मुगु । चिसो अत्याधिक बढेसँगै मुगु जिल्लाका विभिन्न तातोपानी कुण्डमा नुहाउन चाहने मानिसहरूको भीड दिनदिनै बढिरहेको छ।
चिसोका कारण धारामा पानी जम्ने, खोलामा बरफ जमेर नुहाउने र कपडा धुन कठिनाइ भएकाले महिला, पुरुष, युवायुवतीदेखि बुढापाकासम्म तातोपानी कुण्डतर्फ आकर्षित भएका छन्।
जिल्लाको छायाँनाथ रारा नगरपालिकाको रुगा भैसेकुना र सोरु गाउँपालिकाको जिमा कुलाहा, हुम्लाको सर्केगार्ड र चंखेली गाउँपालिकाको सरिसल्ला तातोपानी कुण्डमा मानिसहरूको ओइरो लाग्न थालेको हो। सोरु गाउँपालिका–६ का पदम शाहीका अनुसार रुगा, थार्प, इमा, निगाले, हेन्निकाँध, श्रीनगर र भामबाडा जस्ता ठाउँबाट स्थानीय तातोपानी कुण्डमा पुगेर नुहाउने क्रम तीव्र भएको छ।
तातोपानी कुण्डमा नुहाउँदा शारीरिक दुखाइ, चिलाइ, अनुहारका दादलगायत रोग निको हुने जनविश्वासले पनि यहाँको भीड थप बढाएको छ। जमिनमुनिबाट निस्कने नुनिलो र बाफिलो तातोपानीले शरीरलाई न्यानो महसुस गराउँदै चिसोबाट राहत दिने भएकाले यो ठाउँ आकर्षणको केन्द्र बनेको छ।
सोरु गाउँपालिकाका वडा अध्यक्ष सागरसम्शेर शाहीका अनुसार जिमा कुलाहा तातोपानी कुण्डमा मानव गतिविधि निकै बढेको छ। गाउँको सुनसान ठाउँ अहिले रमाइलो चहलपहलले भरिन थालेको छ। तातोपानीमा नुहाएर देउडा खेल्दै रमाइलो गर्ने र आगो ताप्दै तेल घस्ने जस्ता दृश्यहरूले मानिसहरूको जाडोमा आनन्द लिने तरिका झल्काउँछ।
छिमेकी हुम्लाको लुमछहरा तातोपानीमा पनि मुगुका फोतु, भीई, नार्थपु, र हुम्लाकै श्रीनगर, तुम्च, जैर, कल्खे गाउँका मानिसहरू दिनहुँ नुहाउन आउने गरेका छन्। गर्मीमा प्रायः सुनसान हुने तातोपानी कुण्ड जाडोमा भने स्थानीय र छिमेकी गाउँका मानिसहरूको घुइँचोले भरिएको देखिन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts