
समसामयिक विषय र सन्दर्भमा कथा लेख्ने रमेशजङ्ग थापा नेपाली साहित्यका परिचित कथाकार हुन् । आफू बाँचेको समाज र समाजमा रहँदाबस्दाका भोगाइलाई कथाको विषय बनाउने कथाकार थापाले कुनै-कुनै कथामा इतिहास र पुराणका पात्र र मिथकलाई पनि विषय बनाएर रोचक कथानक बुनेका छन् । कथालेखनमा सक्रिय थापाका कथाहरू देशका प्रतिष्ठित साहित्यिक पत्रिकाहरू गोरखापत्र, मधुपर्क, युवामञ्च, गरिमा, समकालीन साहित्य आदिमा प्रकाशित हुँदै आएका छन् । बार्हखरी कथा प्रतियोगितामा द्वितीयस्थान हासिल गर्न सफल कथाकार थापाको नवीनतम कथाकृति ‘कामरेडको घोडा’ हालै प्रकाशित भएको छ । यसलाई शिखा बुक्सले प्रकाशित गरेको छ ।
कथाकार थापाका धेरैवटा कथा सामाजिक परिवेशमा लेखिएका छन् । कुनै-कुनै कथा देशको राजनीतिक विषय र विसङ्गतिमाथि पनि लेखिएका छन् । अरू धेरै कथाकारले जस्तै दश वर्षे सशस्त्रयुद्धलाई पनि उनले आफ्ना कथामा फरक ढङ्गले प्रस्तुत गरेका छन् । ‘कामरेडको घोडा’, ‘ह नि रा ज्ञा दा वाद’ आदि सशस्त्रयुद्धको पृष्ठभूमिका लेखिएका उत्कृष्ट कथा हुन् । ‘कामरेडको घोडा’ कथासङ्ग्रहमा २७ वटा लामा-छोटा कथाहरू सङ्गृहीत छन् । आकारले साना कथा पनि विचारले वृहत्खालका छन् । कथाहरूमा विषय विविधता छ ।
समाज, राजनीति, धर्म, दर्शन, संस्कृति, इतिहास र भौतिक विज्ञानलाई समेत कथाको विषय बनाएको पाइन्छ । कथामा कथाकारको वैचारिक पक्ष र कल्पनाशीलताको सुन्दर प्रयोग भएको पाइन्छ । कथा पठनको आनन्द प्रदान गर्दैै सूचना र सन्देश संप्रेषण गर्ने अभिप्राय पनि कथाभित्र लुकेको महसुस हुन्छ । साहित्य पठनको आनन्द प्राप्त गर्न अथवा मनोरञ्जनका लागि मात्रै होइन, समाज परिवर्तनका लागि पनि हो । त्यसैले साहित्यमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा समाज परिवर्तनको अभीष्ट निहितहुन्छ । त्यही अभीष्ट थापाका कथामा पनि छन् ।
सङ्ग्रहको पहिलो कथा ‘उपहार’ मा प्रिय बुबालाई ल्याइदिएको उपहार दिने बेलामा सद्दे नरहेको थाहा पाएपछि छोरीको मनमा उत्पन्न विषादलाई व्यक्त गरिएको छ । ‘मास्कमा खल्ती’ कथामा कोरोना कहरबाट सन्त्रस्त एक बूढा मान्छेको मनोदशा चित्रण गर्दै मरेपछि मान्छेले केही लाँदैन भन्ने सत्यको बोध गराउने अभिप्राय लुकेको महसुस हुन्छ । ‘एक उपेक्षित इतिहास-पात्र’ महाभारतमा एक निकृष्ट रूपमा व्याख्या गरिएका पात्रको पक्षपोषण लेखिएको स्वैर काल्पनिक कथा हो । कोभिडको कहरपूर्ण समयमा १९ दिनसम्म क्वारेन्टिनमा बस्दाका अनभूति लेखिएको दैनिकीमा आधारित कथा हो ‘कोभिड रोजनाम्चा १९’ ।
सङ्ग्रहका कथाहरूले पनि समाजकै कुनै एक पाटो अथवा कुनै एक विषय अथवा कुनै एक पात्रको प्रतिनिधित्व गरेको पाइन्छ । झिनो र मसिनो लाग्ने कथावस्तुमा लेखिएका कथाले पनि समाजको चरित्र र व्यवहारलाई उदाङ्गो पारेको पाइन्छ । समाजलाई ऐना देखाउने काम यो कथा सङ्ग्रहले गरेको छ ।
‘डढेको आकाश’ बाह्रखरी कथा प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल कथा हो । यो कथामा चिनीया सेना फेको ज्यादती खप्न नसकेर र ज्यानको मायाले आफ्नो भूमि तिब्बत छोडेर नेपाल हुँदै भारत पसेर पहाडगञ्जमा बसेको एक परिवारबारे बाबु (पावा) ले छोरा (भिजु) लाई सुनाएको उनको आफ्नो मार्मिक कथा हो । सामान्य कथानकमा बुनिएको रोचक कथा हो ‘छाताको रङ’ । यस कथामा छाताकै कारण विगतलाई सम्झिएको रोचक कथानक छ । सडकमा अनेकथरी मान्छे आउँछन्, बस्छन् र जान्छन् । तिनै अनेक थरी मान्छेका अनेकथरी संवादले भरिएको रोचक कथा हो ‘सडक संवाद’ । ‘एउटा हराएको कथा’ मा साम्यवादी सोभियत संघ पतन भएको र त्यही देशको एउटा नागरिक आन्द्रे हराएको कथा छ ।
कथासङ्ग्रहको शीर्षक कथा हो ‘कामरेडको घोडा’ । यो शीर्षकले पाठकलाई कथाकार बीपी कोइरालाको ‘कर्णेलको घोडा’ कथाको सम्झना गराउनेछ । यद्यपि ‘कर्णेलको घोडा’ यौनकथा हो भने ‘कामरेडको घोडा’ युद्धकथा हो । यो सशस्त्रयुद्धको पृष्ठभूमिमा लेखिएको उत्कृष्ट कथा हो । सशस्त्रयुद्धको माध्यमबाट सत्तामा पुगेर धनयुद्धमा रमाएको एउटा राजनीतिक पार्टीले जनतालाई ऐनमौकामा प्रयोगमात्रै गरेको र आफ्नो बाटो सोझिएपछि साथ दिनै सबै जनतालाई बिर्सिदिएको यथार्थ यो कथामा उतारिएको छ । यो बिम्बात्मक कथा हो । घोडालाई मान्छेको बिम्बको रूपमा प्रयोग गरिएको छ । सशस्त्रयुद्धको बेलामा धेरै घोडाहरू मारिए, तर घाइते अवस्थामा बाँचेका घोडाहरू अहिले पनि शारीरिक, सामाजिक र आर्थिक अनेकथरी समस्या र पीडा सहन विवश भएको यथार्थलाई यो कथाले उजागर गरेको छ ।
एउटा नेपाली युवाको वैज्ञानिक आविस्कारमा अन्तर्राष्ट्रिय सफलता हासिल गरेको प्रेरणादायी कथा हो ‘आवाज’ । ‘को सुखी को दुःखी’ एउटा पारिवारिक कथा हो । यो कथा सुख, दुःख आ-आफ्नो जीवनको भोग हो भन्ने भोगवादी विचारधाराले प्रेरित छ । आवश्यकता र बाध्यताले सिर्जना गरेको यौन धन्दालाई ‘उपचार’ कथामा देखाइएको छ । स्रष्टा र सिर्जनाको अवमूल्यन गर्दा कालान्तरमा अर्थ-सामाजिक समस्याले समाज र देश आक्रान्त हुन्छ भन्ने सन्देशमूलक र रोचक कथा हो ‘छत्रभङ्ग’ । यसैगरी पूर्वीय र पश्चिमी दर्शनको तुलनात्मक अध्ययनमा आधारित कथा हो ‘प्रथम भौतिज्ञ’ ।
यसैगरी सम्पत्तिका लागि आमालाई पनि भाग लगाउने सामाजिक यथार्थप्रति कटाक्ष गरिएको कथा हो ‘समझदारी’ । ‘हाम्रा बा हुन्नन्’ कथामा एउटा असहाय बालकको मनोसामाजिक अवस्थाको मार्मिक चित्रण गरिएको छ । रोबोटलाई मानवीकृत गरी लेखिएको रोचक कथा हो ‘टिउरिङ’ । राजतन्त्रको समयमा राजाको शासनविरुद्ध गतिविधि गर्नेलाई अराष्ट्रिय तत्व अर्थात अ.त.भनिन्थ्यो । तिनै अराष्ट्रिय तत्वको विषयमा लेखिएको कथा हो ‘अ.त.’ । पुरानो विषयवस्तुको कथा भइकन पनि समसामयिक राजनीतिक पृष्ठभूमिमा पनि कथा उत्तिकै सान्दर्भि लाग्दछ ।
सङ्ग्रहका अन्य कथाहरूले पनि समाजकै कुनै एक पाटो अथवा कुनै एक विषय अथवा कुनै एक पात्रको प्रतिनिधित्व गरेको पाइन्छ । झिनो र मसिनो लाग्ने कथावस्तुमा लेखिएका कथाले पनि समाजको चरित्र र व्यवहारलाई उदाङ्गो पारेको पाइन्छ । समाजलाई ऐना देखाउने काम यो कथा सङ्ग्रहले गरेको छ । कथाकार थापाले फरक-फरक विषयवस्तुमा कथानक बुनेका छन् । त्यस्ता कथानकलाई आफ्ना विचार र कल्पनाले सजाएर कथालाई सुन्दर बनाएका छन् ।
यस अर्थमा जुनसुकै विषय र सन्दर्भमा कथा लेख्नसक्ने सामथ्र्य कथाकार थापामा छ भन्ने लाग्दछ । इतिहास, पुराण र महाभारतका मिथकदेखि दर्शन तथा आधुनिक विज्ञान र प्रविधिको विषयमा पनि उत्तिकै सशक्त ढङ्गले कथानक बुन्नसक्ने सामथ्र्यले गर्दा उनको विविध विषयको ज्ञानको दायरा फराकिलो रहेको महसुस हुन्छ । यही ज्ञान र उनको विचारको प्रस्तुतिमा उनको फराकिलो दृष्टिकोण र सुन्दर कल्पनाशीलता सँगसँगै स्वैरकल्पनाको समेत प्रयोगले गर्दा उनका कथाहरू निकैरोचक बनेका छन् । विषय विविधताले गर्दा पाठकले कथा पठनबाट फरक–फरक स्वाद प्राप्त गर्नेछन् र कथा पठनको फरक आनन्द प्राप्त गर्नेछन् । यद्यपि कतै कतै फन्टको समस्याले अङ्ग्रेजी शब्दलाई स्कीप गर्दै पढ्नुपर्ने बाध्यता पनि पाठकले भोग्नुपर्नेछ । आगामी संस्करणमा फन्ट परिवर्तन गर्दा ध्यान दिनुपर्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच