सर्लाही । दिदीबहिनी द्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरि खेलिने सामा चकेवा विस्तारै लोप हुँदै गइरहेको छ। खरनाको दिनदेखि सुरु हुने सामा चकेवा पूर्णिमाको दिनसम्म चल्ने गर्छ।
सर्लाही लगायत तराई मधेसका विभिन्न जिल्लामा खेलिने सामा चकेवामा दिदीबहिनीहरु १० दिनसम्म भाइ बहिनीबीचको प्रेमलाई गीतको माध्यमबाट दर्शाउने गरेका छन् । यो पर्व छोरीचेली र माईती पक्षको बीच रहेको अटुट श्रद्धा एवं प्रेमको प्रतीकको रुपमा लिइन्छ ।
सामा चकेवा पञ्चमीदेखि सुरु भई दश दिनपछि पुर्णणिमाका दिन राति यसलाई जलाशयमा विसर्जन गरी पर्वको समापन हुन्छ। १० दिनसम्म चल्ने यो पर्व ११औँ दिन पूर्णिमामा विसर्जन गरिन्छ । ११औँ दिन माटोको प्रतीकहरूलाई भाइको हातबाट फुटाउन लगाइ खेत वा वनमा विसर्जन गरिन्छ । भाइको उमेर लामो होस् र उसलाई कुनै रोग व्याधि नलागोस् भन्ने कामनाका साथ सामा चकेवा पर्व मनाइन्छ ।
दिदीबहिनीहरु माटोबाट बनाइएका सामा, चकेवा, चुँगला,सतभइया,वृन्दावन आदिको प्रतिमाहरु रातो रंगको बाँसको डालोमा राखी साँझको बेला सार्वजनिक स्थानमा भेला भई टोल छिमेकका अरु महिला दिदिबहिनीहरुको साथमा सामुहिक रुपमा गीत गाउने गर्छन् । सामा चकेवा पर्वको विशेष पात्र चुगलाको मुखमा १० दिनसम्म कालो पोतेर जुँगा डढाउने गरिन्छ ।
चुँगला अर्थात् कुरा लगाउने पात्र हो ।सामा चकेवा सर्लाहीसहित महोत्तरी, रौतहट ,धनुषा,सिराहा, सप्तरी,बारा,पर्सा लगायत छिमेकी भारतको बिहार राज्यमा पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ।खासगरी तराई मधेसका महिलाहरू यस लोकपर्वमा सहभागी हुने गदर्छन् । दश दिनसम्म चल्ने सामा चकेवा दिदीबहिनी तथा छोरीबुहारीले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामनाका गर्दै खेल्ने गर्छन।
पहिलो दिन बिहान महिलाहरु समूह बनाएर गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याई सो माटोबाट विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएर त्यसमा विभिन्न प्रकारका रङ्गहरु भरि राति रातो रङ्गको बाँसको डालामा राखेर गाउँको प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, स्कुल, धर्मशाला, मठ मन्दिर र छठघाटमा लगेर लगातार दश दिनसम्म नाचगान गर्दै सामा चकेवा खेल्ने गर्छन।
दश दिनसम्म लगातार सामा–चकेवा खेलिसके पछि एघारौ दिनमा बिहान पुनः सामा चकेवा बनाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाई सोही सामा चकेवा दाजुभाइको हातबाट फुटाउन लगाएर फार भर्ने गर्छन।दाजुभाईको हातबाट फुटाउन लगाएको सामा चकेवा बाजागाजाका साथ गाउँको वनमा लगेर नयाँ जोतिएको खेतमा विसर्जन गरिसके पछि यो पर्वको विधिवत सम्पन्न हुन्छ ।
सामा चकेवा खेल्नाले दाजुभाइको आयु लामो हुने र सम्बन्ध समेत प्रगाढ हुने जनविश्वास रहेको छ।यस पर्वको बारेमा विभिन्न धार्मिक ग्रन्थहरूमा चर्चा गरिएको छ । सामा चकेवा पर्वको सुरुवात द्वापर युगमा श्रीकृष्णको पालामा भएको विश्वास गरिन्छ । भगवान् श्रीकृष्णको छोरी साम्बा र छोरा साम्ब बीचको प्रेमलाई आधार मानेर सामा चकेवा पर्व मनाइने गरेको उल्लेख छ ।
कृष्णकी छोरी साम्बालाई चुडक भन्ने व्यक्तिले मनपराएका थिए । तर, साम्बाको विवाह चारुवाकसँग भइसकेको थियो । आफूले मन पराएको व्यक्तिको अर्कैसँग विवाह भएकोमा प्रतिशोध लिन चुडकले कृष्णको सामु उसको छोरीको चरित्र ठीक नभएको भन्दै कुरा लगाए ।
कृष्णले पनि सत्यतथ्य नबुझी रिसको झोँकमा छोरीलाई पक्षी बन्ने श्राप दिए ।पछि ज्वाइँ चारुवाकले कृष्णलाई भेटेर आफ्नी पत्नी निर्दोेष र स्वच्छ छवीकी भएकी बताए र उनी बिना बाँच्न नसक्ने बताए । उनले आफूलाई पनि पक्षी नै बनाई दिन आग्रह गर्दा कृष्णले उनलाई पनि पक्षी नै बनाइदिएको किंवदन्ती छ ।
लोक साँस्कृतिकको यो पर्व मध्य तराईको सर्लाही जिल्लासहित महोत्तरी, धनुषा, रौतहट , सिरहा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा पनि लोकप्रिय रहेको छ । मिथिलाञ्चलमा छठपर्वको खरनाको दिनदेखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यो पर्वका लागि पनि दिदीबहिनीले तयारी गर्ने गर्दछन् ।
पछिल्लो समय हाम्रो समाज आधुनिकता तर्फ बढी रहेकोले गाउँ गाउँबाट सामा चकेवा खेल्ने चलन विस्तारै हराउँदै गइरहेको छ । मिथिलाको पहिचान तथा संस्कृति झल्काउने यस पर्वको जगेर्ना गर्नु नितान्त आवश्यक रहेको छ ।







