कैलाली । जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुख पदमा काँग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध चयन हुनुभएकाे छ । प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले उम्मेदवारी फिर्ता लिए पछि भुल निर्विरोध चयन हुनुभएकाे हाे ।
नाउपाबाट प्रमुख पदका लागि रुपमती डगौरा थारुले उम्मेदवारी दर्ता गर्नुभएकाे थियाे । तर, नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बलियो बनेपछि नाउपाले प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेको थियो ।
उहाँकाअनुसार कैलालीमा प्रमुख पद जित्न १३ मत आवश्यक पर्ने भए पनि कांग्रेस र एमालेको गठबन्धनले १३ मत सुनिश्चित गरिसकेको छ । कांग्रेससँग ८ र एमालेसँग ५ मत रहेको छ । नाउपासँग ७, माओवादी केन्द्रसँग ३, समाजवादीसँग १ र स्वतन्त्रसँग १ मत रहेको थियो ।
प्रदेश निर्वाचन कार्यालय, कैलालीका निमित्त प्रमुख प्रेम भट्टले उम्मेदवारी फिर्ताका लागि बुधबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोक्नुभएकाे थिए । टीकाकुमारी भुल कैलारी गाउँपालिका-२ बाट दलित महिला सदस्यमा निर्वाचित हुनुभएकाे हाे । यसअघि, २०७९ पुस २३ गते तत्कालीन प्रमुख पदमबहादुर कलेलको निधन भएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन तोकिएको थियो ।






