काठमाडौं । सानो पर्दाबाट हास्य कलाकारको छवि बनाएका जितु नेपालले चलचित्र ‘कार्साङ’मा हसाउनेसँगै गम्भस्र चरित्र निभाएको बताउनुभएको छ । ‘कार्साङ’मा जितुको जोडी दयाहाङ राईसँग जोडिएको छ । बच्चा नभएको दोष एकले अर्कोलाई लगाइरहेको रहस्य यस चलचित्रको टिजरले खोलिसकेको छ । तर, कारण के र समस्या कोमा छ भन्ने हालसम्म खुलेको छैन । यसमा उहाँले दर्शकलाई हसाउनुहुनेछ । हसाउनेसँगै केही गम्भीर चरित्र पनि रहेको जितुले बताउनुभयो ।
आम ग्रामीण परिवेशको नेपालीको कथा चलचित्र ‘कार्साङ’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथा यसमा देख्न सकिने जिकिर गरेका छन् । यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्र यही पुस २६ गतेदेखि सिनेमाघरमा आउँदैछ ।
शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको यो चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा हृयोल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुनुहुन्छ । चलचित्रको सहनिर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही रहनुभएको छ । चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिनुभएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।






