
प्रेमलाल सिंह अर्थात् पिएल सिंहको पार्थिव अवशान भएको छ । राजधानीको बौद्धिक नेता, मिलनसार र कुशल सम्वाद समन्यकारी व्यक्तित्वका धनी पिएर सिंहको राजनीति र सामाजिक क्षेत्रमा पृथक परिचय रहेको थियो । पिएर सिंह ०४९ को स्थानीय निर्वाचनमा कााठमाडौंको मेयर हुनुभएको र ०५६ सालपछि एकपटक मन्त्रीमात्रै हुनुभयो । तर उहाँको राजनीतिक व्यक्तित्वको छाप नेपाली राजनीति बुझ्नेहरूका लागि सदा जीवन्त रहनेछ । नेपालको लोकतान्त्रिक आन्दोलनमा एउटा भनाइ छ : बीपीको हनुमान गणेशमान र गणेशमानको अनुमान प्रेमलाल । हनुमानको अर्थ अन्यथा होइन, निष्ठा, इमानदारीता, साहस र सामथ्र्यको प्रतिनिधिपात्र हो हनुमान । जो अजेय र अमर हुन्छ । अहिलेको चलनचल्तीको भाषामा हनुमान भन्ने विशाल अर्थ दिने यो शब्दलाई चाटुकारका अर्थमा प्रयोग गरिन्छ । गहन अर्थको हनुमान शब्द र यसले बोकेको मर्यादालाई अपव्याख्या गर्नु उचित होइन । तर यस्तै अपव्याख्यालाई मानिसहरू प्रतिदिन आस्वादन गरिरहेका छन् । पिएल सिंह लोकतान्त्रिक आन्दोलनका अजेय नायक गणेशमान सिंहका धर्मपुत्रका रूपमा रहनुभएको र जीवनभर अविवाहित पनि । ०४६ को संयुक्त जनआन्दोलनको वातावरण मिलाउन पिएल सिंहको सहयोग अनुपम थियो भन्ने तथ्यलाई लुकाउनु पर्दैन । उहाँ निरन्तर लोकतन्त्रका पक्षमा, लोकतान्त्रिक संस्कृतिका पक्षमा दृढतापूर्वक उभिनुभयो तर कहिल्यै आफूलाई विशिष्ठ स्थानमा पुग्न वा पु¥याउन माग गर्नु भएन । राजधानीको मेयरमा चुनाव लड्ने विषय पनि पार्टीको आदेश अनुरूप आदेशको पालना थियो र पछि सांसद र मन्त्री पनि माग गरेर होइन पार्टीका अनुसार स्वीकार गर्नुभयो । राजधानीका सडकमा सदा भेटिने पिएल लामो समयदेखि बिरामी भए पनि कसैका आँखामा पुगेको अनुभव भएको थिएन । उहाँ अस्तिमात्रै देहमुक्त हुनुभएछ । देह हुनेहरूलाई देहमुक्त हुनेहरूको पीडा त हुन्छ नै ।
डेढ महिनायता नेपाली माटोले केही राष्ट्रिय प्रतिभाहरूको देहमुक्ति अनुभव गरिरहेको छ । फरक धार र फरक क्षेत्रका स्वनामधन्यहरूलाई नेपाली समाजले गुमाएको छ । श्री ३ हरूको इतिवृत्तान्तदेखि तत्कालीन शासनका अनेक पाटाहरूको गहिरो अध्ययन, अनुसन्धान, उत्खनन् र उद्धरण गरी नेपाली समाजलाई प्रदान गर्ने राणा परिवारका तर जनताका मानिस पुरुषोत्तम शमशेर राणा, जनताका साहित्यकार लेखक मूलतः बाल साहित्यकारका रूपमा परिचित गोपाल पराजुली, लोकतान्त्रिक आन्दोलनका अथक साधक, कर्मशील विद्वान पूर्वसभामुख दमननाथ ढुंगाना र शिक्षा क्षेत्रको अविस्मरणीय प्रतिभा मोहन ज्ञवालीको देहमुक्ति डेढ महिनाको अन्तरमा भएको छ । यी प्रत्येक अनुहार नेपाली समाजको फरक धार र क्षेत्रमा विशिष्ट योगदान दिने भए पनि लोकतान्त्रिक आन्दोलनका विशेष धरोहर थिए । पुरुषोत्तम शमशेर राणा अत्यन्त दभ्र, सांस्कृतिक रूपले सभ्य र सहिष्णु लेखक र अनुसन्धानकर्ता हुनुहुन्थ्यो । उहाँको पारिवारिक पृष्टभूमि राणजस्तो देखिए पनि राणा शासकहरूबाट पीडित परिवारका सदस्य हुनुहुन्थ्यो उहाँ । सायद राणा शासकहरूको सही वृत्तान्त उहाँको प्रयत्न विना वर्तमान र भविष्यका पाठकले पढ्न पाउने थिएनन् होला । अनेक किंवदन्तीका कुरालाई अध्ययनको विषय बनाउनुपर्ने थियो होला । तर सबैका प्रिय पुरुराजाले त्यो कालखण्डलाई जीवन्त प्रस्तुत गरिदिनु भएर समाजलाई गुन लगाउनु भएको छ । लामो समय जीवन भोगेर देहमुक्त राणको योगदानमाथि अब अरू शोधकर्ताको समेत ध्यान केन्द्रित हुनु आवश्यक छ ।
नेपाली साहित्यमा बालकहरूलाई सम्बोधन गरेर लेख्ने प्रचलन पुरानो होइन । हातका औंलामा गन्न पुग्ने साहित्यकारहरूको प्रयासमा बाल साहित्यको क्षेत्रले मौलाउन पाएको छ । नयाँ पुस्तामा पनि थोरै लेखक साहित्यकारहरूको हस्तक्षेप र आकर्षण बाल साहित्यतर्फ देखिन्छ । तर एक समयलाई साधना, लगनले, परिश्रम र परिकल्पनाले समृद्ध गराउने काम गर्दै हुनुहुन्थ्यो गोपाल पराजुली । उहाँको पार्थिव अवशान यही समयमा भयो । शिक्षा क्षेत्रलाई लोकतान्त्रिक आन्दोलन र विचारकासाथ नेतृत्व दिने मोहन ज्ञवाली यसै समयको गर्तमा प्रविष्ट हुनुभयो । उहाँको योगदानलाई कमसेकम नेपाल शिक्षक संघले बिर्सने छैन होला । लोकतान्त्रिक आन्दोलनले पनि नबिर्सनुपर्ने हो । साहित्य, संस्कृति कलासाधकहरूको मृत्यु शारीरिक रूपमा भए पनि उनीहरूको योगदान सदा स्मरणीय हुन्छ, मर्दैन । पुरुराजा, गोपालजी र मोहन ज्ञवाली सांस्कृतिक शैक्षिक रूपले नै परिचित रहनुहुनेछ पछिसम्म पनि ।
दमननाथ ढुंगानाको देन विशिष्ट छ । नेपालको करिब साठी वर्षको राजनीतिक आन्दोलनको इतिहास लेखिँदा जुनसुकै रूपमा उहाँलाई सम्झनुपर्ने हुन्छ । खासगरी ०४७ को संविधान निर्माण र ०४८ पछि उहाँले स्थापित गर्नु भएको ः सरकार पक्षको र संसद् प्रतिपक्षको भन्ने सिद्धान्त नेपाली राजनीतिको अपरिहार्य संस्कृति हो भन्ने सबैको मान्यता छ । कुनै पनि लोकतान्त्रिक प्रणालीलाई सुनिश्चित गर्न पक्ष र प्रतिपक्ष समान जिम्मेदार हुनु अपरिहार्य छ । यदि पक्ष र