इटहरी । यही पुस ५ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बम बहादुर’को युनिटले इटहरीमा पत्रकार भेटघाट गर्दै यसका बारेमा जानकारी दिएको छ । चलचित्रका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थिति रहेको कार्यक्रममा फिल्म अग्र्यानिक कथामा निर्माण भएको दाबी गरिएको थियो ।
‘बम बहादुर’ चलचित्रले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई पर्दामा उतारेको छ । यसले भारतका नेपाली, विशेषगरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोवास गर्ने नेपाली समुदायको संघर्षका पलहरूलाई मार्मिक ढंगले चित्रण गरेको समेत बताइयो । कार्यक्रममा अभिनेता सौगात मल्लले चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।
लेखक तथा निर्देशक जोन राईले चलचित्र बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको सुनाउनुभयो । यस्तै, चलचित्रकी नायिका अनिशा रसाइलीले यो चलचित्रले सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताउनुभयो । कलाकार शान्तिला तामाङले यस चलचित्रबाट आफूले ठूलो आशा बोकेको बताइनुभयो ।
पूर्वी नेपालमा सक्रिय पत्रकारहरूसँगै दार्जिलिङ, सिलिगुडीलगायत नेपाली भाषाका सञ्चारमाध्यमका पत्रकारहरूको समेत उपस्थितिमा भएको समारोहमा चलचित्रका कलाकारले आफ्नो अनुभव साटासाट गरेका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता