लुम्बिनी सरकारको प्राथमिकतामा पर्यटन विकास : ‘घुम्न जाउँ बर्दिया’अभियान सुरु

विवेक खड्का दाङ, संवाददाता

दाङ । लुम्बिनी सरकारले यो वर्ष बर्दियाको पर्यटन विकासलाई प्राथमिकता दिएको छ । पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार मानेको लुम्बिनी सरकारले ‘घुम्न जाउँबर्दिया’अभियानको सुरुवात समेत गरेको छ । वर्ष भरी बर्दियामा पर्यटकहरू भित्राउने लक्ष्यअनुरुप उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यो अभियानको शुरुवात गरेको हो । बाघ हेर्नका लागि बर्दियालाई प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा राख्दै मन्त्रालयले बर्दिया केन्द्रित पर्यटन प्रवर्धनको कार्यक्रम सुरुवात गरेको जनाएको छ ।

एकवर्षे अभियानमा सरकारले बर्दियाका पर्यटकीय थलो बारेमा पर्यटकलाई जानकारी दिने गरी प्रचारात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । पर्यटकका लागि बर्दियाको प्रमुख आकर्षण बाघ हो । बाघ हेर्नका लागि बर्दियामा पर्यटक बढ्ने गरेका छन् । जङ्गल सफारी गरेर बाघलगायतका जङ्गली जनावर हेर्न सकिने यो जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज मानिन्छ ।

यसैगरी बर्दियाको दौलतपुर घाटमा पाइने डल्फिन बाह्यपर्यटकका लागि थप आकर्षणको केन्द्र बन्ने गरेको छ । यो घाटमा डल्फिन देखिने गरेको छ । यसैगरी बर्दियामा कृष्णसार देख्न सकिन्छ । कृष्णसार संरक्षण क्षेत्र बनाएर कृष्णसारको संरक्षणका लागि पहल गरिँदै आएको छ ।

यसका साथै जिल्लामा रहेका विभिन्न होमस्टेहरू पर्यटकलाई आकर्षित गर्ने थप आकर्षणका केन्द्र हुन् । यसैगरी व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अगाडि बढाएका विभिन्न स्थल अवलोकन तथा कृषि अध्ययनका लागि पर्याप्त छ । स्थानीय कला संस्कृति झल्कने थारु नृत्य पनि बर्दियाको अर्को आकर्षणको केन्द्र हो ।

यसैगरी धार्मिक पर्यटनअन्तर्गत बर्दियामा विभिन्न पुरातात्विक धार्मिक धामसमेत बर्दियाका थप आकर्षण हुन् ।

बर्दियामा पर्यटक भित्राउनका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सामाजिक सञ्जाललाई भरपुर प्रयोग गर्ने भएको छ । सामाजिक सञ्जालमार्फत् यहाँका पर्यटकीय थलोबारेमा जानकारी दिने लक्ष्य लिएको मन्त्रालयले यो प्रचारले यहाँको पर्यटकीय क्षेत्रबारे विदेशी पाहुना पर्यटकलाई जानकारी हुने जनाएको छ । यसैगरी छिमेकी मुलुक भारतीय सीमा क्षेत्रमा बर्दियाको पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि प्रचारात्मक अभियान समेत थालिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यक्रमका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने भएको छ ।

ADVERTISEMENT

लुम्बिनी सरकारले यो वर्ष ‘घुम्न जाउँबर्दिया’अभियानलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको थियो । सरकारको नीति तथा कार्यक्रममै समावेश यो अभियानको विहीवार लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो । बर्दियाको ठाकुरद्वारामा भएको अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘घुम्न जाउँबर्दिया’अभियान प्रदेशमा पर्यटकलाई भित्राउने लक्ष्यअनुरुप सुरुवात गरिएको भन्दै मुख्यमन्त्री आचार्यले यो अभियानलाई सार्थकता दिन सबै एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो । ‘घुम्न जाउँ बर्दिया अभियान बर्दियाको पर्यटकीय क्षेत्रको विकासका महत्वपूर्ण अभियान हो’, मुख्यमन्त्रीआचार्यले भन्नुभयो, ‘साथै यो अभियान समग्र प्रदेशको पर्यटन विकासका लागि कोशेढुङ्गा सावित बन्ने छ भन्ने विश्वास सरकारले लिएको छ ।’

यसैगरी अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनीका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बर्दिया पर्यटकीय दृष्टिकोणले मुलुककै उत्कृष्ट थलोका रूपमा रहेको भन्दै बर्दियालाई केन्द्रित गरेर पर्यटक भित्राउने लक्ष्य मन्त्रालयले लिएको बताउनुभयो । साथै उहाँले लुम्बिनीमा भित्रिने पर्यटकलाई बर्दियासम्म पुर्‍याउने लक्ष्य मन्त्रालयले लिएको बताउनुभयो । उहाँले पर्यटन विकासका लागि निजी क्षेत्रसँगै सरोकारवाला पक्षले समेत साथदिनु पर्ने वताउनुभयो ।

लुम्बिनीको पर्यटन प्रवर्धनका लागि ‘नीति संवाद’

लुम्बिनीको पर्यटन प्रवर्धनका विषयमा बर्दियामा सङ्घीय सरकार र प्रदेशका सातै प्रदेश सरकारकाबीच बृहत छलफल भएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले नीति संवाद कार्यक्रमको आयोजना गरेर लुम्बिनीको पर्यटन प्रवर्धनका विषयमा छलफल गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत सातवटै प्रदेशका पर्यटन मन्त्री तथा पर्यटन व्यवसायी छलफलमा सहभागी थिए । उनीहरूले पर्यटन विकासका लागि सरकारले पर्यटन मैत्री वातावरण निर्माण गरिनु पर्नेमा जोड दिएका थिए ।बाह्यपर्यटकलाई अनावश्यक चेकजाँचका नाममा दुःख दिने गरिएको भन्दै उनीहरूले पर्यटकहरूलाई प्रहरीबाट हुने यो अनावश्यक चेकजाँचले दुःख दिइरहेको बताएका थिए । संघ तथा प्रदेश सरकारबीच समन्वय गरेर पर्यटकले बेहोर्दै आएका झन्झट अन्त्य गरिनु पर्ने सुझाव दिएका थिए । यसैगरी पर्यटन प्रवर्धनका लागि सरकारले पर्यटन नीति अनिवार्य रुपमा बनाउनु पर्नेमा सहभागीले जोड दिए । राज्यको लक्ष्यअनुसार पर्यटक भित्रिन नसकेको भन्दै यसको समस्या पहिचान गरेर समाधानको बाटो खोजिनु पर्ने उनीको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज