
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यानमार्फत् कालीमाटी तरकारी फलफूल बजारमा जीवनाशक विषादी अवशेष परीक्षण गरेको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि विभागले र्यापिड रेस्पोन्स टिम परिचालन गरेर बिहीबार राती १० बजेदेखि शुक्रबार बिहान तीन बजेसम्म परीक्षण सञ्चालन गरेको हो ।
कालीमाटी बजारमा भित्रिने विभिन्न २१ प्रकारका तरकारी तथा फलफूलबाट एक सय ६२ वटा नमुना संकलन गरिएकोमा आरबिपिआर विधिबाट परीक्षण गर्दा न्यूनतम दुर्ई प्रतिशतदेखि अधिकतम २७ प्रतिशतसम्म इन्जाइम इन्हिभिसन पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभएको छ । महर्जनका अनुसार आरबिपिआर मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम इन्जाइम इन्हिभिसन भएको खाद्य पदार्थ खानयोग्य मानिने भएकाले सबै नमुना सुरक्षित र उपभोगयोग्य रहेको पाइएको छ । रातभर गरिएको अनुगमनमा ४७ गाडीका तरकारी र फलफूल परीक्षण गरिएको थियो । तीमध्ये नेपालका १४ जिल्लाबाट ढुवानी भएका गाडी थिए भने चारवटा गाडी भारतबाट आएका थिए ।
परीक्षण गरिएका नमुनामध्ये २० वटा नमुनालाई जिसिएमएस विधिबाट थप परीक्षण गर्न राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा पठाइएको विभागले जनाएको छ । मोबाइल फुड ल्याब भ्यानमा जडित उपकरणले स्थलगतरूपमा परीक्षण गर्न सहज बनाएको र बजारमा खाद्य सुरक्षा कायम गर्न प्रभावकारी भूमिका खेलेको विभागको भनाइ छ । प्रवक्ता महर्जनले उक्त अभियानले बजार अनुगमन थप प्रभावकारी बनाएको र आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच