काठमाडौं । कास्कीको मादी गाउँपालिकामा निर्माण हुने ४३ मेगावाटको अपर मादी खोला आयोजनामा विभिन्न आधा दर्जन बैंकले लगानी गर्ने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइ र ग्लोबल आइएमई बैंकको सह-अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने भएका हुन् । आयोजना निर्माणका लागि छ बैंकले पाँच अर्ब ६८ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ऋण लगानी सम्झौतामा आयोजना प्रवद्र्धक कम्पनी अन्नपूर्ण पावर कम्पनी र बैंकबीच हस्ताक्षर भएको छ ।
सम्झौतापत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत वरिष्ठ इञ्जिनियर श्रीराम न्यौपाने र बैंकहरूतर्फबाट अगुवा बैंक सिटिजन्स बैंकका डेपुटी सिइओ राजेन्द्रलाल श्रेष्ठले आदानप्रदान गर्नुभएको थियो । अन्नपूर्ण पावर कम्पनीका अध्यक्ष सबु कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरू डा. स्वर्णिम वाग्ले, डा. चन्द्र भण्डारी, मीनबहादुर गुरुङ, जीवन परियार, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, अन्नपूर्ण पावर कम्पनीका सञ्चालक शिला कोइरालालगायत सहभागी भएका थिए ।
आठ अर्ब १२ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि सिटिजन्स बैंकले एक अर्ब ५० करोड, ग्लोबल आइएमई बैंकले एक अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब, लक्ष्मी सनराइज बैंकले ८५ करोड, नेपाल एसबिआई बैंकले ६० करोड र माछापुच्छ्रे बैंकले ५० करोड लगानी गर्नेछन् भने ३० प्रतिशत स्वपुँजी प्रवद्र्धकहरूबाट जुटाइने छ । आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts