काठमाडौं । एक शताब्दीभन्दा पुरानो बिरासत बोकेको व्यावसायिक घराना ज्योति समूह औपचारिकरूपमै छुट्टिएको छ । मणिहर्ष ज्योतिले सुरु गरेको ज्योति समूहभित्र पछिल्लो समय दाजुभाइबीच सम्पत्ति विवाद चरमोत्कर्षमा पुगेको थियो । यसअघि ज्योति समूहको अध्यक्ष पद्म ज्योति, उपाध्यक्ष डा. रूप ज्योति रहेकोमा पद्म ज्योतिले नयाँ समूह गठन गर्नुभएको हो । उहाँ निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुनुहुन्छ । पद्म ज्योतिले आइतबार एक कार्यक्रमबीच आफ्नो नयाँ समूह पद्म ज्योति समूह घोषणा गर्नुभएको हो ।
पद्म ज्योति समूहको अध्यक्षमा पद्म ज्योति रहनुभएको छ भने संस्थापक सदस्यमा मीरा ज्योति तथा निर्देशक सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति रहेका छन् । नयाँ समूह घोषणा कार्यक्रममा अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्ष ज्योतिको बिरासत आत्मसात गर्दै नयाँ अध्याय सुरु गरेको भन्दै यस्ता पारिवारिक समूह नेपालमा मात्रै नभएर विश्वमा पनि फुट्ने गरेको बताउनुभयो । पारिवारिक विवाद बढेपछि पाँच वर्षअघि नै पारिवारिक विधान बनाएको पनि उहाँले जानकारी दिनुभयो ।
पद्म ज्योति समूहका निर्देशक सौरभ ज्योतिले लामो बिरासत बोकेर पारिवारिक समूह अलग हुँदा दुःख लागेको भन्दै यसलाई सिकाइका रूपमा लिएर अघि बढ्ने बताउनुभयो । समूहमा पाँचौं पुस्ता पनि तयार भइरहेको भन्दै उहाँले आगामी दिनमा परिवर्तनको संबाहक बन्न लागेको बताउनुभयो । सो अवसरमा बनेपाको स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रलाई उक्त समूहले २५ लाख रुपैयाँ सहयोगका साथै धर्मोदय सभालाई ११ आना जग्गा दान दिएको थियो ।
पद्म ज्योति समूहमा हिमाल स्टिल, हिमाल सिमेन्ट, हिमाल अक्सिजन तथा हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फर्मास्युटिकल्स, भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स, होण्डा मोटरसाइकललगायत रहेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता