सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास गरिएको छ । भेरीगंगा नगरपालिका १२ स्थित निर्माण हुन लागेको ५० शैयाको कर्णाली प्रादेशिक सरुवा रोग अस्पतालको भवन शिलान्यास गरिएको हो ।
पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस पाटी उपसभापति पूर्णबहादुर खड्काले बुधबार एक औपचारिक कार्यक्रमकाबिच अस्पतालको भवन शिलान्यास गर्नुभएको हो । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतका अनुसार एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अस्पताल निर्माण गर्न लागिएको हो ।
भवन निर्माणका लागि संघीय अर्थ मन्त्रालयले ५० करोड श्रोत सुनिश्चितता गरेपछि बहुबर्षिय ठेक्का सहमती भएको छ । शहरी विकास तथा भवन निर्माण विभागबाट ४१ करोड १५ लाख ४६ हजारमा ठेक्का आह्वान भएकोमा ३१ करोड २१ लाख ४३ हजारमा भ्याट रकम सहित ठेक्का सम्झौता भएको छ ।
२०८१/०४/१३ गते निर्माण व्यवसायीः श्री चक्रेश्वरी/कुशेश्वर सि.एल.जे.भि काठमाण्डौले सम्झौता गरेको हो । निर्माण व्यवसायी जयराम घलेले ठेक्का लिएको यो अस्पताल भवन २०८३/०४/१२ गतेभित्र निर्माण भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ । ठेक्का सम्झौतापछि २०८१/०७/०६ मा एक करोड ३५ लाख (५%) मोविलाईजेशन पेश्की रकम भुक्तानी गरिएको छ ।
प्रादेशिक सरुवारोग अस्पताल भवनको लम्बाई ५२.६ मि चौडाई २२.५ मि को हुनेछ । भने भवन ती तला को बन्ने छ । पहिलो तलामा विरामी चेकजाँच हुने छ । भने माथिल्लो २ तलामा ५० वटा बेड रहने छ । यस बाहेक पार्कीङ्ग सहितको खाजा घर लगाएतका संरचना बन्ने छन् ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस पाटी उपसभापति पूर्णबहादुर खड्काले कर्णालीका १० जिल्लाका नागरिकले अब सहज रुपमा उपचार पाउने दावी गर्नुभयोे । अस्पताल निर्माणपछि सरुवारोग उपचारका लागि बाह्य प्रदेश जानुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ ।
सस्तो र सहज रुपमा कर्णालीका नागरिकले कर्णालीमै उपचार पाउने उहाँ बताउनुहुन्छ । ‘प्राविधिक कारणले काम सुरु गर्न ढिलाइ भएको थियो । अब समयमै काम सक्नेगरी निर्माण सुरु भएको छ’ उहाँले भन्नुभयो, ‘दुई वर्षमा सम्पन्न हुनुपर्ने मेहलकुना अस्पताल भवन पाँच वर्षसम्म पनि बनेन । त्यसैले यो सरुवा रोग अस्पताल निर्माणमा पनि ढिलाई गर्न हुँदैन ।’
अस्पताल निर्माणका लागि बजेटको कमि हुन नदिने र भुक्तानीमा ढिलाई हुन नदिने भन्दै ठेकेदारलाई रप्तारमा काम गर्न उहाँले आग्रह गर्नुभयो ।
फोटो : अस्पतालको भवन शिलान्यास गर्दै पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का ।






