प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणकाे लागि चीन प्रस्थान गर्नुभएकाे छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आज चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । ओली प्रधानमन्त्री भएपछि पहिलो द्विपक्षीय भ्रमण गर्न लाग्नुभएकाे हाे ।

ADVERTISEMENT
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गर्नुभयो ।
यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरुसमेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुग्नुभएको थियो ।
प्रधानमन्त्री ओलीलाई यसअघि नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले आफ्ना चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीले भेट गर्नुहुने कार्यतालिका छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रम तथा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत हुनुहुन्छ ।
 प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *