दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै सहकारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

चितवन । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले किसानबाट सङ्कलन गरेको दूध प्रशोधन र बजारीकरण गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयसम्म बजारीकरणको समस्या दूध बिक्रीबापत भुक्तानी दिन नसकेपछि सहकारीले सङ्कलित दूध प्रशोधन र बजारीकरणको योजना बनाएको हो ।

जिल्लाका एक सय १५ सहकारीमा दूध सङ्कलन हुने गर्दछ । ती दूध चितवन र बाहिरी जिल्लामा बिक्री हुँदै आएको छ । बिक्री भएको दूधको भुक्तानी लामो समयसम्म नपाउँदा किसान प्रभावित भएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या आएपछि सङ्घले प्रशोधन र बजारीकरण गर्ने तयारी गरेको बताउनुभयो । उहाँका अनुसार सङ्घले साधारणसभाबाट उक्त निर्णय गरेर काम अघि बढाएको हो ।

बागमती प्रदेश सरकारको सहयोगमा भरतपुरमा चिस्यान केन्द्र बनाउने तयारी गरिएको छ । दुग्ध विकास संस्थानका जिल्लामा रहेका सात चिस्यान केन्द्रबाट दूध सङ्कलन गरी प्रशोधन र बजारीकरण गर्ने तयारी गरिएको बगालेले बताउनुभयो । कृषि मन्त्रालयसँग यस विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

दूध प्रशोधन गरेर पाउडरदूध, पनिर, घिउलगायत दुग्धजन्य पदार्थ सहकारीमार्फत बजारमा लैजाने तयारी सङ्घको छ । सङ्घले यसअघि दाना उत्पादन गरेर सहकारीमार्फत कृषकलाई बिक्री गर्दै आएको छ ।

ADVERTISEMENT

अध्यक्ष बगालेले भन्नुभयो, “दुई-तीन महिनाभित्रमा हामी चक्लेट उत्पादन गर्दछौँ, अरु काम क्रमशः हुँदै जान्छ ।” उहाँका अनुसार जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । जसमध्ये एक लाख ५१ हजार सहकारीमार्फत बजारमा जाने गर्दछ । दुग्ध विकास संस्थानसहित २० भन्दा बढी निजी संस्थामा दूध जाने गरेको उहाँले बताउनुभयो ।

यहाँ सङ्कलन भएको दूध काठमाडौँ, पोखरा, मकवानपुर, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुरलगायत जिल्लामा सञ्चालित निजी डेरीले लैजाने गर्दछन् । जिल्लाका सहकारीको किसानलाई रु ८० करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ । दुग्ध विकास संस्थानको मात्रै रु ३२ करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ भने अरु निजी डेरीको हो । कतिपयको जेठ यताको भुक्तानी बाँकी रहेको भन्दै केही डेरीले नियमित भुक्तानी गरे पनि धेरैको भुक्तानी लामो समयसम्म अड्किँदा किसान प्रभावित बनेका बगालेले उल्लेख गर्नुभयो ।

कतिपय निजी डेरी सञ्चलकले जिल्ला बाहिर चिस्यान केन्द्र सञ्चालन गरी भारतबाट दूध ल्याएर संस्थानलाई दूध गर्नुका साथै गुणस्तरहिन दूधको बजारीकरण गर्दा स्थानीयस्तरमा उत्पादित दूध बिक्रीमा समस्या भएको सहकारी सङ्घका अध्यक्ष बगालेले बताउनुभयो । स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी किसानका समस्या समाधान गर्न सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरणको योजना बनाइएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?