गुल्मी । गुल्मीको छत्रकोटमा जिपलाइन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
छत्रकोट गाउँपालिका–३ चोयागास्थित छत्रदेवालय मन्दिर परिसरबाट सोही वडाको लुम्छा बजार नजिकै टापुको देवी भगवती मन्दिर परिसर जोड्ने जिपलाइन सञ्चालन गर्न लागिएको हो । नवनिर्मित जिपलाइनको सफल परिक्षण समेत गरिसकिएको छ ।
जिपलाइन व्यवसायिक रुपमा सञ्चालन गर्ने तयारीका साथ आगामी शुक्रबार उद्घाटन गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थितिमा उद्घाटन गरिनेछ । जिपलाइन दुई स्टेशन बीचको दुरी ९६० मिटर रहेको छ, भने यसको जिकज्याक सहितको लम्बाई १ हजार ८० मिटर रहेको छ । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपुरक बजेटबाट रु.१ करोड ३७ लाख ४५ हजार १७७ रुपैयाँ लागत स्टुमेटमा ठेक्का सम्झौता गरी रु। ८६ लाख ७३ हजार १४४ रुपियाँमा जिपलाइन सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार २०८० चैत्र २७ गते सानुदेवि कण्टक्सन प्रालिसँग ३० जेठ २०८२ समा सम्पन्न गर्ने सम्झौता भएकोमा त्यस अघि नै निर्माण कम्पनीले सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्न लागेको हो । जिपलाइनको औषत गति ब्यक्तिको तौल अनुसार प्रति सेकेण्ड १५ देखि २० मिटर रहेको छ । जिपलाइन चढ्ने स्टेशन देखि ओर्लने स्थल सम्म पुग्न ५५ देखि ७७ सेकेण्ड समय लाग्ने गर्दछ ।
औषतमा एक मिनेट भित्रमा पुग्न सकिन्छ । नगरकोट जिपलाईन प्रा.लि.का दुई जना दक्ष प्राविधिकद्धारा स्थानीयबासी ३ जना र २ जना त्यस पालिकाका नगर प्रहरी सहित ५ जनालाई तालिम दिई जिपलाइनको नियमित सञ्चालन गर्न लागिएको हो । छत्रकोट गाउँपालिकाबासीका लागि टिकट दर ४ सय कायम गरिएको छ । विद्यार्थीहरुका लागि ३ सय छत्रकोट बाहिरका बासिन्दाका लागि ५ सय र विदेशी नागरिकका लागि १५ सय टिकट दर कायम गरिएको छ ।