प्रतिपक्षको अभिव्यक्त हुने सही स्थान भएन भने लोकतन्त्र क्रमशः अराजकता र निरंकुशतामा परिणत हुसक्छ भन्ने अनेक दृष्टान्त छन् । उनीहरूको स्थान सुनिश्चित हुनसके र जिम्मेदार भएमा लोकतन्त्र कमसेकम वर्तमान युगको सही राजनीतिक प्रणाली हो भन्ने प्रमाणित हुन्छ । शासक निरंकुश र प्रतिपक्ष अराजक हुनथाले पनि लोकतन्त्र क्रमशः खिइँदै जान्छ र राज्य प्रणालीको अवसान हुन्छ । नेपालको वर्तमान खिइने उपक्रममा देखिन्छ । यस्तो समयमा लोकतान्त्रिक संस्कृतिको विकास अनिवार्य भएको छ, दमननाथ ढुंगानाहरू जस्ताले बसाउनुभएको त्यो सांस्कृतिक धार, मानव अधिकारको मार्गलाई व्यापक र सम्भव तुल्याउँदै लैजानुपर्छ ।
राजधानीको परम्परागत मानव संस्कृतिलाई जीवन्त राख्न, मानवीय संवेदना, सहकार्यको आधार खडा गर्न, लोकतन्त्रकाप्रति निरन्तर निष्ठा र लगनको पाठ सिकाएर देहमुक्त हुनुभएको छ पिएल सिंह । पिएल सिंहको कुनै निजी पारिवारिक उत्तराधिकारी छैन । परिवार भने पनि गणेशमान सिंहको परिवार नै हो । यस अर्थमा अब गणेशमान सिंहको बिँडो समातेर राजनीतिमा सक्रिय, नेतृत्वमा पुग्नुभएका प्रकाशमान सिंहले नै पिएल सिंहका विषयमा, उहाँको भौतिक अवशानपछिको सम्मानका सन्दर्भमा सोच्नु आवश्यक छ । हुन त पिएल सिंहले जुन राजनीतिक दलमा आफ्नो सामथ्र्यको, समयको, वयको योगदान गर्नुभयो नेपाली कांग्रेस त्यसले नै पिएल र उहाँ जस्ताहरूको सम्मान गर्नुपर्ने हो । कांग्रेसमा सम्मान गर्नुपर्ने अनगिन्ती सदस्य र शुभेच्छुकहरू हुनुहुन्छ । तर सत्ताले हरेक मानिसलाई अन्धो बनाउँछ भनिन्छ कांग्रेसमा पनि त्यो कथन प्रमाणित भएको अवस्था छ अहिले । अहंकार, आत्मकेन्द्रित स्वार्थ, परिवार र आफन्तजनवादी चिन्तन, मनि, मसलवादी व्यवहारले कांग्रेसको नेतृत्व चुर्लंम छ । योगदान गर्नेहरूको सम्मानभन्दा पनि उनीहरूलाई भर्याङ बनाएरमाथि पुग्ने र टेको बनाएर आफू सुरक्षित हुने संस्कार विकास भएको छ । दमननाथ र पिएल सिंहको देहमुक्तिले लोकतान्त्रिक आन्दोलन र राजधानीको रैथाने राजनीतिलाई समेत गम्भीर क्षति तुल्याएको छ । वर्तमानमा विकसित विकृत राजनीतिक चिन्तन र सोचका बीचमा दमननाथ वा पिएल सिंह हुन् कि मोहनदेखि गोपाल अथवा पुरु राजाहरू हुने उनीहरूको मूल्यांकन हुनु कठिन छ । तैपनि यस्ता हरेक योगदान गर्नेहरूको सम्मान होस् भन्ने आग्रह भइरहनुपर्छ भन्ने मान्यताकासाथ देहमुक्त यी सबैप्रति हामी हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच