दयानिधि शर्मा स्मृति ग्रन्थ अहिले मेरा हातमा छ । ‘निष्ठापूर्ण राजनीतिका अथक योद्धा’ भनेर उहाँलाई चिनाउने प्रयास गरिएको छ । यस ग्रन्थका सम्पादकहरूमा करुणानिधि शर्मा, हरि पथिक, तुलसीदास गौतम रहनुभएको छ भने प्रकाशकमा शोभा शर्मा, जानकी कोइराला र अनु शर्मा रहनुभएको छ । यो स्मृति ग्रन्थ २०७९ सालमा प्रकाशित भएको छ । सर्वाधिकार प्रकाशकमा सुरक्षित रहेको यस ग्रन्थको यो पहिलो संस्करण हो । सामान्यतया स्मृति ग्रन्थको अर्को संस्करण आएको त्यति पाइँदैन । १००० प्रति छापिएको छ भने ग्रन्थको आवरण सज्जा श्रीशा उपाध्यायले तयार पार्नुभएको हो । आवरणमा यस ग्रन्थमा विषय बनाइएका दयानिधि शर्माको पृष्ठभरिको फोटो राखिएको छ ।
आवरणको पृष्ठभूमि मधुरोमा नेपालको राष्ट्रिय झण्डासहित कलेजी रंगमा छ, हेर्दा आकर्षक देखिन्छ । यसको भित्रपट्टि पनि उहाँकै तस्वीर छ भने पृष्ठ आवरणका उहाँको उभिएको फोटो र केही चर्चित राजनीतिज्ञहरूका भनाइमा रामहरि शर्मा, मणिराज उपाध्याय, नवराज सुवेदी, ढुण्डिराज शास्त्री, डा.शास्त्रदत्त पन्त, कमलनाथ ज्ञवाली, मदनलाल पौडेल र प्रा.दीन पन्थीका छन् । तल प्रकाशक त्रयको फोटोसहित नाम उल्लेख भएको छ ।
डिएमआई आकारको यस पुस्तकमा तौलरहित पहेँलो कागजको प्रयोग भएको छ । छपाइ राम्रो छ, अशुद्धि धेरै पाइन्छन् । आइडियल प्रिन्टर्स बुटवलमा मुद्रण भएको यस ग्रन्थमा भूमिका खण्डमा आठ, पाठ्य खण्डमा ३६० र फोटो खण्डमा आठ गरी जम्मा ३७६ पृष्ठ छन् । यसको मूल्य व्यक्तिगत ५०० र संस्थागत १००० रुपैयाँ छ ।
राजनीतिमा पछिल्लो समयमा निष्टाको राजनीतिभन्दा पनि सत्ता प्राप्तिको लक्षका साथ गरिने कपटपूर्ण र अपराधकर्मसँग जोडिएर गरिने राजनीतिले प्रश्रय पाइरहेको छ । त्याग र समर्पण भएका शर्मा जस्ता राजनीतिज्ञको संस्मरण गर्ने परिपार्टी हराउँदै गएको छ । यस्तो अवस्थामा यसरी त्यागी र समर्पित व्यक्तिहरूको संस्मरण गर्नु प्रशंसनीय कार्य हो ।
ग्रन्थको भूमिका खण्डमा सम्पादकीय र प्रकाशकीय छन् र त्यसपछि विषयसूची राखिएको छ । पछाडिका केही पानामा केही पुराना दस्ताबेज र विचार बिन्दु दिइएको छ । त्यसभन्दा पछि उहाँसम्बन्धी पारिपवारिक तथा राजनीति संबद्ध फोटो राखिएका छन् । ग्रन्थमा दयानिधि शर्मासम्बन्धी ८० वटा जति लेख रचनाहरू समावेश गरिएको छ । यीमध्ये धेरैजसो लेखरचनाहरूका लेखक राष्ट्रियस्तरका नाम चलेका चर्चित विद्वानहरू हुनुहुन्छ ।
डा.भागवत ढकाल, रामहरि शर्मा, सुन्दरप्रसाद शाह दुःखी, लीलाराज विष्ट, ढुण्डिराज शास्त्री, बालाराम घर्तीमगर, नवराज सुवेदी, सूर्यबहादुर सेन ओली, चक्रबन्धु अर्याल, जगदशीचन्द्र गौतम, शास्त्रदत्त पन्तलगायतका लेख रचना ग्रन्थमा समावेश भएका छन् । देश र जनताका लागि केही गरेका निष्ठावान् राजनीतिज्ञ तथा समाजसेवीको अवसानपछि उहाँहरूको योगदानको कदर गर्दै उहाँलाई सम्झिनु पछाडिका पुस्ताको कर्तव्य पनि हो । दयानिधि शर्मालाई यसरी नै उहाँका आफन्त तथा उत्तराधिकारीका साथै साथीभाइ र इष्टमित्रहरूले सम्झना गरेर यो स्मृतिग्रन्थ प्रकाशन गरिदिनुभएको छ जुन सराहनीय काम भएको छ । यसका लागि संबद्ध सबै धन्यवादका पात्र बन्न पुग्नुभएको छ ।
राजनीतिमा पछिल्लो समयमा निष्टाको राजनीतिभन्दा सत्ता प्राप्तिको लक्षका साथ गरिने कपटपूर्ण र अपराधकर्मसँग जोडिएर गरिने राजनीतिले प्रश्रय पाइरहेको छ । त्याग र समर्पण भएका शर्मा जस्ता राजनीतिज्ञको संस्मरण गर्ने परिपार्टी हराउँदै गएको छ । यस्तो अवस्थामा यसरी त्यागी र समर्पित व्यक्तिहरूको संस्मरण गर्नु प्रशंसनीय कार्य हो । एकजना दयानिधि शर्माको मात्र होइन यस्ता अनगिन्ति त्यागी राजनीतिज्ञहरूको राष्ट्र र संबद्ध पार्टीले सम्मान गरी संस्मरण गर्नुपर्ने हो । त्यस प्रकारको संस्कार विकास हुन नसक्नु विडम्बनापूर्ण छ । सरकारा र पार्टीले नगरे पनि उत्तराधिकारीले भए पनि सम्झाना गर्नु आवश्यक छ । अरूले यसरी नै आफ्ना पूर्वजहरूको सम्झना गर्नसके उहाँहरूको योगदानको कदर भएको मानिन्थ्यो । दयानिधि शर्माको यो स्मृति ग्रन्थ प्रकाशनमा संलग्न रहनुभएका सबैलाई धन्यवाद तथा बधाई छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता