काभ्रेपलाञ्चोक । नेपाल पुलिस स्कुल साँगामा सञ्चालित ३०औँ अन्तरमाध्यमिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको थियो । प्रहरी महानिरीक्षक कुँवरले विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्नुका साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । विज्ञान र प्रविधिको आजको युगमा शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यावहारिक बनाउन सकेमा उपलब्धिमूलक परिणाम दिन सक्ने भएकाले विद्यार्थीहरूको बौद्धिक एवं व्यक्तित्व विकासमा सहयोग पुग्ने गरी समसामयिक शैक्षिक वातावरण निर्माणतर्फ विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्ने उहाँले बताउनुभयो । गुणस्तरीय शिक्षा र विद्यार्थीहरूको सर्वांगीण विकासका माध्यमबाट विद्यालयको शैक्षिक र व्यवस्थापकीय सुधार विद्यालयको प्राथमिकता रहने विश्वास लिएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा र बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । साथै काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र अखिल नेपाल फुटबल संघका उपमहासचिव बद्री भट्टराईले प्रतियोगिताका सेकेण्ड रनरअप टिमलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
फाइनल खेलमा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिमले नेपाल पुलिस स्कुल साँगा (रातो) टिमलाई तीन–शून्य गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिम प्रथम, नेपाल पुलिस स्कुल साँगा (रातो) टिम द्वितीय र नेपाल पुलिस स्कुल धरान टिम तृतीय भएका थिए । प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगितासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूद्वारा नृत्य तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा ब्याण्ड डिस्प्ले गरिएको थियो ।
मंसिर १८ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यमिक विद्यालय, सशस्त्र प्रहरी विद्यालयलगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावक, स्थानीय बासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा