सहकारीमा देखिएका समस्या समाधानमा सरकार प्रतिवद्ध भएर लागेको छ : मन्त्री अधिकारी

‘सहकारीमा गलत काम गर्ने कसैलाई छोड्दैनौ’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्या समाधानमा वर्तमान सरकार प्रतिवद्ध भएर लागेको बताउनु भएको छ । बुधबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सहकारीमा देखिएका समस्याहरुलाई सुक्ष्म ढंगले अध्ययन गरी समाधान गर्ने दिशामा सरकार अगाडि बढेको बताउनुभएको हो ।

उहाँले सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि न्यायधीकरण गठन गर्न लागिएको बताउनुभयो । तीनै तहका सहकारीको नियमनका लागि नियामक निकाय स्थापनासम्बन्धी कानुनको मस्यौदा तयार गरी सरोकारवालाको राय सुझाव लिने काम अघि बढेकोले सहकारी नियमन गर्ने निकाय छिट्टै गठन गरिने मन्त्री अधिकारीले धारणा व्यक्त गर्नुभयो ।

उहाँले भूमि समस्या समाधानका लागि सरकारले सहमति अनुसार भूमि आयोग गठन गर्ने तयारी गरेको समेत जानकारी गराउनुभयो । मन्त्री अधिकारीले भूमि समस्याप्रति वर्तमान सरकार जानकार रहेको र यसका लागि छिट्टै सहमति गरेर आयोग गठन गर्ने उल्लेख गर्नुभयो । उहाँले केन्द्रीय आयोग बनिसकेको र ७७ वटै जिल्लामा समेत तत्काल गठन हुने बताउनुभयो । अहिले संसदका दुई दलहरू कांग्रेस र एमालेले सहमतिको सरकार बनाएको र आयोगलगायतका संरचनाहरूसमेत सहमतिमै बनाइने मन्त्री अधिकारीको भनाई छ ।

ADVERTISEMENT

सहकारी क्षेत्रमा अहिले भएका समस्या समाधान हुनेदेखि सहकारीलाई अर्थतन्त्रको एउटा बलियो खम्बाको रुपमा स्थापित गराउन सहकारी ऐन संशोधनको सुरुवात भइसकेको समेत उहाँले बताउनुभयो । सहकारीमा विश्वासको वातावरण बनाइ सहकारीका ऋणीलाई ऋण तिर्ने वातावरण सिर्जना गर्ने र कर्जा असुलीमा अटेर गर्ने सदस्यहरूलाई कानुनको दायरामा ल्याउन, सहकारी एकीकरणलाई प्रोत्साहन गर्न, सहकारी समस्याको दिगो समाधानका लागि सरकारले प्राथमिकताका साथ कार्य गरिरहेको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । मन्त्री अधिकारीले केही सहकारीहरु उद्देश्य र सिद्धान्त विपरित गएर काम गरेकाले अहिले सहकारीमा केही समस्या आएको बताउनुभयो । उनले‘ केही सहकारीहरुले राम्रो काम पनि गरेका छन् , केही सहकारीहरु ऐन कानुन विपरीत गएर काम गर्दा समस्या आएको हो, हामीले त्यस्ता सहकारीहरुको विवरण माग गरेर अनुसन्धान गर्दैछौं ।’

पूर्व गृहमन्त्री रवि लामिछानेले आफुले गरेका गलत कामको ढाक छोप गर्न शक्ति प्रदर्शन गरेको समेत मन्त्री अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो‘ सहकारी ठगीका प्रमाणहरु हुँदा हुँदै पनि आफुलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध भएको भन्दै पार्टी कार्यकर्ताहरुलाई सडकमा उतार्नु गलत हो ।’ सहकारी ठगीमा संलग्न जोकोहीलाई पनि सरकारले कानुनी दायरामा ल्याउने मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘ गलत काम गर्ने कसैलाई पनि छोड्ने छुट हामीलाई छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज