
नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारूढ गठबन्धन भारी बहुमतले विजयी भएको छ । २८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजपा) सहितको गठबन्धनले २३५ सिट जितेको छ । यहाँ बहुमतका लागि १४५ सिट आवश्यक थियो । भाजपा मुख्यमन्त्री एकनाथ सिन्देको शिवसेना र अजित पवारको एनसीपीसहितको ‘महायुती’ गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा गरेको थियो । विपक्षी गठबन्धन ‘महा विकास अघाडी (एमभीए)’ ४९ सिटमा विजयी भएकोे छ ।
एमभीएमा कंग्रेससँगै उद्धव ठाकरेको शिवसेना, शरद पवारको एनसीपी (एसपी)लगायत सहभागी छन् । चार सिटमा अन्य दलहरू विजयी भएका छन् । महाराष्ट्रका सबै २८८ विधानसभा सिटका लागि बुधबार (नोभेम्बर २०) मतदान भएको थियो । चुनावी परिणामसँगै महाराष्ट्रमा सत्तारूढ गठबन्धनले निरन्तरता पाउने भएको छ ।
यता, झारखण्डमा भने झारखण्ड मुक्ति मोर्चा (जेएमएम), कंग्रेससहितको गठबन्धन बहुमतले विजयी भएको छ । ८१ सदस्यीय विधानसभामा जेएमएमको गठबन्धनले ५६ सिट जितेको छ । बहुमतका लागि ४१ सिट आवश्यक थियो । भाजपा २४ सिटमा विजयी भएको छ । झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चाले एक सिट जितेको छ ।
झारखण्ड विधानसभा चुनाव दुई चरणमा सम्पन्न भएको हो । झारखण्डमा नोभेम्बर १३ र मा पहिलो चरणमा ४३ सिटका लागि र नोभेम्बर २० मा दोस्रो चरणमा ३८ सिटका लागि चुनाव भएको थियो । झारखण्डको २०१९ को विधानसभा चुनावमा कंग्रेस र जेएमएम सहभागी यूपीए गठबन्धन विजयी भएको थियो । जेएमएमले ३०, भाजपाले २५ र कंग्रेसले २५ सिट हासिल गरेका थिए । महाराष्ट्र र झारखण्डसँगै विभिन्न राज्यमा २ लोकसभा र ४६ विधानसभा सिटका लागि उपनिर्वाचन भएको हो ।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राख्ने तयारी गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक विजय’ भएको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समा एक पोस्टमा प्रधानमन्त्री मोदीले भाजपा नेतृत्वको गठबन्धनलाई मतदान गरेकोमा आभार प्रकट गर्दै महाराष्ट्रको प्रगतिको लागि भाजपा र भाजपा नेतृत्वको गठबन्धनले काम गरिरहने आश्वासन दिनुभएको छ ।
‘विकासको जित, सुशासनको जित हुन्छ । एकताबद्ध भएर हामी अझ माथि उक्लनेछौँ । एनडीएलाई ऐतिहासिक जनादेश दिएकोमा महाराष्ट्रका मेरा दिदीबहिनी र दाजुभाइ र विशेषगरी राज्यका युवा र महिलाहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु’, उहाँले लेख्नुभएको छ । उहाँले थप्नुभएको छ, ‘यो स्नेह र न्यानोपन अतुलनीय छ । म जनतालाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो गठबन्धनले महाराष्ट्रको प्रगतिका लागि काम गरिरहनेछ । जय महाराष्ट्र !’
प्रधानमन्त्री मोदीले विभिन्न राज्यका जनतालाई विभिन्न उपचुनावमा एनडीएका उम्मेदवारलाई आशीर्वाद दिएकोमा पनि धन्यवाद दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच