काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको अनुहार नभई काम हेरेर कारबाही हुने बताउनुभएको छ । मंगलबार ललितपुर महानगरको स्थापना दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री बनेदेखि नै भ्रष्टहरूको मुख नभई काम हेरेर कारबाही गर्ने भन्दै आएको बताउनुभएको हो । ‘देशमा भ्रष्टाचार नियन्त्रण गर्नुछ । मैले भनेको छु भ्रष्टहरूको मुख हेरेर होइन काम हेरेर अपराध हेरेर कारबाही हुन्छ,’ उहाँले भन्नुभयो । उहाँले देशलाई गरिबीबाट माथि उठाउन र सुशासन कायम गर्न सरकार दत्तचित्त रहेको पनि बताउनुभयो । ‘देशमा सुशासन हुन्छ । जनतालाई दुख दिन कर्मचारीहरूले पनि पाउँदैनन्, दिन पनि हुँदैन,’ उहाँले भन्नुभयो ।
ओलीले व्यवस्था बदलिए पनि अवस्था बदलिएन भनेर चर्चा गरिने भनाइ गलत रहेको दाबी गर्दै जनताको अवस्था पनि बदलिएको बताउनुभयो । ‘व्यवस्था पनि बदलियो, अवस्था पनि बदलियो,’ उहाँले भन्नुभयो, ‘हिजो ४२ प्रतिशभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनि थिए । थोरै होटल थिए । बाटोको अवस्था कस्तो थियो हिजो ? जनताको आम्दानीको स्तर के थियो ?’
यसअघि आफूले प्रधानमन्त्रीबाट छाड्दा निरपेक्ष गरिबीको रेखामुनिमा रहने जनता १७ प्रतिशतमा झारिएको उहाँले बताउनुभयो । ‘यो तीन वर्षको बीचमा तीन प्रतिशतभन्दा बढीले बढ्यो, अहिले २० प्रतिशत पुगेको छ । तर यस्ता केही नकारात्मक प्रवृत्ति देखिए पनि आम रूपमा देशको अवस्था र जनताको अवस्था हिजोकै जस्तो छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । ‘यसैगरी, मोटरसाइकल थिए हिजो ? यसैगरी बाटामा जाममा फस्नुपर्ने गरी गाडी थियो हिजो ? यस्तो थिएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । सदरमुकाम जोड्ने सडकहरूलाई फराकिलो बनाइएकोले पनि आजको स्थिति हिजोको जस्तो नरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘नयाँ हाइवे बनाएका छौँ, भएका हाइवेलाई स्तरोन्नति गरेका छौँ,’ उहाँले भन्नुभयो ।
केही उद्योग बन्द भए पनि उद्योगको संख्या बढेको पनि उहाँले बताउनुभयो । त्यस्तै, व्यवस्था परिवर्तन भएपछि निर्यात पनि बढेको उहाँको भनाइ छ । ओलीले ललितपुर नगर प्रहरी आतंकको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयोे, ‘नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने ? भन्ने आतंकमा रहनुपर्ने अवस्था हुनुहुँदैन । हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नुहुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटोमा तीव्रताका साथ अगाडि बढ्नुपर्छ ।’
विभिन्न क्षेत्रमा योगदानकर्तालाई महानगर गौरव सम्मानबाट पुरस्कृत गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरपालिकाको एकद्वार प्राणली, विद्युतीय नक्सापास प्रणाली र फोहोर संकलनका लागि मोबाइल एप्सको सुरुवात गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता