
काठमाडौं । नेपाली परेवा पालनको इतिहास कोट्याउँदै जाने हो भने त्यो राणाकालीन अवस्थासम्म पुग्न जान्छ । तर, नेपालमा आधिकारिकरूपमा परेवा पालन गरी खेल हुन थालेको भने २५ वर्ष पुगेको छ । नेपाल परेवा उडान खेल संघले शनिबार धुमधामका साथ आफ्नो २५औँ रजत जयन्ती मनाएको छ । जसका लागि संघले प्रमुख अतिथि पाकिस्तानबाट बोलाएको थियो । कार्यक्रमका प्रमुख अतिथि पाकिस्तानका उस्ताद हाजी महम्मद हुनुहुन्थ्यो । उहाँ पनि परेवा पालक नै हो । उहाँ उस्ताद अकलख खान पार्टीका सिनियर एडभाइजर हुनुहुन्छ ।
परेवालाई शान्तिको प्रतीकका रूपमा लिइँदै आइएको छ भने यसको इमान्दारिताको चर्चा परापूर्वकालदेखि चली नै आएको छ । त्यही भएर परेवालाई कुनै बेला हुलाकीका रूपमा समेत प्रयोग गरिएको इतिहासमा उल्लेख छ ।
नेपाल परेवा संघ, नेपाल परेवा पालक संघ हुँदै नेपाल परेवा उडान खेल संघसम्म आइपुग्दासमेत नेपालमा अझै यो प्रतियोगिता बामे सरिरहेकै अवस्थामा छ । अझै पनि नेपालमा यस किसिमको प्रतियोगिता हुन्छ भन्ने कुरा धेरैलाई ज्ञान छैन । अझै पनि आमसर्वसाधारणले प्रतियोगितामा भाग लिने परेवा र हाम्रा घरवरपर देखिने जंगली परेवाबीचको फरक थाहा पाउन सकेका छैनन् । यसको मुख्य कारण भनेको नेपालमा परेवा पाल्ने व्यक्ति कम हुनु र यसको प्रचारप्रसार कम हुनु हो ।
भारत, पाकिस्तान, श्रीलंका, बहराइन हुँदै नेपालमा पनि २०५७ सालदेखि नेपाल परेवा पालक संघले यसको संरक्षण गर्दै आएकोमा २०६९ सालदेखि राष्ट्रिय खेलकुद परिषद्मा खेलका रूपमा दर्ता भई नेपाल परेवा उडान खेल संघले यसको संरक्षण गर्दै आएको छ ।
देशभर फैलिएका परेवा पालकहरूलाई संगठित गरेर एउटै छाता संगठनमा ल्याउनु यस संघको प्रमुख उद्देश्य रहेको छ । नश्लअनुसार परेवाको इमान्दारिता पनि फरक-फरक हुने भएकाले राम्रोभन्दा राम्रो नश्ल सुधार नै यस संगठनको उद्देश्य हो । यसका लागि यस संगठनले आफ्नो छाता संगठनमा आएका सदस्यहरूबीच परेवा उडाएर प्रतिस्पर्धा पनि गर्दै आएको छ । जसले गर्दा आफ्नो परेवालाई सर्वोत्कृष्ट बनाउने होडमा विभिन्न राष्ट्रहरूबाट उत्कृष्ट नश्लका परेवासमेत नेपाल भित्रिएका छन् । स्थापनाकालदेखि नै यस संघले शान्तिका लागि विभिन्न कार्यक्रमको आयोजना गरे पनि यसको उद्देश्य भनेको मनोरञ्जन नै रहेको छ ।
प्रतियोगिताको नियम :
प्रतियोगिताका लागि उमेरको हदबन्दीमा २० वर्ष पूरा गरेको हुनुपर्दछ भने सहभागीले संघको सदस्यता लिनु जरुरी छ । बिहान ६ देखि साँझ ६ बजेसम्म हुने प्रतियोगितामा सहभागीसँग सातवटा परेवा हुनु जरुरी छ । जसमा उडाइएका दुईवटा परेवा अतिरिक्त परेवाका रूपमा रहनेछन् । परेवा धपाउन प्रतियोगीलाई १० मिनेटको समय दिइन्छ जसमा एक घण्टाभन्दा अगावै परेवा ओर्लेमा त्यस्ता परेवा प्रतियोगिताबाट बाहिरिएको मानिन्छ । मौसमको खराबी वा परेवालाई बाज, जमल जस्ता मांसाहारी चराले आक्रमण गरे प्रतियोगीलाई फेरि परेवा उडाउन दिइनेछ । उडाएका पाँच परेवाको उडान अवधि गणना गरी सबैभन्दा बढी समय उड्ने परेवा पालक विजयी घोषित गरिन्छ । उडेर ओर्लिएका परेवासमेत आफ्नो घरभन्दा अन्यत्र बसे खेलाडी स्वत प्रतियोगिताबाट बाहिरिन्छ । जसले गर्दा यो खेलमा परेवा उडाउने खेलाडीको परिश्रम बढी नै रहने गरेको छ ।
सबैभन्दा बढी समय उड्ने परेवालाई उत्कृष्ट परेवाको उपाधि दिइन्छ भने प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार शिल्ड र प्रमाणपत्रको व्यवस्था गरिएको छ । सुपर सिक्सको हकमा उत्कृष्ट ६ जना प्रतियोगीबीच पुनः प्रतिस्पर्धा हुनेछ भने त्यसैबाट उत्कृष्ट प्रतियोगी छानिनेछ । सुपर सिक्समा राखिएको केयर रनिङ शिल्ड प्रतियोगीले आफूसँग राख्न तीन वर्ष प्रतियोगिता जित्नु आवश्यक छ । उक्त शिल्डको प्रायोजन संघका सदस्य गोरख शमशेर जबराले गर्नुभएको छ ।
सुगतले उचाले परेवाको उपाधि
हरेक वर्ष यस संघले आयोजना गर्दै आएको प्रतियोगितामा यो वर्ष काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, बर्दिबास र बुटवल गरी ८४ जना परेवा पालकहरू सहभागी हुनुभएको छ । जसमा काठमाडौं किलागलका सुगत मानन्धर प्रथम हुनुभएको छ । उहाँको परेवा कुल ३८ घण्टा ३० मिनेट उडेको थियो । उहाँले नगद ५० हजार प्राप्त गर्नुभयो । यस्तै काठमाडौं पकनाजोलका कविन श्रेष्ठ द्वितीय हुनुभयो । उहाँको परेवा ३४ घण्टा ८ मिनेट उडेको थियो । उहाँले २५ हजार नगद प्राप्त गर्नुभयो । यस्तै भक्तपुर ठिमीका वीरेन्द्र श्रेष्ठ तेस्रो हुनुभयो । उहाँको परेवा ३२ घण्टा २३ मिनेट उडेको थियो । उहाँले नगद १५ हजार प्राप्त गर्नुभयो । यस्तै, बर्दिबासका हरिश भुजू चौथो हुनुभएको छ । उहाँको परेवा २० घण्टा ५१ मिनेट उडेको थियो । उहाँले नगद १० हजार प्राप्त गर्नुभयो । यस्तै भक्तपुर बोडेका तुलसी साहुखल पाँचौँ हुनुभयो । उहाँको परेवा नौ घण्टा १० मिनेट उडेको थियो । उहाँले नगद आठ हजार प्राप्त गर्नुभयो । यस्तै छैटौँ स्थानको उपाधि आलापोटका सुमन फुयालले जित्नुभएको छ । उहाँको परेवा ६ घण्टा २४ मिनेट उडेको थियो । उहाँले नगद पाँच हजार प्राप्त गर्नुभयो । विजेता खेलाडीहरूलाई नगदसहित प्रमाणपत्र, शिल्ड पनि वितरण गरिएको थियो । प्रतियोगिसँगै निर्णयकहरूलाई पनि कार्यक्रममा नगदसहित प्रमाणपत्र, शिल्ड वितरण गरिएको थियो ।
दिनेशको परेवा उत्कृष्ट
यस्तै संघले प्रदान गर्दै आइरहेको उत्कृष्ट परेवाको उपाधि दिनेश श्रेष्ठले प्राप्त गर्नुभएको छ । उहाँले स्वर्गीय विष्णुभक्त श्रेष्ठ उत्कृष्ट रनिङ शिल्डको उपाधि जित्नुभएको हो । उहाँको रातो आँखा चिनी जातको परेवा कुल ११ घण्टा १८ मिनेट उडेको थियो । उहाँले नगद १० हजार प्राप्त गर्नुभयो भने परेवालाई चाँदीको कल्ली लगाएर सम्मान गरिएको थियो । यस्तै विजेता श्रेष्ठले डा. नृपेशराज भण्डारीले आफ्नो स्वर्गीय दाजु प्रिनेशराज भण्डारीको नाममा राखिएको १० हजार पुरस्कारको राशि पनि प्राप्त गर्नुभएको छ ।
गिर्वाणविक्रम शाहले सभापतित्व गर्नुभएको कार्यक्रममा विशेष अतिथि राष्ट्रिय खेलकुद परिषद्का पूर्वप्रशासकीय प्रमुख तथा नेपाल सुटिङ संघका उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ र नेपाल पंक्षी संरक्षक संघका अध्यक्ष करणबहादुर शाह हुनुहुन्थ्यो । यस्तै अतिथिहरूमा संघका पूर्व अध्यक्ष कृष्णसुन्दर प्रजापति, पूर्व अध्यक्ष नारायणबहादुर श्रेष्ठ, संघका सल्लाहकार गोरख शम्शेर जबरा, पूर्व महासचिव जितेन्द्र राज बज्राचार्यलगायतको उपस्थिति रहेको थियो । हाल संघका अध्यक्ष दिपंकर प्रधान हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच