रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवाका मुख्य चोक एवं बढी भिडभाड हुने स्थानमा फ्री वाईफाई जोन बनाएको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको भैरहवामा गत बैशाखदेखि फ्री वाईफाई जोन बनाईएको हो । नगरपालिकाले भैरहवा स्थलमार्ग हुँदै धेरै पर्यटक आवागमन हुने बेलहिया नाका, भैरहवा बसपार्क, देवकोटा चोक, मिलनचोक र बुद्धचोक गरी हाल पाँच स्थानमा फ्री वाईफाई जोन बनाएको हो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इस्तियाक अहमद खाँले आफ्नो चुनावी घोषणा एवं प्रतिवद्धता अनुरुप नगरका मुख्य भागलाई फ्री वाईफाई जोन बनाएको जानकारी दिनुभयो । उहाँले अहिलेको प्रबिधिको युगमा नभइ नहुने इन्टरनेट सेवा सबैलाई सहज होस भनेर नगरका विभिन्न स्थानमा फ्री वाईफाई सेवा जडान गरिएको बताउनु भयो।
नगरवासी बासी, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देश विदेशका सूचना समाचारका साथै नगरपालिकाको मोबाइल एप्स, वेबसाइट बाट प्रवाह गरिने अनलाईन सेवा, नगरपालिकाको सूचना तथा जानकारीहरूमा छिटो छरितो तथा सजिलै पहुँच हुने उद्देश्यका साथ फ्रि वाई फाई जडान गरिएको उहाँको भनाई छ ।
उहाँले अहिले भैरहवाका पाँच स्थानमा फ्रि वाईफाई सेवा सुचारु गरिएको बताउदै आवश्यकता भएका स्थानमा आगामी दिनमा समेत बिस्तार गर्दै लैजाने बताउनु भयो । नगरपालिकाका सूचना प्रबिधि अधिकृत तपन पाण्डेयले इन्टरनेट सेवा हरेक ब्यक्तिले प्रति दिन एक घण्टा प्रयोग गर्न पाउने बताउँदै यसले अनावश्यक रुपमा इन्टरनेटको प्रयोग रोकिने बताउनु भयो ।
बढी समय इन्टरनेट सेवा प्रवाह गर्दा धेरै युवाले काम काज छोडेर दिनभरी यसको प्रयोग गर्न थाल्ने सम्भावनालाई मध्यनजर गरि यस्तो गर्न लागिएको उहाँले बताउनु भयो । यसबाट सकारात्मक प्रतिक्रिया आएको उहाँको भनाई छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता