काठमाडौं । चलचित्र ‘पिताम्बर’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी चैत २९ गते नेपाली नयाँ वर्षको अवसरमा यो चलचित्रलाई सिनेमाघरमा ल्याउने बताएको हो ।
कृषा चौलागाईं निर्देशित सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई फिचर्ड हुनुहुन्छ । रगताम्मे प्रदीपले प्रमुख स्थान पाएको पोस्टरमा आक्रामक शैलीमा बन्दुक चलाइरहेका सौगातलाई देखिन्छ । दयाहाङको अनुहारमा भने रिस देखिन्छ । सार्वजनिक पोस्टरले चलचित्र एक्सन प्रधान रहेको प्रष्ट हुन्छ ।
चलचित्रमा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, गौरव विष्ट, विशाल पहारीलगायतका कलाकारको अभिनय छ ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नुभएको हो । विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा प्रदीप भारद्वाजको लेखन र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।






