काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) फेरि एकपटक आमनेसामने भएका छन् । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनको चुनावी प्रचारप्रसारदेखि सुरु भएको एमाले र साहबीचको दुस्मनी अहिले पनि जारी छ । चुनावी प्रचारका क्रममा नेकपा एमालेबाट काठमाडौंको मेयरका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेद्वार उठेका साहमाथि लगाएको संगीन आरोपबाट सुरु भएको दुई पक्षको वाकयुद्ध पछिल्ला दिनमा झन् बढ्दै गएको छ । काठमाडौंका नदी किनारामा रहेका बस्ती हटाउन काठमाडौैं महानगरपालिकाले थालेको अभियानको क्रममा एमाले र साहबीचको द्वन्द्व उत्कर्षमा पुगेको थियो ।
त्यसपछि पनि बेलाबखत नेकपा एमालेका नेताहरू र मेयर साहबीच वाकयुद्ध चलिरहेको छ । एमालेका अन्य नेताभन्दा एक कदम अगाडि सरेर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै बालेन साहविरुद्ध सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आउनुभएको छ ।प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र महानगर प्रमुख बालेन साहबीच सार्वजनिक रूपमै आरोप-प्रत्यारोप चल्ने गरेको छ । केही समययता शान्त जस्तो देखिएको दुई पक्षबीचको आरोप-प्रत्यारोप शुक्रबारदेखि पुनः सुरु भएको छ ।
नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजना गरेको जागरण सभाले प्रदूषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएपछि दुई पक्षबीच पुनः वाकयुद्ध सुरु भएको हो । काठमाडौं महानगरका मेयर बालेन साहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण भएको भन्दै एक लाख रुपैयाँ जरिवाना गराएका हुन् । काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछाको हस्ताक्षरमा एमाले पार्टी कार्यालयका नाममा प्रेषित पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले तपाईँलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००/०० अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
यसअघि, महानगरले गत वर्ष चैतमा राप्रपाले भृकुटीमण्डपमा कार्यक्रम गर्दा फोहोर गरेको र ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै क्षतिपूर्ति र मर्मत खर्चबापत पाँच हजार २२२ रुपैयाँ तिराउने निर्णय गरेको थियो । मेयर साहले एक लाख रुपैयाँ जरिवाना गरेपछि नेकपा एमालेका शीर्ष नेताहरू नै मेयर साहमाथि खनिएका छन् । पार्टीलाई जरिवाना गरेपछि एमालेले संस्थागत रूपमै प्रतिक्रिया दिएको छ ।
एक लाख जरिवानाको कुनै औचित्य छैन : एमाले
नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँको जरिवाना तोक्नुको कुनै औचित्य नभएको बताएको छ । महानगरले हतार हतारमा जरिवानाको पत्र सार्वजनिक गरे पनि त्यसको कुनै औचित्य नभएको जिकिर गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, ‘जनजागरण सभा कार्यक्रम सकिएलगत्तै हाम्रो स्वयंसेवकहरूले सबै व्यवस्थापन भइसकेको छ । हाम्रो तर्फबाट भएको फोहोर सबै सफा गरिसकेका छौँ । हामीले फोहोर हटाइसकेपछि त्यो पत्रको के औचित्य हुन्छ ? त्यो पत्रको कुनै अर्थ छैन । त्यो प्रतिशोधपूर्ण भयो भन्ने हाम्रो बुझाइ छ । अब हेरौँ कसरी अगाडि बढ्छ ।’
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह एमालेविरुद्ध परिचालित रहेको आरोप लगाउनुभएको छ । एमालेको जागरण सभाका कारण दरबारमार्गमा फोहोर भएको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेपछि फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले भन्नुभयो, ‘अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिबेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिबेला स्वयंसेवकहरू कार्यक्रम थलोमै फोहोर संकलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम सँगसँगै जारी नै थियो ।’ जरिवाना गराउने निर्णयलाई मेयर बालेनको स्टण्टबाजी भएको आरोप लगाउँदै महासचिव पोखरेलले भन्नुभएको छ,‘नेकपा एमाले पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टण्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि हो ।’
बालेन साहले एमालेसँग एक लाख भिख मागे : बस्नेत
पूर्व-मन्त्रीसमेत रहनुभएका नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेबाट एक लाख भिख मागेको आरोप लगाउनुभएको छ । काठमाडौं महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तिराउने निर्णय गरेलगत्तै बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेबाट एक लाख भिख मागेको आरोप लगाउनुभएको हो । नेता बस्नेतले बालेनले गरेको सो निर्णयलाई सकारात्मक र नकारात्मक कोणबाट हेर्न सकिने भन्दै लेख्नुभएको छ, ‘बालेनद्वारा पालित पोषित एउटा नगर प्रहरीले एमालेलाई एक लाख जरिवाना तिराउने निर्णय गरेछ । यसलाई दुई यंगलबाट हेर्न सकिन्छ । सकारात्मकः काठमाडौंमा हुने सयौँ जुलुस सभाभन्दा एमालेको सभा अभूतपूर्व भयो जसकारण सफा गर्नको लागि मात्रै पनि बालेनलाई एक लाख भिख माग्न पर्यो । नकारात्मकः बालेनलाई यति धेरै एमाले फोबिया छ कि कुन दिन एउटा दन्ते कथामा ज्योतिषले बाघको आक्रमणबाट मर्छ भनिएको राजकुमार कोठाको कोठै थुनेर राख्दा पनि उक्त बालक उक्त राजकुमार वनको बाघले होइन किताबमा भएको बाघको चित्र हेरेर मृत्युवरण गरेको जस्तै बालेन पनि एमाले हेरेरै एमालेसँग डराएर सकिने अवस्थामा पुगेको छ ।’
एमालेले जस्तै सडकमा मञ्च बनाएर सभा गर्न पाउनुपर्छ : साह
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सडकमा मञ्च बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता फैलाएको आरोप लगाउनुभएको छ । काठमाडौंमा प्रदर्शनका साथै अति व्यस्त दरबारमार्गमा सभा गरेर प्रधानमन्त्री ओलीले अराजकता फैलाएको आरोप लगाउँदै साहले भन्नुभयो, ‘के सडक सभा गर्नका लागि हो ? हाम्रो पार्टीले पनि सडकमा मञ्च बनाएर सभा गर्न किन नपाउने ? यदि तपाईँलाई चल्नै गाह्रो हो भने प्रधानमन्त्रीजी सिंहदरबारमा, बालुवाटारमा बसेर बालकोट जस्तै तमासा देखाउन पाइँदैन । तपाईँ बालकोटमा जानुस्, बार्दलीबाटै तमासा देखाउनुस् ।’
दरबारमार्गको कारोबारमा करोडौँ क्षति भएको दाबी
नेकपा एमालेले शुक्रबार आयोजना गरेको जागरण सभाका कारण दरबारमार्ग क्षेत्रका विभिन्न व्यापार व्यवसायले करोडौँको क्षति व्यहोर्नुपरेको आरोप लागेको छ । दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जीव तुलाधरका अनुसार शुक्रबार त्यहाँ सञ्चालित अति सामान्यदेखि उच्च लगानीका सबै व्यवसाय ठप्पप्रायः हुन पुग्यो । फलतः पाँच करोडभन्दा माथिको व्यापारिक कारोबारमा असर गर्न पुगेको दाबी गर्दै तुलाधरले भन्नुभयो, ‘हामीले एमालेका नेताहरूलाई यहाँ कार्यक्रम नगरिदिनुस् भनेर धेरैचोटि अनुरोध गरेका थियौँ, तर उहाँहरूले मान्दै मान्नुभएन । पार्टीपिच्छेका कार्यक्रमका लागि दरबारमार्ग जस्तो व्यापारिक क्षेत्र ठप्प पार्ने काम प्रधानमन्त्रीज्यूकै पार्टीले गर्नुहुँदैनथ्यो ।’ एमाले सभाकै कारण दरबारमार्गमा अन्य शुक्रबार हुने गरेको व्यापार यो शुक्रबार करिब ७० प्रतिशतले घाटामा गएको व्यापारीहरूको दाबी छ ।
एसपिपी सम्झौता गर्ने, बिआरआई रोक्ने षड्यन्त्र : विप्लव
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्दैन भन्ने बाहेकको अरू कुनै काम नभएको टिप्पणी गर्नुभएको छ । पार्टी पुनर्गठन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले भन्नुभयो, ‘हिजो प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ दिनदिनै यो सरकार ढल्दैन भन्नुहुन्थ्यो । अहिले केपीजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँ पनि अहिले यो सरकार ढल्दैन भनेर भनिराख्नु भएको छ । उहाँको काम नै त्यही मात्रै छ ।’ अहिले एमसिसीपछि एसपिपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको समेत आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘एसपिपी सम्झौता गर्ने षड्यन्त्र गर्ने अनि चीनले अघि सारेको बिआरआई परियोजना चाहिँ ल्याउन दिनुहुँदैन भन्ने, जसरी पनि रोक्नुपर्छ, ऋणको पासो हो भनेर भ्रम छर्ने, अनि विदेशी सेना ल्याउने सम्झौता चाहिँ जसरी पनि पास गर्ने खेल चलिरहेको छ ।’
महासचिव विप्लवले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको समेत बताउनुभएको छ । वडादेखि केन्द्रसम्म नै भ्रष्टाचार बढ्दै गएको जिकिर गर्दै विप्लवले भन्नुभयो, ‘नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको छ । पुराना पार्टी एकले अर्कालाई भ्रष्टाचारीको आरोप लगाएका छन् । म भ्रष्टाचारी होइन । मैले विदेशमा पैसा लुकाएको छैन जस्ता प्रष्टिकरण मात्रै दिएको देखिन्छ । म अन्यायमा परेको मात्रै सुनिन्छ । भ्रष्टाचारको ठूलो आतंक छ । माथिबाट बजेट जान्छ सबै बाँडेर खान्छन् । वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ ।’ उहाँले सत्तारूढ दलका मान्छेहरूले नक्कली खोर देखाएर करोडौँ रुपैयाँ खाइरहेको तर वास्तविक किसानले भने कुनै पनि सुविधा नपाएको समेत टिप्पणी गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता