काठमाडौं । हाइड्रो इम्पायर प्रालिले ३७ मेगावाटको माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन सम्झौता गरेको छ । सिद्धार्थ बैंकको अगुवाइमा म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका-४ मा निर्माण हुने माथिल्लो म्याग्दीखोला जलविद्युत् आयोजनाको लगानी व्यवस्थापन सम्झौतापत्रमा पाँचवटा बैंकसहित दुर्ई पक्षबीच सम्झौता भएको छ । सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, एभरेष्ट बैंक र नबिल बैंकले ऋण लगानी गर्ने सम्झौता गरेका हुन् ।
प्रवद्र्धक कम्पनीका अध्यक्ष काजी लामा तथा अगुवा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सम्झौतापत्र आदानप्रदान गर्नुभएको थियो । सम्झौताअनुसार आयोजनाको कुल लागत बैंकको ब्याजबाहेक छ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ ।
कुल लगानीमध्ये बैंकहरूबाट पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी हुने बताइएको छ । आयोजनामा बैंकको ब्याजबाहेक ऋण र स्वपुँजी लगानीको अनुपात ८०ः२० रहेको छ भने बैंकको ब्याजसहित लगानीको अनुपात ७०ः३० (कुल लगानी सात अर्ब ६३ करोड २९ लाख १४ हजार) प्रक्षेपण गरिएको छ । आयोजनाको ऋण तिर्ने अवधि करिब १२ वर्ष रहेको छ । वित्तीय व्यवस्थापन सम्झौताले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उदयकान्त झाले आयोजना निर्माणलाई तीव्रता दिँदै आर्थिक सामाजिक विकासका क्षेत्रमा सरकारसँग हातेमालो गर्दै अघि बढ्न प्रेरणा तथा हौसला प्रदान गरेको बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कँडेलले आयोजना समय र लागतभित्रै पूरा गर्न कम्पनी व्यवस्थापन प्रतिबद्धतासाथ लाग्नुपर्ने बताउनुभयो । कम्पनीका अध्यक्ष काजी लामाले भन्नुभयो, ‘यसलाई अन्तिम गन्तव्य नठानी यात्रा सुरु भएकाले अब हामी सबैले अझ बढी परिश्रम, नवीन सोच र सहकार्यका साथ परियोजना सफलताको शिखरमा पु¥याउन प्रतिबद्ध छौँ ।’






