काठमाडौं । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने भएको छ । हिउँदयाम सुरुसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने अवस्था आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार चिसोका कारण यही समयमा विद्युत््को माग बढ्ने तर नेपालको विद्युत् प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत् आयोजनाको उत्पादन घट्ने अवस्था छ । हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न भारतबाट विद्युत् आयात गर्नुपर्छ ।
यस वर्ष सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।
यस वर्ष झनै सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । तर, पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था भने नरहेको उहाँले बताउनुभयो । गत असोजको अविरल वर्षाले माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याएको थियो । आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मतसम्भार भइरहेको छ । विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्राधिकरणलाई आगामी चैत २ गतेसम्म ढल्केबर-मुजफ्फपुर चार सय केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत् छ सय मेगावाट र टनकपुर-महेन्द्रनगर एक सय ३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिकरूपमा छ सय ५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ । तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत् आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि ३ चैत २०८१-१६ असारसम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका चार घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पिक समयमा आयात अनुमति पाएका छैनौँ, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो, माथिल्लो तामाकोशीको मर्मत तीव्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नुपर्ने अवस्था छ ।’ प्राधिकरणका अनुसार गत शुक्रबार बिहान साढे बजेतिर ढल्केबर-नवलपुर १३२ केभी प्रसारण लाइनको तार (कन्डक्टर) चुँडिँदा ढल्केबर पश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति प्रभावित भएको थियो । उक्त लाइन मर्मत गरी सोमबारदेखि सञ्चालनमा ल्याइएपछि विद्युत् आपूर्ति नियमित भएको छ । त्यसैगरी दार्चुलाको चमेलियादेखि कैलालीको अत्तरियासम्मको १३२ केभी प्रसारण लाइनअन्तर्गत बैतडी खोचलेक भन्ने स्थानमा रुख ढलेर एउटा सर्किटमा क्षति पुगेको छ । उक्त लाइनको मर्मत भइरहेको छ ।






