✍️ विमल भौकाजी
नेपाली हास्यव्यङ्ग्यको सन्दर्भ आउनासाथ केवल भैरव अर्यालको नाम लिने परम्परा नेपाली साहित्यमा स्थापित भइसकेको छ । लाग्छ, उनीभन्दा पछि वा उनको बराबरीमा हास्यव्यङ्ग्य लेख्ने लेखक यो क्षेत्रमा जन्मेकै छैनन् । अर्कोतर्फ, ‘जोकर-लेखक/कलाकारहरू’ले आधिपत्य जमाएरका कारण हास्यव्यङ्ग्यका खँदिला हास्यव्यङ्ग्यकार छायाँमा परिरहेको यथार्थ हाम्रो सामु छ ।
त्यसो त, हाँस्नुपर्ने अवस्था कहीँ-कतै बाँकी नरहेको स्थिति र व्यङ्ग्य गर्दा व्यङ्ग्य गरिएको विषय-क्षेत्रलाई पटक्कै प्रभाव नपर्ने अवस्थामा साहित्यिक विधाअन्तर्गत हास्यव्यङ्ग्यमा कलम चलाउनु चानचुने कुरो होइन । यसै क्रममा, विशेषतः बालसाहित्यमा गतिलो स्थान जमाइसकेकी लघुकथाकार ललिता ‘दोषी’ले एउटा हिम्मतिलो कदम चालेकी छिन्-‘दधीचि काठमाडौँ’ नामक हास्यव्यङ्ग्य पुस्तक प्रकाशन गरेर ।
आफ्नो राष्ट्रप्रति अत्यन्तै संवेदनशील छिन् कवयित्री । प्रायः कविताहरूले यो तथ्यको पुष्टि गर्छन् । मूलतः देशको राजनीतिप्रति रुष्ट छिन् उनी । राजनीज्ञहरूको राजनीतिले देशप्रति गरेका घात र गद्दारीको खुलेरै विरोध बोलेकी छिन् । उनी भन्छिन्- ‘मेरै छाती कुल्चेका छौ, मलाई रोप्छौ छुरा... ।’
हास्यव्यङ्ग्य विधामा न्युन लेखकहरू रहेका सन्दर्भमा, त्यो पनि लैङ्गिक दृष्टिकोणले अभाव देखिएको नारी–लेखकका तर्फबाट यसरी हास्यव्यङ्ग्यको पुस्तक प्रकाशन हुनु नेपाली साहित्यका लागि गर्वको विषय त हुँदै हो, त्यसभन्दा पनि अझ महत्वपूर्ण कुरो के हो भने ती हास्यव्यङ्ग्यहरूलाई उनले कविताको शैलीगत रूप दिएकी छिन् ।
हुन त, पुस्तकलाई हास्यव्यङ्ग्य कवितासङ्ग्रह भनिए पनि अधिकांश अनुस्टुप छन्दका ३७ वटा शीर्षकमा विभाजित सम्पूर्ण कविताहरूमा हास्यको मात्रा अत्यन्तै कम र व्यङ्ग्य बढी छ । वास्तवमा भन्ने नै हो भने व्यङ्ग्य भनेको गम्भीर विषय हो, त्यस्तो गम्भीर विषयमा हास्य मिसाइयो भने त्यो विषयको गहनतामा अन्धकारतर्फ धकेलिन पुग्छ । मेरो मान्यतामा, व्यङ्ग्यलाई व्यङ्ग्यात्मक रूपबाटै प्रस्तुत गरिनुपर्छ । यस अर्थमा, नहँसाइकनै व्यङ्ग्य गर्न सकिने प्रस्तुतीकरण यी कविताहरूमा पाइनु ललिता दोषीको कलमको सफलता हो ।
‘विश्वकै शान्त मेरो देशमा
प्रत्येक पल कचिङ्गल मच्चिए झैँ लाग्छ
फोहरै फोहरको डङ्गुरले
मेरो देशको अस्तित्व हराए झैँ लाग्छ
मलाई मात्र यस्तो लाग्छ कि
तिमीलाई पनि लाग्छ ?...’
आफ्नो राष्ट्रप्रति अत्यन्तै संवेदनशील छिन् कवयित्री । प्रायः कविताहरूले यो तथ्यको पुष्टि गर्छन् । मूलतः देशको राजनीतिप्रति रुष्ट छिन् उनी । राजनीज्ञहरूको राजनीतिले देशप्रति गरेका घात र गद्दारीको खुलेरै विरोध बोलेकी छिन् । भन्छिन्–मेरै छाती कुल्चेका छौ, मलाई रोप्छौ छुरा... । एक ठाउँमा, सिङ्गो राष्ट्रलाई नै पेवा सम्झनेहरूप्रति प्रश्न उठाउँछिन्- हाम्रो मुटु रेटेर कहिले माथि उठ्छ राष्ट्र ?
अर्को तर्फ, युवाहरूले मातृभूमि छोडेर विदेशमा पलायन भएको देखेर भावविहृवल भएकी छिन् उनी । खासमा, युवालाई विदेश पठाउन प्रोत्साहित गर्ने दलालहरूलाई इङ्गित गर्दै भावुक भावमा सोध्छिन्- तिमी आफैँले खोक्रो बनाउँदै गएको देश देख्दा तिम्रो मन कुँडिँदैन ?
अलिक बढी बिम्ब-प्रतीकहरू खोज्ने कविता पारखीहरूका निम्ति यी कविताहरू निकै सरल लाग्छन् । त्यतिमात्रै होइन, कवितामा दुरुह शब्दहरूको प्रयोग गरेर बौद्धिक कहलाइन खोज्ने कथित कविहरूका दृष्टिमा यी कविताहरूलाई हल्का रूपका लिइन सक्छ । स्वयम् कविले ‘आफ्नो भनाइ’मा लेखेकी छन्- ‘आफूले देखे-सुनेका घटनाहरूलाई मैले टिप्न खोजेकी छु...’ उनलाई यसरी बुझ्न सकिन्छ-कवितामा लेखिएका विषयहरूमा कुनै बनिबनावट शब्दहरू प्रयोग नगरी घुमाइफिराइको घेराबन्दीबाट अलग्गै रहेर, उनले भन्नुपर्ने कुराहरू सिधै भनेकी छिन् । उसो त, ‘देश हाँक्छन् दुई कौडीले’, ‘सराप्ला चिताले’, ‘जीर्ण भएँ आमा’लगायत शीर्षकहरूले नै पनि यो भनाइलाई पुष्टि गर्छन् ।
सामाजिक विभेदप्रतिको प्रखर चेतना यी कविताहरूमा पाइनु यिनको मूल विशेषता हो । मूलतः लेखक हुनुको हैसितले साहित्यको विसङ्गत पक्षप्रति पनि उनका आँखाहरू पुग्नु स्वाभाविक हो । आज लेखिने गरेका कविताप्रति लक्षित गर्दै– जे लेखे पनि त्यसलाई कविता भन्नेहरूलाई उनी ‘उच्च मान्छे’को संज्ञा दिन्छिन् ।
सङ्ग्रहभित्रका कतिपय कविताहरूले सामाजिक विसङ्गतिहरूमाथि पनि विषय रोजेका छन् । बाँचुञ्जेल कुनै वास्ता गरिँदैन, उल्टो घोचपेच-व्यङ्ग्य गरिन्छ तर मरेपछि उसैको तस्वीरले चिनाइन्छ र त्यही तस्वीरलाई पुजिन्छ । घर-घरको कथा बताउँछन् उनी- भोक लाग्दा राम्रोसँग खान दिइन्न, बिरामी हुँदा उचित उपचार गरिन्न, जाडोमा न्यानो कपडा लगाउन दिइन्न तर मृत्युपछि भने भव्य श्राद्ध गरिन्छ, दुनियाँलाई भोजभत्तेर खुवाइन्छ । गजब छ यहाँको चलन ! औँसीमा जून खोजिन्छ ।... यसरी, सहज पाराले सामाजिक विषयमाथि व्यङ्ग्यवाण हान्ने कौशल देखाएकी कवयित्री त्यहीँनिर भोका-रोगी र गरीबहरूका आँसुलाई देख्यानदेख्यै गरेर आफू मस्तीमा रमाउनेहरूले छाड्दै गएको मानवीयताप्रति छर्लङ्ग तस्वीर खिच्छिन् । जस्तो कि एउटा कवितामा, एक घरको पात्र अर्को पात्रलाई भन्छन्-मर्नेहरू मर्दै गरून्, रोगले मरून् कि भोकले मरून्, अथवा बाढी-पहिरोले मरून्; आफू मज्जाले मासु, पुलाउ, रक्सीमा रमाउने हो ।
त्यस्तै अर्को कवितामा, विभिन्न चाडपर्वहरूमा देखिएको विकृतिप्रति व्यङ्ग्य कस्छन् उनी-
‘के नै ठूलो काण्ड गरेँ
हाफपाइन्टमा नाच्या हो
तीजकै गीतमा हजुर
मेरै कम्बर भाँच्या हो...’
समष्टिमा, सामाजिक विभेदप्रतिको प्रखर चेतना यी कविताहरूमा पाइनु यिनको मूल विशेषता हो । मूलतः लेखक हुनुको हैसितले साहित्यको विसङ्गत पक्षप्रति पनि उनका आँखाहरू पुग्नु स्वाभाविक हो । आज लेखिने गरेका पुङ न पुच्छरका कथित कविताप्रति लक्षित गर्दै–जे लेखे पनि त्यसलाई कविता भन्नेहरूलाई व्यङ्ग्यात्मक तरिकाले उनी ‘उच्च मान्छे’को संज्ञा दिन्छिन् । कलम चलाउनु मात्रै पर्छ त्यो कलमबाजले बुझ्दै नबुझ्ने किसिमका कविताहरू लेखे पनि ‘सूर्य’ दाहिना भएपछि ती नै पुरस्कृत हुने परम्परा बसिसकेकोप्रति कवयित्री सभ्य आक्रोश पोख्छिन् ।
यसप्रकार, आजको फैलिँदै गएको पारिवारिक बेमेल, सामाजिक विखण्डन, राजनीतिक खिचातानीले सामान्यतः कवि-हृदय तुलनात्मक रूपमा अलिक बढी संवेदनशील हुनु अस्वाभाविक होइन । ससाना विषयले पनि उसलाई छुन्छ । कवयित्री ललितालाई पनि छोएको छ । यसैबीच, आफू जन्मेको-हुर्केको माटोमाथि उभिएर बढ्दो शहरीकरणमाथि सटीक टिप्पणी गर्छिन्-
‘सुन्दर थिए, शान्त थिए बग्थे कलकल
च्याउजस्तै उम्रिएका थिएनन् है घर
लहलह धान झुल्थे तोरी फुल्थे त्यस्तै
सबै–सबै भन्ने गर्थे स्वर्ग होला त्यस्तै ।...’
आकर्षक आवरणका साथ प्रकाशित भएको ‘दधीचि काठमाडौँ’ (कवितासङ्ग्रह) ले नेपाली साहित्यको व्यङ्ग्यात्मक कविता विधामा एउटा विशिष्ट स्थान ओगट्न सक्नेमा विश्वस्त हुन सकिन्छ । पुस्तकमै मैले प्रस्तुत गरेको आफ्नो धारणालाई यहाँ पनि दोहोर्याउँछु- ‘आफ्नो समाजको परिवेशबाट ललिताका मुटु र आँखा कसरी अलग रहन सक्छन् र ? व्यङ्ग्यात्मक तवरले कविताको माध्यमबाट व्यक्त भएका यी ललिता–अक्षरको दृष्टिकोणले नेपाली साहित्यको व्यङ्ग्यविधालाई उचाइमा पुर्याएको छ ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा