काठमाडौं । गत जेठमा सिनेमाघरमा आएको रोड-थ्रिलर चलचित्र ‘बाटो : रोड टु डेथ’लाई विश्व प्रतिष्ठित ओटीटी प्लेटफर्महरूमा उपलब्ध गराएको छ । ‘अमेजन प्राइम भिडियो’, ‘ट्युबी’, र ‘बुक माई शो स्ट्रिम’मा चलचित्रको स्ट्रिमिङ सुरु भइसकेको निर्माण कम्पनी काठमाडौं फिल्मस्का सञ्चालक तथा निर्माता चन्दन झाले जानकारी दिनुभयो । तर, यी तीनवटै प्लेटफर्ममा यो चलचित्रलाई सीमित देशमा मात्र हेर्न सकिन्छ । ‘अमेजन प्राइम भिडियो’मा युरोप र अमेरिकामा सःशुल्क र यिनै दुई देशमा ‘ट्युबी’बाट चलचित्रलाई निःशुल्क हेर्न पाइन्छ ।
त्यस्तै, ‘बुक माई शो स्ट्रिम’बाट भारतमा नेपाली भाषामा अंग्र्रेजी सबटाइटलसहित फिल्म स्ट्रिमिङ भइरहेको छ । अब ‘फ्युचर टिभी’लगायतका ओटीटीमा यो चलचित्र रिलिजको तयारी गरिएको छ । निर्माता झाले ‘बाटो’मार्फत् अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको सम्भावना खोज्ने प्रयास गरिएको बताउनुभयो ।
‘बाटो’का निर्देशक, लेखक तथा सम्पादक मदन थापा हुनुहुन्छ । दक्षिण भारतीय चलचित्रको प्राविधिक टोली लिएर निर्माण गरिएको चलचित्रमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्यायलगायत कलाकारको अभिनय छ ।







Breaking news with related posts