बुटवल । निर्माण सम्पन्न भएको झण्डै साढे दुई वर्षपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक पाँच वायुसेवा प्रदायकले विभिन्न गन्तव्यमा उडान भरेका थिए । तर, नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको दुई महिनामै एयरलाइन्सहरूले आफ्ना उडान स्थगित गरेका छन् । हाल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मात्रै भैरहवाबाट दैनिक एक उडान भरिरहेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ट्याक्सी वे’ विस्तारका क्रममा दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा भैरहवामा दैनिक पाँचवटा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकले सेवा सुरु गरेका थिए । तर, विमानस्थलमा मौसम प्रतिकूल भएको भन्दै तीन वायुसेवा कम्पनीले उडान स्थगितको पत्र पठाइसकेका छन् ।
जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले मौसमको कारण देखाएर केही समय उडान स्थगित गर्नुपर्ने भन्दै प्राधिकरणलाई लिखित जानकारी गराएका छन् । उनीहरूले पुस र माघ महिनामा उडानका लागि आवश्यक ‘भिजिबिलिटी’ नपुगेकाले विमान उडान र अवतरणमा समस्या आएको बताएका छन् । यसैगरी, भैरहवा आएर पुनः काठमाडौं लैजाने गर्दा यात्रुलाई पनि बढी समय लाग्ने र खर्च पनि बढ्ने भएकाले दुई महिना उडान गर्न नसकिने संकेत गरेका हुन् । यसैगरी, कतार एयरवेजले केहीदिन अघिदेखि भैरहवा उडान स्थगित गरिसकेको छ ।
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणअघि दिगो सञ्चालनको पक्षबारे रणनीति बनाउन नसकेका कारण उडान प्रभावित हुने अवस्था आएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार विमानस्थलमा जाडो मौसममा बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने भएका कारण ‘भिजिबिलिटी’ कम हुन्छ । १८ सय मिटरभन्दा न्यून ‘भिजिबिलिटी’ भएको समयमा ठूला विमानहरू अवतरण गर्न सक्दैनन् । विमानस्थल सीमानजिक छ । कहिलेकाहीँ हावाहुरी र मेघगर्जन भयो भने पनि विमान भारतीय हवाई क्षेत्रमा पुग्नुपर्ने हुनसक्छ । भारतमा अनुमतिबिना प्रवेश गर्न पाइँदैन । प्राविधिक योजना, विमानस्थलको भू-अवस्थितिलगायत विषयमा अध्ययन गर्न नेपाल चुकेको उनीहरूको तर्क छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको थियो । विमानस्थलको निर्माणमा ३५ अर्ब ६६ करोड रुपैयाँ लागेको थियो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७१ माघ १ मा शिलान्यास भएको विमानस्थल निर्माणमा झण्डै आठ वर्ष लागेको थियो ।
ठूलो लगानी गरेका पर्यटन व्यवसायी निराश
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन नहुँदा व्यवसायी निराश भएका छन् । विमानस्थल निर्माणसँगै लगानी बढाएका पर्यटन व्यवसायी नियमित अन्तर्राष्ट्रिय उडान र अवतरण नहुँदा चिन्तित बनेका हुन् । सञ्चालनका लागि आवश्यक पूर्वाधारको प्रबन्ध हुन नसक्दा विमानस्थलको निरन्तरताप्रति प्रश्न उब्जिरहेको छ । सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्र्रप्रकाश श्रेष्ठ विमानस्थल पूर्णरूपमा सञ्चालनका लागि आवश्यक पूर्वाधार अझै निर्माण हुन नसकेको बताउनुहुन्छ । अध्यक्ष श्रेष्ठले गौतमबुद्ध विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याउन श्रम अनुमति, प्रवेशाज्ञा (भिसा) सेन्टर, वैदेशिक रोजगार व्यवसायी कम्पनी, अभिमुखीकरण तालिम केन्द्र, स्वास्थ्य सेवा प्रदायक संस्थालगायत पूर्वाधार भैरहवा क्षेत्रमा तत्काल प्रबन्ध गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘अहिलेको अवस्था हेर्दा अब अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन हुन्छ भन्नेमा व्यवसायी र नागरिकलाई विश्वास छैन,’ उहाँले भन्नुभयो, ‘यी सबै पूर्वाधार भैरहवामा सञ्चालन गर्न सकिए मात्रै विमान कम्पनीले पूर्णरूपमा यात्रु पाउँछन् । सुरुआती दिनमा नयाँ स्थानमा व्यवसाय सञ्चालन गर्न केही छुट दिएर प्रवद्र्धन गर्न सकिन्छ, यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।’ विमानस्थल उद्घाटन भएको साढे दुई वर्ष भइसक्दा पनि नियमित सञ्चालन हुन नहुनु विडम्बना भएको उहाँले बताउनुभयो ।
पर्यटन व्यवसायी पवन हलुवाई भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ भएपछि जोखिम मोलेरै भए पनि आफूले लुम्बिनीमा पाँचतारे होटल सञ्चालनमा ल्याएको बताउनुहुन्छ । कोरोना महामारी र भैरहवामा अन्तर्राष्ट्रिय जहाज अवतरण नहुँदा आफ्नोे लगानी खेर गइरहेको र सञ्चालन खर्च पनि धान्न मुस्किल भइरहेको उहाँले बताउनुभयो । ‘कोरोनाले तीन वर्ष होटल व्यवसाय ठप्प भयो, पर्यटक आवागमन शून्यप्रायः बन्यो । बैंकको ब्याज तिर्न नसक्दा व्यवसायीको कर्जा बढेको बढ्यै छ,’ उहाँले भन्नुभयो, ‘सात वर्षपछि बनेको विमानस्थल पूर्णरूपमा सञ्चालन नहुँदा व्यवसायीमा निराशा छाएको छ ।’
आरएनपी एआर प्रविधि जडान गरिँदै
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी)मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडान प्रक्रिया सुरु भएको छ । कमजोर भिजिबिलिटीमा पनि उडान र अवतरण नियमित गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आइएलएसको विकल्पमा आरएनपी एआर प्रविधि जडान प्रक्रिया अघि बढाएको हो । भिजिबिलिटीको समस्या समाधान गर्न विमानस्थलमा इन्स्टु«मेन्टल ल्याण्डिङ सिष्टम (आइएलएस क्याट टु) जडान गरिएको भए पनि भारतले सहमति नदिँदा सञ्चालन रोकिएको हो । आइएलएस सञ्चालनमा ल्याउन नसक्दा हाल परम्परागत प्रविधि (भिओआर डिएमई)मा आधारित उडान भइरहेका छन् । सेटलाइट बेस नेभिगेसनमा आधारित आरएनपी एआर प्रविधि सञ्चालनमा आएपछि भने उडान र अवतरण थप सहज र सुरक्षित हुने प्राधिकरणले जनाएको छ । हुस्सु र कुहिरोका कारण भैरहवामा अवरोध हुँदै आएको उडान अवतरणलाई नियमित राख्न आरएनपिएआर जडान प्रक्रिया सुरु भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । आरएनपी एआर नेभिगेसन प्रणालीले जहाजलाई खराब मौसममा सुरक्षित अवतरणका लागि मद्धत गर्ने गर्छ । प्राधिकरणले करिब एक अर्ब रुपैयाँ खर्च गरेर जडान गरेको र्आएलएसको फ्रिक्वेन्सी भारतले आफ्नो एरोबेसमा परेको भन्दै सञ्चालन गर्न अनुमति दिएको छैन ।
विमानस्थल चलाएर देखाउँछौँ : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउने बताउनुभएको छ । केही दिनअघि भैरहवा पुग्नुभएका उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउने बताउनुभएको थियो । ‘५२ सालमा रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा गर्दा पागलहरूको कुरा नहुने कुरा भनेका थिए तर, हामी लागेर अहिले निर्माण भई सञ्चालनमा छ । अहिले पनि चल्दैन भनेर केहीले भनिरहेका छन्, तर चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘म भन्छु चल्छ, जसरी बन्दैन भन्नेलाई आशंका र आलोचनालाई वास्ता नगरी बनाएको विमानस्थल बन्यो । त्यसरी चल्दैन भन्नेलाई पनि वास्ता नगरी यो विमानस्थल, राम्रो होइन धेरै राम्रो सँग चल्छ हामी चलाएर देखाउँछौँ । म दाबीका साथ भन्छु चल्छ र र चल्न सुरु भएको छ ।’
विमानस्थल नियमित रूपमा सञ्चालन गर्ने प्रयास हुँदै छ : मुख्यमन्त्री आचार्य
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न प्रयास भइरहेको बताउनुभएको छ । पर्यटक तथा चालक दलका सदस्यसहित अन्य व्यक्तिको प्रवेशाज्ञा, श्रम स्वीकृति र स्वास्थ्य परीक्षणलगायत प्रक्रियागत काम यहीँबाट सम्पादन गर्नेबारे छलफल भइरहेको उहाँले बताउनुभयो । विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानले बुटवल र भैरहवा मात्र नभई लुम्बिनीवासीमा उत्साह भरेको भन्दै संघीय सरकारलाई यहीँबाट प्रक्रियागत सबै काम सम्पादन गर्ने अधिकार प्रत्यायोजन गर्न उहाँले आग्रह गर्नुभयो । विमानस्थल सञ्चालन भएपछि लगानीको वातावरण बनेको भन्दै मुख्यमन्त्री आचार्यले उद्यमी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आहृवान गर्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा