ऐतिहासिक बेनीबजारको व्यावसायिक जग भत्किदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

बेनीको बजार
जता माया उतै छ नजर
किरेमिरे जालेरुमाल....................

म्याग्दी । चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने मल्लकालीन विरासतको ऐतिहासिक स्थल बेनीबजारको व्यावसायिक जग भत्किदै जान थालेको छ ।

म्याग्दीको सदरमुकाम समेत रहेको बेनी बजारमा व्यापारको सुरुवात तामा, फलाम र धातुको व्यापारबाट भएको थियो । तर, अहिले बेनीबजारमा आधुनिकताको प्रभावका कारण खानीजन्य वस्तुको व्यापार व्यावसाय न्यून रहेको स्थानीय व्यापारिहरुले बताएका छन् ।

तत्कालिन पर्वत राज्यको मुकाम समेत रहेको बेनीबजारमा व्यापारको सुरुवात पाँच सयवर्ष अघि स्थानीय कामी समुदायका व्यक्तिहरुले तामा, फलाम र धातुको व्यापारबाट गरेका लेखक तथा इतिहासकार चन्द्रप्रकाश बानियाँको भनाइ रहेको छ । बाइसे-चौबिसे राजाका पाला सबैभन्दा पहिले मुद्राको सुरुआत पर्वत राज्यबाट भएको इतिहास छ। बेनीमा टक्सार (मुद्रा काट्ने यन्त्र) राखेर मुद्राको प्रचलन सुरु गरिएको इतिहासकार बानियाँको भनाइ छ ।

अरू बजार नेवार समुदायले सुरुआत गरेको इतिहास रहे पनि बेनी बजारमा व्यापारको जग कामी समुदायका व्यक्तिले राखेको पाइन्छ ।

विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालीन समयमा भोट तिब्बत र मधेशको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ। बेनी बजार प्राकृतिकरुपले सुन्दर छ। म्याग्दीको प्रवेशद्वारका रुपमा बेनी बजार रहेको छ।

ADVERTISEMENT

इतिहासकार बानियाँका अनुसार अहिलेको म्याग्दीमा पर्ने बेनीबजार सुरुमा बगर थियो । ‘पर्वत बेनीमा पर्ने कालीगण्डकीका तीरबाट व्यापार सुरु भएको हो । पर्वत राज्यमा उब्जाउ हुने जमिन थिएन, आयस्रोत भनेकै व्यापार देखेर राजाले व्यापार गर्न लगाएको पाइन्छ’, बानियाँले आफ्ना कृतिमा लेख्नुभएको छ ।

उहाँका अनुसार पर्वत राज्यका सातौँ राजा मलेबम मल्लले पहिले बेनीबजारभन्दा केही टाढामाथि रहेको दरबार बेनीमा सारे । उनको राजकाज त्यहींँबाट हुन थाल्यो र कर उठाउन थाले । त्यसपछि बेनीको व्यापार थप बढेको थियो ।

करिब पाँच सय वर्षको इतिहास रहेको बेनीबजारले अहिलेसम्म पनि आफ्नो साख जोगाइरहेको छ । राज्यको पुनःसंरचना भएपछि पालिका मुकाम बनेका छन् तर बेनी बजार भने यी सबै परिवर्तनसँग अनुकूलित हुने गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका भूतपूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ बताउनुहुन्छ । विसं २०१७ मा म्याग्दी वेणी र पर्वत वेणीलाई जोड्ने गरी म्याग्दी खोलामा पुल बनेपछि बेनी बजारको व्यापारले गति लिएको श्रेष्ठको भनाइ छ।

अहिले पनि बेनी बजारको व्यापारमा कुनै कमी आएको छैन । गाउँगाउँमा बजार विस्तार भए पनि ‘ट्रान्जिट प्वाइन्ट’ भएको हुँदा बेनीबजार सदाबहार नै छ । मुस्ताङको स्याउ र च्याङ्ग्राको मुख्य बजार बेनी हो भने म्याग्दी र मुस्ताङको खाद्यान्न पनि बेनीबाट नै वितरित हुने गर्छ ।तर बेनीबजारमा अन्य व्यवसाय फस्टाउँदै गएको भए पनि धातुजन्य वस्तुको व्यवसाय भने खस्किदो अवस्थामा रहेको स्थानीय जेष्ठ नागरिकहरुले बताएका छन् ।

पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती विश्वकर्माको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । “गोरखाले बेनी कब्जा मात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।” आफ्ना कृतिहरुमा बानियाँले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारीबेनी थियो । बागलुङ मुस्ताङतिरको थोक बजार पारीबेनी नै थियो ।
नदी किनारबाट मानवीय सभ्यता र बाटाका छेउबाट व्यापारको सुरुआत भएको मानिन्छ। बेनी-जोमसोम सडकको पुरानो अवस्थालाई अध्ययन गर्ने हो भने कालीगण्डकीका छेउछाउबाट नै थकाली र मगर संस्कृति मौलाएको पाइने बेनी बजारका जेष्ठ नागरिक नैनकुमार श्रेष्ठले बताउनुभयो ।

संघीयताको आधार मानिएको विकेन्द्रीकरणको नीतिले गाउँ बजारसंँग जोडिए पनि तिनको मौलिकता र पुर्ख्यौली पहिचान हराएकामा बुढापाकाले चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?