रौतहट । जिल्लाको सदरमुकाम गौरमा अवस्थित बानेश्वर महादेव मन्दिरको पुरातात्विक अध्ययन सुरु गरिएको छ । गौर नगरपालिकाको विशेष पहलमा पुरातत्व विभागबाट महादेव मन्दिर परिसरको पुरातात्विक अध्ययन सरु गरिएको नगर प्रमुख शम्भु साहले जानकारी गराउनु भएको छ ।
गौर नगरपालिका २ महादेवपटी गाउँनजिक रहेको बानेश्वर महादेव मन्दिरलाई ऐतिहासिक मानिएको छ । सिमरौनगढका राजा मानिएका सेवई सिंहको समयमा गौरमा बानेश्वर मन्दिरको स्थापना गरिएको भनाइ रहेको छ ।
सिमरौनगढ राज्य सन् १३२४ मा औपचारिक रुपमा नष्ट भएपछि हरिसिंह देवका आफन्तहरुले यस क्षेत्रमा सुधारका धेरै कामहरु गरेका थिए । हरिसिंह देवका वंशजलाई स्थानीयहरुले राजा नै भन्ने गरेको अवस्थामा सेवई सिंहले गौर क्षेत्रमा बानेश्वर मन्दिरका साथै सुवर्णामाई मन्दिर र शिवालय मन्दिरको निर्माण गराएको जनविश्वास रहेको नगर प्रमुख साहले जानकारी गराउनु भएको छ ।
नगर प्रमुख साहले बानेश्वर मन्दिरको पश्चिमतर्फ उत्खनन गरेर मन्दिरको निर्माणको ऐतिहासिकताबारे पहिचान गरिने कार्यक्रम रहेको बताउनु भयो । मन्दिरको संरचना, शिवलिंगको स्वरुप तथा परिसरमा रहेको इनारको इँटाको प्रकृति सबै विभन्न रहेको र पुरातात्विक अध्ययन गरिने बताइएको छ । पुरातात्विक अध्ययन तथा उत्खननको सबै व्ययभार तत्कालको लागि नगरपालिकाले नै व्यहोर्ने नगर प्रमुखले जानकारी गराउनु भयो ।
पुरातत्व विभाग काठमाडौँबाट बानेश्वर महादेव मन्दिरबारे अध्ययन गर्ने टोलीमा वरिष्ठ पुरातत्वविद् देवेन्द्रनाथ तिवारी, सहायक पुरातात्विक अधिकृत हरि भुषाल, भारत साह रहनुभएको छ ।
मन्दिरबारे टोलीले विभिन्न जिज्ञासा राखेको छ । मन्दिर परिसरको अवलोकन गर्दै पुरातत्व विभागको टोलीले मन्दिर र इनारको इँटा पनि लगेको छ । निकट भविष्यमा विभागको टोलीले आवश्यकताअनुसार उत्खनन तथा अन्वेषण गर्ने आवश्वासन टोलीले दिएको छ ।
मन्दिरको ऐतिहासिकताबारे स्थानीयले पहिलेदेखि निकै चासो र जिज्ञासा रहेकोले अब अध्ययन सुरु भएपछि तथ्य बाहिर आउने विश्वास नगरपालिकाले लिएको नगर प्रमुखको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts