काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणमा गएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चाइना काउन्सिल फर द प्रमोसन इन्टरनेसनल ट्रेड अटोमोबाइल सब काउन्सिल(सिसिपिआइटी-अटो)बीच सम्झौता भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधिमण्डलमा नाडाको प्रतिनिधित्व गर्दै नाडा अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उपे्रतीसमेतको उपस्थितिमा नेपाल-चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवद्र्धनका लागि नाडा र सिसिपिआइटी–अटोबीच सम्झौता भएको नाडाले जनाएको छ ।
सम्झौताले दुई देशबीच आर्थिक सम्बन्ध सुदृढ गर्न, व्यापार प्रवद्र्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावना अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ । सम्झौताको लक्ष्य व्यापार मेला, व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान र नीति वकालतजस्ता संयुक्त पहलमार्फत् दुवै देशका अटोमोबाइल उद्योगमा नयाँ सम्भावना खुलाउने रहेको छ ।
सम्झौताअन्तर्गत नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेला आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीलाई सहयोग गर्ने छ । सिसिपिआइटी-अटोले नेपालमा चिनियाँ लगानी प्रवद्र्धन गर्ने, प्रविधि आदानप्रदानमा सहयोगका साथै संयुक्त कार्यक्रम सञ्चालनमा साथ दिने छ । साझेदारी कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिने छ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिने छ ।
दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम भएको नाडाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता