडी, हात्ती महोत्सवका संयोजक रामकुमार अर्यालले बहस गर्नुभएको थियो ।
क्षेत्रीय होटल संघ चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले सहजीकरण गरेको सफारी पर्यटनमा विविधता, मौलिकता र नविनता विषयमा पूर्व राजदुत विष्णुपुकार श्रेष्ठ, संरक्षणकर्मी तथा पर्यटन व्यवसायी बासु ढुंगाना, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, नाटाका अध्यक्ष कुमारमणि थपलिया तथा पर्यटन कार्यालय सौराहाका कार्यालय प्रमुख प्रेम ढकालले बहस गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक नारायण प्रसाद रेग्मीले नेपालको पर्यटनको विकासको लागि ऐन संशोधन, नयाँ पर्यटन नीति र नीतिगत सुधारमा ध्यान दिइएको बताउनुभयो । हात्ती सफारीको विकल्प खोज्ने नभइ हात्तीको जीवनचक्र सहित अन्य गतिविधिलाई समेत अगाडि सार्नुपर्ने उहाँको भनाई छ । उहाँले कोरानाले नेपालमा ८१ प्रतिशत घटेको उल्लेख गर्दैै त्यस गता सन २०२३ मा १० लाख १४ हजार र चालु आर्थिक बर्षको डिसेम्बर सम्म ११ लाख बढी पर्यटक नेपाल प्रवेश गरेको जानकारी दिनुभयो ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, पर्यटन व्यवसायी ऋषि तिवारी, संरक्षणकर्मी शिवजी गायक, पर्यटन व्यवसायी शिव भूषाल, साप नेपालका प्रदेशिक निर्देशक जनक कार्की लगायतले मन्तव्य राखेका थिए । आर्थिक बर्ष २०८०÷८१ मा २ लाख ९२ हजार ९३० जना पर्यटक चितवन आएका थिए ।






