सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–९ मा सञ्चालित निःशुल्क आँखा शिविरले स्थानीय बासिन्दाहरूको जीवनमा नयाँ ज्योति दिएको छ।
शिविरमा आँखा जाँच गराएका ब्रहम देव चौधरीले पहिले आँखा धमिलो देख्ने समस्या रहेकोमा शल्यक्रियापछि स्पष्ट देख्न थालेको बताउनु भयाे। उहाँले यसअघि दैनिक काम गर्न असहज भएकोमा अहिले सहज भएको पनि बताउनुभयो।
कात्तिक २७ गतेदेखि ईश्वरपुर नगरपालिका, भरतपुर आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर, आरोग्य संगठन सर्लाही, र नेपाल स्काउटको सहकार्यमा सञ्चालन भएको शिविरमा १२३५ जनाको आँखा परीक्षण गरिएको थियो। तीमध्ये २६५ जनामा मोतियाबिन्दु फेला परेर सफल शल्यक्रिया गरिएको छ। साथै, ३२५ जनालाई चस्मा र ८६३ जनालाई औषधि वितरण गरिएको आयोजकहरूले जनाएका छन्।
भरतपुर आँखा अस्पतालका कार्यक्रम संयोजक रमेश धिमिरेका अनुसार तराई–मधेसका क्षेत्रमा पहाडको तुलनामा मोतियाबिन्दुका बिरामी धेरै पाइन्छन्। तराईमा प्रदूषण, परम्परागत चुल्हो, र औद्योगिक प्रभावले यसमा मुख्य भूमिका खेलेको बताइएको छ।
ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्यले विगत तीन वर्षदेखि पालिकाले भरतपुर आँखा अस्पतालसँग सहकार्य गर्दै नियमित आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्षदेखि स्थानीय स्तरमै आँखा उपचारका लागि स्थायी अस्पताल स्थापना गरी दैनिक सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको र मंसिर ११ गते संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने योजना रहेको उहाँले बताउनुभयो।
विशेषज्ञहरूले उमेरसँगै हुने मोतियाबिन्दुबाट बच्न प्रदूषणबाट आँखा जोगाउन आवश्यक रहेको सुझाव दिएका छन्। शिविरले स्थानीय बासिन्दाहरूलाई सरल र सुलभ उपचारमा महत्त्वपूर्ण योगदान पु¥याएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts