नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा 'आठौं बर्दघाट महोत्सव २०८१' सुरु भएको छ।
बर्दघाट उद्योग वाणिज्य संघले 'कला, संस्कृति, उद्योग र व्यापार, समृद्ध बर्दघाटको बलियो आधार' भन्ने नाराका साथ पुस ८ गतेदेखि १८ गतेसम्म ११ दिने महोत्सव आयोजना गरेको हो।
महोत्सव उद्घाटन समारोहमा बोल्दै उद्योगपति तथा सांसद विनोद चौधरीले देशको आर्थिक विकासको खाँचो औंल्याउँदै यस्तो महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयाे। उहाँले भन्नुभयाे, 'विकास बिना देशको समग्र विकास सम्भव छैन। यस्ता महोत्सवले स्थानीय अर्थतन्त्रलाई टेवा दिन्छ।'
उक्त अवसरमा नगर प्रमुख शम्भुलाल श्रेष्ठले महोत्सवले बर्दघाट नगरको पहिचान बढाउनुका साथै पर्यटन, संस्कृति र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने बताउनु भयो । संविधानसभा सदस्य सुन्धु जलेसाले व्यवसायीमैत्री नीतिको आवश्यकता औंल्याउँदै कला, साहित्य, र व्यापारबीचको सम्बन्धलाई महोत्सवले थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नु भयो ।
जिल्ला समन्वय समिति प्रमुख भगौतीप्रसाद यादवले महोत्सवले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी स्क्रीम श्रेष्ठले यस्ता महोत्सवले स्थानीय विकासको आधार तयार पार्ने बताउनु भयो ।
२ लाख दर्शकले सहभागिता जनाउने र करिब ३ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ। महोत्सव सञ्चालनका लागि ६० देखि ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सवमा २ सय ७ वटा स्टल राखिएका छन्।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता