भोजपुर । पहाडी जिल्ला भोजपुरमा आँखा रोगीको संख्या बढ्दै गएको छ । भोजपुरमा दिनप्रति दिन आँखा रोगीको संख्यामा बृद्धि हुँदै गएको नेपाल नेत्रज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले बताउनुभयो ।
प्रमुख तामाङले भन्नुभयो, “आँखाका बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ’, केन्द्रको आयोजनामा जिल्लामा तीन दिनको आँखा जाँच तथा शल्यक्रिया शिविरसमेत संचालन गरिएको छ ।” तीन दिनको शिविरमा पाँच सय १६ जनाको आँखा जाँच गरिएको छ भने ८९ जनाको शल्यक्रिया गरिएको छ । भोजपुरमा हुने आँखा शिविरहरु प्रभावकारी बन्दै गएको छ ।
भोजपुरमा मोतियाबिन्दु तथा मासु पलाएका बिरामीहरुको लागि शिविर प्रभावकारी बनेको आयोजक संस्थाका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो । विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा भोजपुरका ग्रामीण क्षेत्रका साथै सदरमुकाममा संचालन हुने शिविरहरु प्रभावकारी बनेका हुन् ।
शिविरमा विराटनगर आँखा अस्पताल रानीका डाक्टर निना झासहितको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षणका साथै शल्यक्रिया गरेको थियो । आर्थिक अवस्था र बिविध कारणले बर्षौ देखि आँखाको समस्या झेल्न बाध्य नागरिकलाई आफनै जिल्ला र पालिकाहरुमा संचालन भएको शिविरले लाभ पुर्याएको नेपाल नेत्रज्योती संघ भोजपुरका अध्यक्ष तेज मोक्तानले बताउनुभयो ।






