रुपन्देही । रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो । गोष्ठीमा गृहमन्त्री रमेश लेखकले कानुनको पालना गर्नु सबैको दायित्व भएको बताउनु भयो ।
'कानुनले कसैलाई बिभेद गर्दैन, सबैकालागि समान हुन्छ, त्यसैले कानुनले निर्दिष्ट गरेका ऐन नियमहरुको पालना गर्नु सबै नागरिकको दायित्व हो' भैरहवामा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्वोधन गर्दै गृहमन्त्रीले लेखकले भन्नुभयो।
उहाँले भन्नुभयाे, 'लोकतन्त्र भनेको भिडको शासन होईन, गरिव जनतालाई ठगी गर्ने अनि कार्वाही गर्दा भिडले कानुन हातमा लिन खोज्ने? यस्ता कुरा स्विकार्न सकिदैन ।नागरिकले आफ्नो हक प्रयोग गर्न पाएनन् भने त्यस्तो संविधान काम लाग्दैन तर कानुन पालना गर्ने नाममा कानुनको उल्लंघन गर्ने अरुलाई असर पार्ने हानी नोक्सानी गर्न पाईन्न । धेरै संविधान बनाउनु अस्थिर मुलक भएको प्रमाण हो, त्यसैले संविधान फेरि रहन सकिदैन बर्तमान संविधानको संरक्षण गर्नु हाम्रो कर्तब्य हो ।'
गृहमन्त्री लेखकले प्रेस स्वतन्त्रता बिरुद्ध जान नसकिने बताउदै स्वतन्त्र प्रेसबाट शुसासन र दीगो शान्तिमा सहयोग पुग्ने बताउनु भयो । उहाँले सिमामा ब्यापक तस्करी भएको सुचना पाएको बताउँदै तस्करी नियन्त्रण गर्न नसके सोहि अनुसार मुल्यांकन गरि दण्डित गरिने समेत बताउनु भयो । राजस्व असुली र तस्करी नियन्त्रण गर्न परिणाम मुखी नतिजा निकाल्न उहाँले निर्देशन दिनुभयो।
गोष्ठीलाई सम्वोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको एकल र साझा सुचीका अधिकार कार्यान्वयन गर्न संघीय सरकारले सघाउनुपर्ने बताउनु भएको छ ।
प्रदेशमा प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा कायम गर्नेदेखी प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन समेत प्रदेश सरकारलाई रोकेको उहाँले बताउनु भयो । उहाँले तत्काल प्रदेशमा प्रहरी समायोजन देखी प्रदेश अनुसन्धान व्यूरो स्थापना गर्ने बिषयमा संघीय सरकारको ध्यानाकर्षण गराउनु भयो ।
‘प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले प्रहरी कार्यालयको भवन निर्माण गर्न हालेका बजेट समेत कार्यान्वयन हुन नसक्ने अवस्था छ । गत बर्षको बजेट पनि खर्च हुन सकेन’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘संघीय सरकारले अनुमती नदिदा प्रहरी कार्यालय बनाउन हालिएका बजेट फ्रिज हुन पुगे । यस बर्ष पनि प्रदेश सरकारले प्रहरी कार्यालय भवन निर्माण गर्न बजेट विनियोजन गरेको छ ।’
प्रदेश भित्र प्रहरी कार्यालय भवन जिर्ण हुँदा समस्या परेको, प्रदेश सरकारले भवन निर्माणकालागि ध्यान दिएपनि प्रहरी समायोजनको बिषय अघि नबढ्दा समस्या परेको भनाई उहाँको छ । यस्तै प्रदेश सरकारले संघीय सरकारले साझा र एकल सुचीका अधिकारलाई प्रदेशमा कार्यान्वयनकालागि नपठाउदा समस्या परेको भनाई मुख्यमन्त्री आचार्यको छ ।
‘संघीय निजामती सेवा ऐन नआउदा प्रदेशमा काम गर्न जटिलता छ । हामिले बनाएको ऐन समेत कार्यान्वयन गर्न खोज्दा समस्या देखियो’उहाँले भन्नुभयो,‘संघीय शिक्षा ऐन समेत नआउँदा प्रदेशले काम गर्न पाएन ।’
प्रदेश सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार विरुद्धको अभियानलाई प्राथमिकतामा राखेको र सोही अनुसार कार्यान्वयन पक्षलाई बलियो बनाउदै लगेको जानकारी दिनुभयो ।‘सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनिकरण गर्न पाँच बर्षे रणनीतिक योजना बनाएका छौं । त्यसको पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकारले ध्यान दिएको छ ।
यति मात्र होइन, मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लागु गरेका छौं’उहाँले भन्नुभयो,‘महिनामा एक पटक मात्र एउटा जिल्लामा जाने, अर्काेपटक जानुपरेको खण्डमा आवश्यकता र औचित्य पुष्टी हुनेगरी मुख्यमन्त्रीको अनुमती लिएर जाने, सकभर होटलमा बास नबस्ने, सरकारी गेष्टहाउसमा बस्ने नीति लिएका छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘आफ्नो जिल्लामा मन्त्री जाँदा भ्रमणभत्ता नलिने, होटलको विल पेश नगर्नेगरी आर्थिक अनुशासन कायम गर्नेगरी सरकारले भूमिका बढाएको छ ।’
यस्तै मुख्यमन्त्री आचार्यले आफु मुख्यमन्त्री भएदेखी समय पालनालाई समेत प्रमुखताकासाथ अघि बढाएको बताउनु भयो ।‘जतिबेला भनिएको छ, सोही समयमा कार्यक्रम सुरु गरिनुपर्छ । यसमा म दृढ छु’उहाँले भन्नुभयो,‘सुशासनको सुरुवात आफैबाट गर्नुपर्छ, त्यो मान्यता मैले लिएको छु ।’ मुख्यमन्त्रीको सुरक्षाकालागि खटिने स्कटिङ्ग सुविधा पनि हटाउने बारेमा पनि आफुले सोचिरहेको बताउनु भयो ।
‘अगुवा र पछुवा सुरक्षा दिने गरिएको छ । मैले जिल्ला तहबाट हुने स्कटिङ्ग सुरुबाटै लिदैन भनेर लिइन । अव मेरो सुरक्षामा रहेको अगुवा सुरक्षा पनि नलिने भनेको छु । यहाँ रहेको जनशक्तिलाई अनेत्र लैजान सकिन्छ’उहाँले भन्नुभयो,‘यस बारेमा पनि छलफल आवश्यक छ ।’ कार्यालयको कामलाई प्रभावकारी बनाउन जारी गरिएको १४ बुँदे निर्देशन समेत कार्यान्वयन भइरहेको भनाई उहाँको छ । गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शसस्त्र प्रहरी र नेपाली सेनाका गण र बाहिनी प्रमुखहरुको सहभागिता छ।






