मुगु । मुगुको उत्तरी सोरु गाउँपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीय खुसी भएका छन् ।
सोरु-४ लिब्रू गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीय खुसी भएका हुन् । मुगु-हुम्ला लिङ्क सडकअन्तर्गत सोरुको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रू सडकको १३ किलोमिटर सडकको ट्रयाक खुलेसँगै पहिलोपटक लिब्रू गाउँमा गाडी पुगेको हो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयले बताएका छन् ।
यो सडक निमार्णमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रमको करिब रु दुई करोड लगानीमा सडक निर्माण भएको जनाइएको छ । सोरुकोट-मसिनमेला हुँदै लिब्रू सडकको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।
गाउँपालिकामा रहेका ११ वडाका ५६ बस्तीमध्ये अधिकांश वडा-बस्तीमा सडक सञ्जाल जोडिएको छ । हरेक वडा-बस्तीमा सडक जोड्ने लक्ष्य तथा उद्देश्य बमोजिम करिब ५० बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पुर्याउने पनि अध्यक्ष शाहीले बताउनुभयो । उहाका अनुसार यो सडकलाई हुम्ला कर्णालीमा बेलिब्रिजको व्यवस्थापन गरी कर्णाली करिडोरसँग जोडिने छ ।
सोरुकोट-मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले मुगुका नागरिकलाई मात्र सहज नभई हुम्लाका नागरिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो सडकले हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका नागरिकलाई पनि यातायाताका क्षेत्रमा सहज हुने भएको छ ।
हुम्ला जिल्लाका सर्केगाड, चन्खेली र अदान्चुली गाउँपालिकाका स्थानीयलाई राजश्व, पेन्सन लगायतका बैंकिङ सेवा लिन हुम्ला सदरमुकाम सिमिकोटमा रहेको वाणिज्य बैंकमा जानुभन्दा सोरुकोट आउन सहज हुने भएकाले मुगुका नागरिकलाई मात्र नभई सोरुकोट-मसिनामेला हुँदै लिब्रू जोड्ने सडकले हुम्लाका नागरिकलाई सहज हुने सोरुका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताउनुभयो ।
यति मात्र नभएर हुम्लाका तीन पालिकाका नागरिकलाई स्वास्थ्य सेवालगायत अन्य व्यापारका आवश्यक हिसाबले सडकको प्रयोग गरेर हुम्लाका नागरिक मुगु सदरमुकाम गमगढीसम्म सेवा प्रवाहमा जोडिने अधिकृत शाहीले बताउनुभयो ।
सोरुको लिब्रू गाउँमा सबैभन्दा बढी सिमी, मास, केरालगायत फलफूल र दलहनबाली उत्पादन हुने गर्छ । यसअघि गाउँसम्म सडक नहुँदा र बजार टाढा हुँदा फलफूल र अन्नबाली गाउँ मै कुहाउने अवस्था थियो । अब यी कृषि वस्तुले बजार पाउने स्थानीयले अपेक्षा गरेका छन् भने गाउँलेहरु सिधैँ आर्थिक क्रियाकलापमा जोडिने छन् । स्थानीय रामबहादुर शाही भन्नुहुन्छ, “यातायातको सुविधा नहुँदा सिमी, मास, केरा, सुन्तला, मार्सी चामल सदरमुकाम गमगढी र सोरुकोट बजारमा बोकेर बिक्रीका लागि ल्याउने समस्या थियो, अब गाउँमै गाडी पुगेपछि बिक्रीका लागि सहज हुनेछ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच