नवलपरासी । नवलपरासी जिल्ला कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दीहरू रहेकाले तत्काल स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको छ।
मुख्य न्यायाधिवक्ता कार्यालय, लुम्बिनी प्रदेशका प्रमुख न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वमा कारागार र हिरासतको अनुगमन गर्न गएको टोलीले यस्तो सुझाव दिएको हो।
कारागार प्रशासनका अनुसार १ सय ७५ जनाको क्षमता रहेको यो कारागारमा अहिले ५ सय ५३ जना कैदीबन्दी राखिएको छ। प्रशासक अर्जुन प्रसाद रेग्मीका अनुसार २५ जना महिलाका लागि तोकिएको ठाउँमा हाल ९० जना महिला (३ बालबालिका सहित) र १ सय ५० जना पुरुषका लागि तोकिएको ठाउँमा हाल ४ सय ६३ जना पुरुष रहेका छन्।
अनुगमनका क्रममा टोलीले कैदीबन्दीहरूको अत्यधिक संख्या व्यवस्थापन गर्न स्थानान्तरणको व्यवस्था गर्नुपर्ने, विशेषगरी युवा कैदीहरूका लागि श्रम र रोजगारीको अवसर सिर्जना गर्नुपर्ने सुझाव दिएको छ।
कारागारमा महिला कैदीहरूको संख्या बढी हुनुको कारण रुपन्देही र कपिलवस्तुमा महिला कैदीलाई राख्ने व्यवस्था नहुँदा उनीहरूलाई नवलपरासी पठाइएको हो। अन्य जिल्ला र नवलपुरका पुरुष कैदीहरूको संख्या पनि उल्लेख्य रहेको रेग्मीले जानकारी दिनु भयो ।
अन्य जिल्लाहरूमा पनि कैदीहरूको अत्यधिक संख्या भएकाले स्थानान्तरणको समस्या देखिएको कारागार प्रशासनले जनाएको छ। यस विषयमा सम्बन्धित विभागसँग निरन्तर समन्वय भइरहेको प्रशासक रेग्मीले जानकारी दिनु भयो ।
सम्बन्धित निकायहरूको ध्यानाकर्षण आवश्यक कैदीबन्दीहरूको अस्वस्थकर अवस्था र व्यवस्थापनका लागि तत्काल कदम चाल्नुपर्नेमा जोड दिइएको छ। कैदीबन्दीहरूको उचित व्यवस्थापन नहुँदा उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा, र पुनर्स्थापनामा समस्या देखिनसक्छ। समाजसेवी तथा सरोकारवाला निकायहरूले यस विषयमा ठोस कदम चाल्न सरकारलाई दबाब दिनुपर्ने देखिन्छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता