झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलको तागत वैचारिक धरातल र सिद्धान्तमा आधारित हुने बताउनु भएको छ । सस्तो लोकप्रियताका लागि गरिने उच्छृङ्खल गतिविधि र प्रचारले राजनीति दलको वास्तविक तागत र धरातल मापन नहुने उहाँको तर्क छ ।
"हरेक परिवर्तनमा वैचारिक आन्दोलनको नेतृत्व गरेका कारण वैचारिक क्रान्तिको उत्तराधिकारी कांग्रेस हो " गृहजिल्ला झापामा बिहीबार आयोजित पार्टी कार्यक्रममा उहाँले भन्नुभयो," कांग्रेस वैचारिक क्रान्तिको नेतृत्व गरेको पार्टी हो, कांग्रेसको वैचारिक धरातल र सिद्धान्त स्पष्ट छ, कांग्रेसको कार्यकर्ता हुनु गौरवको विषय हो ।"
उहाँ वैचारिक धरातल र सिद्धान्त विनाका दलको राजनीतिक भविष्य नहुनेसमेत स्पष्ट पार्नुभयो । कांग्रेस झापा पदाधिकारी र नेपाल तरुण दल झापाको संयुक्त भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले कांग्रेसले कहिल्यै धोकाको राजनीति नगरेको र नगर्ने दोहोर्याउनुभयो । " धोकाको राजनीति र बढी चलखेल गर्दा प्रचण्ड नेतृत्वको सरकार उहाँकै कारणले ढलेको हो" सिटौलाले भन्नुभयो," वर्तमान सरकार पुरै अवधि टिक्छ, त्यसको आधार कांग्रेस - एमाले बीचको सम्झौता हो ।"
नेता सिटौलाले विश्वास र इमान्दारिता नै कांग्रेसको पहिचान र सम्पत्ति भएको बताउनुभयो । सत्ता साझेदार दल र जनतालाई कांग्रेसले कहिल्यै नढाँटेको र नढाट्ने उहाँको तर्क छ । २००७ सालदेखि संविधान निर्माणसम्मका हरेक राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै राष्ट्रियसभा कांग्रेस संसदीय नेतासमेत रहनु भएको सिटौलाले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, विकास निर्माण लगायत धेरै काम कांग्रेसकै नेतृत्वमा भएको बताउनुभयो ।
"कांग्रेसले बनाएका कानुन र नीतिकै आधारमा गाउँगाउँमा स्वास्थ्य, शिक्षा र विकासको पहुँच स्थापित भएको हो" उहाँले भन्नुभयो," वैचारिक र सैद्धान्तिक सुस्पष्टता तथा सांगठनिक धरातलमा रहेर कांग्रेसले गरेको समुदाय केन्द्रित कामको परिणाम नै आजको उपलब्धी हो । " जनजीविका र विकास निर्माणलाई पार्टी गतिविधिमा जोड्न नेताकार्यकर्ता आग्रह गर्दै उहाँले युवा केन्द्रित कार्यक्रमको आवश्यकता औंल्याउनुभयो ।
" हिजोको पुस्ताले तानाशाही व्यवस्था फाल्न अनवरत संघर्ष गर्यो र अहिलेको व्यवस्था आएको हो " नेता सिटौलाले भन्नुभयो, " राजनीतिमा नयाँ पुस्ता आइसकेको छ, युवा पुस्तालाई कांग्रेसले गरेको संघर्ष बारे बुझाउन सक्नुपर्छ, नयाँ पुस्तालाई राजनीतिक गतिविधिमा जोड्न युवाकेन्द्रित कार्यक्रम जरुरी छ ।"
उहाँले सहकारी ठगको भुलभुलैयामा लागेका युवालाई यथार्थ बुझाउने दायित्व तरुण दलका नेताकार्यकर्ताको भएको उहाँले बताउनुभयो । नेता सिटौलाले कुरा नबुझेर भड्किएको युवा शक्तिलाई आफ्नो संगठनमा आबद्ध गर्न तरुण नेताहरुलाई आह्वानसमेत गर्नुभयो ।
कार्यक्रममा कांग्रेस झापासभापति देउकुमार थेवे, तरुण नेताहरू गोपाल तामाङ, भूमीराज राई, गोकुल श्रेष्ठ लगायतले आआफ्नो जिल्लाको सांगठनिक गतिविधि र अवस्थाका बारेमा नेता सिटौलालाई जानकारी गराएका थिए ।






