नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ स्थित पण्डितपुरमा रहेको बुद्धकालीन पुरातात्त्विक तथा ऐतिहासिक स्थलको आजबाट उत्खनन सुरु भएको छ। बुद्धको मावली मानिएको यस क्षेत्रमा व्यापक पुरातात्त्विक संरचना भेटिएपछि उत्खनन कार्य आरम्भ गरिएको हो।
बुद्धकालीन संरचनाको उत्खनन गर्ने पुरातत्वविद् भाष्कर ज्ञवालीका अनुसार जियोफिजिक्स सर्भेमा ३२ बिगाहा जमिनमुनि इँटाका पर्खालसहितका संरचनाहरू फेला परेका थिए। बेलायतमा गरिएका परीक्षणका आधारमा यी संरचना इसापूर्व छैठौँ शताब्दीका भएको प्रमाणित भएको छ। यसले पण्डितपुरको ऐतिहासिक महत्व रहेको ज्ञवालीको भनाइ छ ।
तीन हप्तासम्म दुई स्थानमा उत्खनन हुने पुरातत्व विभागको विज्ञ टोलीले आगामी तीन हप्तासम्म दुई स्थानमा उत्खनन गर्ने योजना बनाएको छ। ६० बिगाहा क्षेत्रफलमा फैलिएको यस क्षेत्रलाई चक्राकार बुद्धकालीन शहर मानिएको छ। हाल स्थानीयहरूले यस क्षेत्रमा खेती गर्दै आएका छन्। संरचनाको संरक्षणका लागि जमिन अधिग्रहण आवश्यक रहेको पुरातत्व विभागले जनाएको छ।
तीन तहका सरकारबीच समन्वयको आवश्यक
उत्खनन शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री ध्रुवबहादुर प्रधानले बुद्धको पहिचान विकास गर्न लुम्बिनीको मात्र ध्यान केन्द्रित गरेर मात्रै नहुने बताउनु भयो । उहाँले उत्खननको लागि संघ, प्रदेश, र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिनु भयो ।
पूर्व प्रदेश मन्त्री तथा प्रदेशसभा सदस्य खड्ग बस्नेतले प्रदेश सरकारले पण्डितपुर संरक्षणका लागि १५ लाख बजेट विनियोजन गरेको जानकारी दिनु भयो । उहाँले जनप्रतिनिधिहरूले नागरिकको जीवनस्तर सुधार गर्ने गरी काम गर्नुपर्ने बताउदै समयमा नै यस्को उत्खनन हुन सके पर्यटक भित्र्याउन सकिने र जिवन स्तर उकास्न सहयोग पुग्ने उल्लेख गर्नु भयो ।
रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले नगरपालिकाले यस वर्ष पण्डितपुरका लागि ४० लाख बजेट छुट्याएको जानकारी दिनु भयो । तर, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, र संघीय सरकार अन्तर्गतका कार्यालयहरूको सहकार्यको अभावले अपेक्षित काम गर्न नसकेको यादवको भनाइ छ । बुद्धकालीन राजधानी र मावली दाबी पण्डितपुरलाई कोलिय गणराज्यको राजधानी मानिन्छ। यसलाई बुद्धको मावली क्षेत्रको रूपमा पनि दाबी गरिएको छ। स्थानीय अपनत्व वृद्धि गर्दै संरक्षणका लागि रामग्राम नगरपालिकाले गत वर्ष पण्डितपुर संरक्षण, प्रवर्द्धन, तथा विकास समिति गठन गरेको थियो।
बुद्धकालीन पण्डितपुरको उत्खननले यस क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, र ऐतिहासिक महत्त्व उजागर गर्ने अपेक्षा गरिएको छ। तीनै तहका सरकारहरूबीच सहकार्य र योजनाबद्ध प्रयासले यस क्षेत्रको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउनेछ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता