✍️ विमल भौकाजी
अक्षर र अङ्कको एक-आपसमा सम्बन्ध हुन्छ कि हुँदैन ? हुन्छ भने कस्तो हुन्छ ? सामान्यतः मान्छेहरू धार्मिक दृष्टिकोणबाट धारणा राख्ने गर्छन्-सरस्वती (अक्षर) र लक्ष्मी (अङ्क- धन) एकसाथ बस्दैनन् । तर, यस्तो धारणाको बिलकुल विपरीत देखापर्न सकिन्छ भन्ने उदाहरण लिएर दामोदर पुडासैनीले दिएका छन् । अङ्कको प्रसङ्गमा, जीवनमा उनले धन-आर्जन कति गरे, त्यसको लेखाजोखा गर्ने स्थान होइन यो, तर उनले जागिरको सिलसिलामा अङ्कको हिसाबकिताब धेरै गरे । र, त्यो हिसाब यसरी गरे अन्ततः हिसाबकिताबकै- लेखापरीक्षण विषयक पीएचडी नै गरे । यसरी, अङ्क-धनी बनेका डा. दामोदर पुडासैनी ‘किशोर’ अर्कातर्फ अक्षरको खेती गर्ने एक परिश्रमी व्यक्तिका रूपमा नेपाली साहित्यको धर्तीमा जोडिएर रहेका छन् । भन्छन् उनी स्वयम् नै- ‘मैले कविता लेखेँ श्वास-श्वासमा र हिँडाइरहेँ इन्द्रेणीमार्गमा ।’
लागेको काममा दत्तचित्त भएर लाग्ने डा.पुडासैनीले जसरी लेखापरीक्षण–विषयमा विद्यावारिधि गरेरै छाडे त्यसरी नै सानातिना नभई सम्पूर्ण रूपमा अनुसन्धानकै स्वरूपमा तत् विषयमा कविता लेख्न सक्नु उनको विशेषता हो । केही समयअघि प्रकाशित हिमाल विषयक उनको ‘हिमालको आवाज’ कवितासङ्ग्रहले यो तथ्यलाई पुष्टि गर्छ । यसै क्रमलाई पछ्याउँदै ‘मेन स्ट्रिटमा कुदिरहेकी स्वास्नीमान्छे’ नामक उनको अर्को नवनीत कवितासङ्ग्रह बजारमा आएको छ ।
पाठक र कविता-अनुरागीको हैसियतले ठोकुवा गरेर भन्न सकिन्छ- अन्य, अघिल्ला विशेषतः कवितासङ्ग्रहको दाँजोमा यो सङ्ग्रहका अधिकांश कविताहरूले अझै बढी परिपक्वता र शाब्दिक सामथ्र्य बोकेको छ भन्ने तथ्यमा कुनै तर्क/वितर्क गरेर अमान्य घोषित गर्न सकिन्न ।
अमेरिकी धर्ती, यसको परिवेश, यहाँको सामाजिकता-जीवनशैलीसँग प्रत्यक्ष/अप्रत्यक्ष सरोकार राखिएका ५३ थान कविताहरू समाविष्ट यो सङ्ग्रह अध्यययन गरिसकेपश्चात् वास्तवमै सिङ्गो अमेरिकाको स्पष्ट तस्वीर देखाउँछ । सर्वविदितै छ, अमेरिका शक्तिशाली छ, अर्थतन्त्रमा निकै बलियो छ । यही आधारमा अमेरिका ‘अमेरिकाले गाइरहेको गीत’ शीर्षकमा सबैलाई आहृवान गरिरहन्छ । अर्को भाषामा भन्ने हो भने फकाइरहन्छ-
‘दुःखका पहाडले थिच्न थाले भने
चुचुरा चढ्दाचढ्दै
नयाँ चुचुरा टेक्ने इच्छा जाग्यो भने
मलाई सम्झनू
म छु तिम्रो लागि...’
र, कविताले भने जस्तै अमेरिकी-मोहमा मान्छेहरू यसरी फस्छन् कि अन्ततः तिनले जीवन बाँच्न बिर्सिसकेका हुन्छन् । परिवार बिर्सिसकेका हुन्छन् । संस्कृति–संस्कार भुलिसकेका हुन्छन् । कविले अमेरिकाको वर्णन जसरी यथार्थ रूपमा गरेका छन् त्यसको एउटै आग्रह देखिन्छ कि- अमेरिका एक भूलभुलैया हो, यहाँ जतिसुकै भव्य जीवन बाँचे पनि आखिर त्यो देखावटीमात्रै हो, आडम्बरमात्रै हो । अर्को शब्दमा भन्नुपर्दा, अमेरिकामा बाँचेको जीवन असन्तुष्टिको पर्याय हो । शीर्षक कवितामा अङ्कित गरिएको मेन स्ट्रिटमा कुदिरहेकी स्वास्नीमान्छेको वर्णनमा अमेरिकाकी सिङ्गो जीवन वर्णित छ । त्यति धेरै सडक छन्, फुटपाथ छन् त्यहाँ तर एक्लो हुनुको अनुभूतिजन्य बिम्ब कवितामा प्रष्टिएको छ । जसको अन्तर्यमा सामाजिक विसङ्गतिको रूपमा मौलाउँदै गएको विखण्डित दाम्पत्य, गर्भपतन, मदिरा, नग्नता इत्यादि समावेश छन् ।
समष्टिमा, अमेरिकाको परिचय छोटै पङ्क्तिमा यसरी दिन्छन् कवि-
‘गहिरो भँडखारो हो अमेरिका
जहाँ संसारका
हिमाल, पहाड र मैदान बोक्नेहरू
मूल र मुहान छोडेर बग्दै आउँछन्
र जाकिन्छन् पिँधतिर...’
विकासशील देशका आममानिसको एउटा ठूलो सपना हो अमेरिका । सपना अर्थात् डलर । दोहो¥याइराख्नै परेन, त्यो सपना पूरा गर्ने हेतुले अमेरिका पुग्नेहरू प्रायः त्यतै पलायन हुन्छन् । तिनका निद्रा-भोक सबै हराउँछन् र ‘मेसिन’ बाँच्छन् । मान्छे हुनु र मेसिन बन्नु ! मानौँ एक्काईसौँ शताब्दीको सबैभन्दा ठूलो उपलब्धि । ती मान्छेलाई थाहा छ, यो उलब्धिबीच पीडा-दुःख छ आफूभित्र तर आँसु देखाउन सकिन्न । हो नि, मेसिनको आँसु कहाँ हुन्छ ?
तथापि, त्यही मेसिनको अन्तरकुन्तरबाट यदाकदा हृदयले सोच्छ- अमेरिका तिमी उज्यालो हौ, थाहा छ । र, यो पनि थाहा छ तिम्रो उज्यालोको ज्योतिले मलाई आकर्षण गरेको छ । यस अर्थमा तिम्रो प्रकाशमा होमिने म एक अनजान पुतली हुँ । तिम्रो वरिपरि हरहमेसा फनफनी घुमिरहन्छु । तर, यत्ति याद गर अमेरिका, तिमीप्रतिको आकर्षणमा मोहित भएर तिम्रो आगोको लप्काजस्तो ज्वालामा जलेर नष्ट हुनु छैन मलाई ।
हामी चङ्गा उडाउँछौँ आकाशमा र आफूलाई चङ्गाजत्तिकै स्वतन्त्र मान्छौँ । कति फरक छ, अमेरिकामा जताततै जतिसुकै बेला बेलुन उडाइरहन्छन् र प्याट्प्याट् फुटाएर जीवनको मूल्यलाई अपमान गर्छन् । हामी ‘समेबजी’ खाइरहेछौँ, उता केक काटिरहेछन् । कति फरक छ जीवन हाम्रो र उनीहरूको ! हामी यता झुप्रो नै सही ‘परिवार’ बाँचिरहेछौँ अमेरिकामा गगनचुम्बी महलहरू छन्, महलभित्र ठूला-ठूला कोठाहरू छन् तर सर्वत्र सन्नाटा छ । भीड छ तर एक्लोपन छ ।... कवि हुनुका नाताले कवि पुडासैनी अमेरिकामा खुशी कम र दुखेसो धेरै भेट्छन् । त्यसैले त उनी सचेत गराउँछन् सबैलाई-
‘कुनै देश होइन अमेरिका
जमीन, समुद्र र जङ्गल पनि होइन अमेरिका
होत भावना मात्र, विश्वास मात्र
कि त हो नपत्याउँदो आँधीवेरी...’
पुस्तकको भूमिकामा डा.कृष्णराज घतानी लेख्छन्– ‘कवि दामोदरका कविता ‘मेन स्ट्रिटमा कुदिरहेकी स्वास्नीमान्छे अहिलेको जल्दोबल्दो युगको प्रतिच्छाया बोकेको विम्ब हो ।...’ एक पाठक र कविता-अनुरागीको हैसियतले ठोकुवा गरेर भन्न सकिन्छ-अन्य, अघिल्ला विशेषतः कवितासङ्ग्रहको दाँजोमा यो सङ्ग्रहका अधिकांश कविताले अझै बढी परिपक्वता र शाब्दिक सामथ्र्य बोकेको छ भन्ने तथ्यमा कुनै तर्क/वितर्क गरेर अमान्य घोषित गर्न सकिन्न । कविमित्र डा.दामोदर पुडासैनीलाई सूर्यका किरणजत्तिकै शुभकामना ! !

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा