काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले सार्वभौम साख मूल्यांकनमा बिबी माइनसको ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी बन्ने विश्वास लिएको छ । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ द्वारा गरिएको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बिबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा प्राप्त गरेकोमा सिबिफिन अत्यन्तै गर्वित एवं उत्साहित भएको उल्लेख गरेको छ ।
सिबिफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दक्षिण एसियाका अन्य मुलुकमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्यांकन प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको मात्र छैन, यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणितसमेत गरेको छ । मुलुकको अर्थतन्त्रका बाहृय सूचक निकै बलियो स्थितिमा रहेका, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम हुँदाहुँदै पनि अपेक्षितरूपमा लगानी/कर्जा विस्तार हुन नसकी आर्थिक गतिविधिले तीव्रता लिन नसकिरहेको वर्तमान सन्दर्भमा भएको यस मूल्यांकनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सिर्जना गरेको र लगानी विस्तार, कर्जा प्रवाह तथा पुँजी परिचालनका लागि ठूलो अवसर सिर्जना गरेको सिबिफिनको बुझाइ छ ।’
त्यसैगरी मूल्यांकनले बैंक/वित्तीय संस्थालाई बाहृय जगत्बाट सहुलियतदरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजार अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन/ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउन सञ्जीवनी बुटीको कार्य गर्ने पनि सिबिफिनले विश्वास लिएको छ ।
नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्रमा परिवर्तनका क्रममा रहेका सन्दर्भमा साख मूल्यांकनका क्रममा देखिएका कमी कमजोरी तत्काल सुधार तथा स्तरोन्नतिसहित मौजुदा नीति तथा वातावरण अझ सहज एवं अनुकूल बनाउन, समग्र निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी केन्द्रका रूपमा स्थापित गर्न र दिगो एवं फराकिलो आर्थिक एवं बैंकिङ विकाससहित आर्थिक समृद्धिको नवीन यात्रा प्रारम्भ गर्न सरकार तथा सरोकारवाला सबै निकायबाट आवश्यक पहलकदमी तत्काल अघि बढाइनेमा पनि अपेक्षा गरेको सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता राजेश उपाध्यायले बताउनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता