काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर प्रेमलाल (पिएल) सिंहको निधन भएको छ । ८८ वर्षीय सिंहको काठमाडौंको ठमेल चाक्सीबारीमा सोमबार निधन भएको हो । सोमबार पशुपति आर्यघाटमा उहाँको अत्येष्टि गरिएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि गणेशमानकी बुहारी सिर्जना सिंहले पिएललाई चाक्सीबारीमै रहन प्रस्ताव गर्नुभएको थियो । त्यसयता सिंह चाक्सीबारीमा बस्दै आउनुभएको थियो । त्यहीँ उहाँको निधन भएको हो ।
०४९ सालदेखि ०५४ सालसम्म काठमाडौं महानगरको मेयर भएर काम गरेका पिएलले विश्वका धेरै देशका महानगरसँग दौत्य सम्बन्ध राख्नेदेखि अन्तर्राष्ट्रिय संघ-संस्थाको बजेट सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षणमा ल्याउने सम्झौता गरेर महानगरको जग बसाल्नुभएको थियो । त्यही कामका कारण उहाँको नागरिक तहमै सम्मान बढेको थियो । स्थानीय सरकारले स्थानीयसँग जोडिएर काम गर्नुपर्छ र नागरिक विश्वास आर्जन गर्नुपर्छ भन्ने मान्यता स्थापित गराउनुभयो ।
सिंह २०५६ सालको चुनावमा काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । पिएल २०५८ साउनमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा जनसंख्या तथा वातावरण मन्त्रीसमेत बन्नुभएको थियो । २०५९ जेठ ८ मा विघटित प्रतिनिधिसभा जनआन्दोलनको बलमा २०६३ वैशाखमा पुनस्र्थापित भयो । तर, त्यो घटनालाई पिएल सिंहले फरक ढंगले असहमति राख्नुभयो । उहाँको तर्क थियो, जनताबाट निर्वाचित प्रतिनिधि राजाबाट सिफारिशमा पुनःस्थापित संसद्मा जानुहुन्न । त्यही तर्कका आधारमा कृष्णप्रसाद भट्टराई पनि पुनःस्थापित संसद् फर्किनुभएन । दुवै नेताले ‘राजाको निगाहबाट प्राप्त र निर्वाचन पद्धतिबाट आएका सहभागी हुने संसद्मा नजाने’ निर्णय लिनुभएको थियो । चुनावमा भाग नलिएको र हिंसात्मक विद्रोहबाट आएको माओवादीलाई संसद्मा लैजानु हुँदैन भन्ने थियो ।
भीमसेनदासका अनुसार, किसुनजी र पिएल दुवैको एउटै अडान थियो- ०४७ सालको संविधान फाल्नुहुन्न । नेपालमा संवैधानिक राजतन्त्रको अन्त्य पनि गर्नुहुन्न । तर ती दुवै काम रोक्न नसक्ने देखेपछि संसद् जानु अनुचित हुने निष्कर्षमा किसुनजीसँगै पिएल पनि पुग्नुभएको थियो । पारिवारिक स्रोतका अनुसार उहाँका एक भाइ र दुई बहिनी छन् ।
पूर्वमेयर पिएल सिंहको निधन भएकोमा काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरूमा सोमबार शोक बिदा दिइएको थियो । प्रमुखका रूपमा काठमाडौं महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा सिंहले पु¥याएको योगदानको उच्च सम्मान गर्दै अत्यावश्यक सेवाबाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको हो । काठमाडौं महानगरपालिका परिवारले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसमेत गरेको छ । सिंहले तत्कालीन काठमाडौं नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नुभएको थियो ।
कांग्रेसद्वारा शोक प्रस्ताव पारित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं काठमाडौं नगरपालिकाका पूर्वनगर प्रमुख प्रेमलाल (पिएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमेयर पिएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको बताउनुभएको छ । सिंहको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखेर गरिएको श्रद्धाञ्जली सभामा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिंह अत्यन्तै मिलनसार र सहयोगी रहेको पनि बताउनुभयो ।
सिंहप्रति सम्मान प्रकट गर्दै बैठकले सोमबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, मंगलबार केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र १३औँ दिनमा काठमाडौंमा शोकसभा आयोजना गर्ने निर्णयसमेत गरिएको पौडेलले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा