
विगत केही समयदेखि एत्रछत्र चर्चामा रहेको विषय पूर्वउपप्रधान तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगीमा सहभागितामा उहाँको पक्राउ । उहाँलाई पक्राउपछि कास्की, काठमाडौं, चितवनलगायत ठाउँहरूमा लगेर सोधपुछ गर्ने काम भइरहेको छ । केही दिन पहिले उहाँले हिरासतमा बसेको बारदलीबाटै आफू बाघ भएको र थुनामा बस्तैमा स्याल नहुने आसयको भनाइ राख्नुभएको थियो । अब भने उहाँले आफूमाथि अमानवीय व्यवहार गरिएको र यस्तो व्यवहार दिनप्रतिदिन बढ्दै गएको भन्नुभएको छ । उहाँले आफ्नो निजी डायरीसमेत खोसियो भनेर यसलाई अमानवीय व्यवहार गरिएको दृष्टान्तका रूपमा चित्रण गर्न खोज्नु भएको छ ।
यस कुरामा सत्यता नहोला भन्न सकिँदैन, सत्य नै हो भन्न पनि सकिँदैन । प्रहरी प्रशासन उहाँमाथि अमानवीय व्यवहार भएको छैन भनिरहेको छ । उहाँमाथि प्रहरीबाट अमानवीय व्यवहार भयो कि भन्ने लागेर नै राष्ट्रिय मानव अधिकार आयोगबाट यस विषयमा चासो राखिएको पाइएको छ । वास्तवमा यो विषय निकै जटिल बनेर जेलिएको र लहरो तान्दा पहरो गर्जिने सम्भावना देखिएकाले यस विषयसँग जोडिएर आउने व्यक्तिहरू सबै चुपचाप रहेका छन् । यस्तो अवस्था कहिलेसम्म विद्यमान रहने भन्ने सोचनीय नै छ । मुख्य दोषी भनेर करार गरिएका व्यक्ति जीबी राई मलेसियामा रहेको बताइन्छ ।
जुन औंलामा विष लाग्छ त्यही झर्छ भन्ने नेपाली उखानलाई यहाँ पनि अपराध गर्ने व्यक्तिलाई खोजेर नेपाल फिर्ता ल्याउनुपर्ने र उसैलाई कारबाही गर्नुपर्छ भन्ने आवाज बुलन्द भइरहेका कारण रवि लामिछानेलाई रिहाइका लागि सडकमा उत्रिनेहरूको जमात छ । सामाजिक सञ्जाल यसैले तातेको छ । त्यहाँ रविका लक्षमा बोल्ने युवा, वृद्धवृद्धा र महिलाहरू पनि छन् । कतिपय बौद्धिक व्यक्ति यो सन्दर्भ सरकारको रवि लामिछानेमाथिको प्रतिशोध भन्ने खालका छन् । प्रतिपक्षमा सबैभन्दा ठूला नेता पूर्वप्रधानमन्त्री तथा मओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि उहाँलाई बाहिरै राखेर त अनुसन्धान गर्न सकिन्छ नि ¤ भन्नुभएको छ भने अन्य नेताहरूको मनोभावना यस्तै छ ।
उहाँहरू रविको रिहाइको माग गरिरहनुभएको छ । प्रचण्ड प्रधानमन्त्री भएका बेला उपप्रधान तथा गृह जस्तो शक्तिशाली मन्त्री रहनुभएका लामिछानेको बचाउ गर्नु प्रचण्डको एक प्रकारले स्वाभाविक कर्तव्य पनि हो भन्दा फरक नपर्ला । त्यसबेला उहाँप्रति शुभचिन्तक बनेर सद्भाव प्रकट गर्नेहरूले रविको रिहाइको माग गर्नु स्वाभाविक हो । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रवि लामिछानेसँग भेट गर्नुभएको छ । रविको रिहाइका लागि विपक्षमा रहेका नेताहरू सबैको साझा धारणा बनेको हो कि भने जस्तो पनि देखिन आएको छ ।
तर, यही बेलामा न्यायालयबाट आफ्नो अवहेलनामा परेको रिट निवेदनप्रति सुनुवाइ गर्ने क्रममा उहाँलाई ‘किन कारबाही नगर्ने ?’ भनेर यस्तो प्रश्न गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तरको माग गरेको छ । जसले गर्दा यो विषय अझै जेलिएर जाने र सजिलै गाँठो नफुक्ने अवस्था देखिएको छ । झन्–झन् जटिल बन्दै गएको छ । एकातिर प्रचण्ड जस्ता प्रधानमन्त्री भइसकेका व्यक्ति उहाँको बचाउमा लाग्नु र अर्कातिर सत्ता पक्षीयहरूले चाहिँ रविमा खोटै खोट देख्नुले यो प्रकरण सत्ता र प्रतिपक्षबीचको प्रतिस्पर्धात्मक खेल जस्तो देखिन्छ । कुनै विषयको तहकिकात गर्दा यस्तो हुनुहुँदैनथ्यो । कोही दोषी छ भने ऊ सबैका नजरमा दोषी नै हुनुपर्छ, निर्दोष छ भने सबैले उसलाई निर्दोष भन्न सक्नुपर्छ ।
लामो समयसम्मको अनुसन्धानबाट रवि सहकारी ठगीका अनेकौं प्रकरणमा जोडिन आउनुभएको प्रष्ट हुँदै आएको छ । त्यसैले हुनसक्छ वर्तमान गृहमन्त्री रमेश लेखकले अनुसन्धानलाई प्रभावित गर्नेगरी गतिविधि गर्नु दुर्भाग्यपूर्ण भन्नुभएको छ । देशमा भइरहेका यस्ता विरोधको नामका अनेकौं अराजक गतिविधि रोक्ने काम गृहमन्त्रीकै हो । उहाँले यस्ता गतिविधिलाई नजिकैबाट हेरिरहनुभएका कारण यसो भन्नुभएको हुनसक्छ । त्यस्ता गतिविधि गर्नेलाई नियन्त्रण गर्ने काम उहाँकै भएकाले त्यसो गर्न उहाँले सक्नुपर्छ । उता सत्तारुढ पार्टी नेपाली कांग्रेस पार्टीका डा.सुनील शर्माले भने लोकलाई लाज हुनेगरी रविलाई थुनामा राख्ने काम भइरहेको भनेर विरोध गर्दै आउनु भएको छ ।
अनियमितताका प्रकरण यो पहिलो होइन । अनेकौं प्रकरण यस पहिले भएकै हुन् र तिनको निरन्तरता हुँदै आएको छ । यो सबैभन्दा पछिल्लोे शृंखला रवि लामिछाने सहकारी ठगीमा संलग्नताको घटना हो । यसको अनुसन्धान भइरहेको छ । कसैबाट र कतैबाट अनुसन्धानलाई प्रभावित गर्ने कुनै कार्य गर्नु हुँदैन । अनुसन्धान भइरहेका बेला त्यसलाई बिथोल्न बीच-बीचमा अनेकौं खालका व्यवहार जोडिन आउने गर्छन् । तीबाट अनुसन्धान गर्ने पक्ष प्रभावित हुनुहुँदैन । अनुसन्धाधन पूरा हुन दिएर त्यसको अन्तिम परिणाम आएपछि यो उहाँसम्बन्धी यथार्थता हो वा आरोप भनेर छुट्टिनेछ । त्यसपछिको उहाँको बाटो राजनीतितिर अझै सबल भएर लाग्ने वा नेपाली समाजको नजरमा दोषी भएर रहने भन्ने प्रष्ट हुन आउँछ । हालका लागि निष्पक्ष दृटिकोणले अनुसन्धान हुन दिनु नै हालका लागि बुद्धिमानी ठहरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच