पाल्पा । पाल्पाको ऐतिहासिक पाल्पा दरबार संग्रहालयलाई अध्यारोमुक्त बनाइएको छ । विद्युत् नभएको समयमा अध्यारो हुने संग्रहालय अहिले २४ सैं घण्टा उज्यालो हुने बनाइएको हो ।
वैकल्पिक उर्जाको व्यवस्था गरिएसँगै संग्रहालय जुनसुकै बेला पनि उज्यालो हुने गरेको छ । दैनिक तीन/चार सय बढी पर्यटकले अनुगमन गर्ने यो संग्राहलय विद्युत् जाँदा अँध्यारिन्थ्यो । यहाँ वैकल्पिक उज्यालोको कुनै पनि व्यवस्था नहुँदा विद्युत गएका बेला पर्यटकहरु संग्रहालय अवलोकन नगरी फर्कन बाध्य थिए । समस्या समाधानका लागि संग्रहालयले विगतदेखि नै हारगुहार गर्दै आए पनि समस्या टरेको थिएन ।
केही समय अघि संग्रहालय अवलोकन गर्न आउनुभएका लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विजुलीबत्ती नहुँदा पर्यटकहरुले संग्रहालय अवलोकन गर्न नपाउने अवस्था देखेपछी ‘दरबार संग्रहालयमा बैकल्पिक उर्जाको व्यवस्था मिलाउन अनुरोध गर्नुभएको थियो ।
मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकीय थलो पाल्पा दरबार संग्राहलयमा तत्काल बैकल्पिक उर्जाको व्यवस्था गर्न मन्त्रालय मातहतको पर्यटक परिषद्लाई निर्देशन दिए लगत्तै परिषदले तत्कालै इन्भटर खरिदका लागि संग्राहलयलाई बजेटको व्यवस्थापन गरिदिएको थियो । यहाँ अहिले इन्भर्टर जडान गरिएको छ । ‘दरबार संग्रहालयमा वैकल्पिक ऊर्जाको कुनै पनि व्यवस्था थिएन, विद्युत् नभएको समयमा संग्राहलय अँध्यारो रहने अवस्था थियो,’ संग्रहालयका कार्यकारी निर्देशक श्याम कुमार पौडेलले भन्नुभयो ‘संग्रहालय अँध्यारो हुँदा अवलोकका लागि आउने पर्यटकहरूबाट लामो समयदेखि गुनासो सुन्दै आएका थियौँ, वर्तमान पर्यटन मन्त्रीज्यू समक्ष हामीले समस्याका बारेमा जानकारी गरायौँ, र तत्कालै उहाँबाट हाम्रो समस्या सम्बोधन भएको छ ।’ इन्भर्टर जडान भएपछि अहिले संग्रहालयमा अँध्यारोको समस्या दीर्घकालीन रूपमा टरेको छ ।
पाल्पा दरवार संग्रहालयमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउने, अवलोकन गराउने, पुराना कलासंस्कृतिका बारेमा जानकारी गराउने, विभिन्न पक्षलाई सोधखोज तथा अनुसन्धानमा सहयोग पुर्याउन आवश्यक पूर्वाधारहरुको विकास गर्न मन्त्रालयले आवश्यक कामहरु गर्दै आएको पर्यटनमन्त्री न्यौपानेले बताउनुभयो ।
२०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादी आक्रमणबाट ध्वस्त भएको पाल्पा दरबार लाई पुनः निर्माण पछी २०७२ साल देखी दरवार संग्रहालयको रुपमा सञ्चालनमा आएको थियो । पाल्पा दरवारलाई प्रताप शमशेरण राणाले निर्माण गरेका थिए । तत्कालिन विद्रोही माओवादी आक्रमण हुनुु अघि पाल्पा दरवारमा जिल्लाका अधिकाशं कार्यालयहरु सञ्चालनमा रहेका थिए । .
संग्रहालय रहेको दरबार काठ र इँट्टाबाट निर्माणाधीन छ । झण्डै सात करोडको लागतमा निर्माण भएको दरबारमा चारवटा तल्ला, ४२ वटा कोठा, दुईवटा बुर्जा र दुईवटा बैठक हल छन् । तत्कालीन शासक जनरल प्रतापशमशेरले १९८२ सालदेखि १९८९ सालसम्म निर्माण गरिएको थियो । प्रतापशमशेर राणाको मृत्युपछि यो दरबार प्रयोगविहीन अवस्थामा रहेको थियो । राजा महेन्द्रले विसं. २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । क्षतिग्रस्त दरबार निर्माण पूरा भएपछि २०७२ मंसिर ३ गते पाल्पा दरबारलाई संग्रहालय स्थापना गर्ने सरकारले निर्णय गरेको हो । यहाँ दरबारको पश्चिमतर्फ नेपाल राष्ट्रिय अनुसन्धान, विद्युत् प्राधिकरण, नेपाल टेलिकमको कार्यालय छ । दरबारको दक्षिणतर्फ जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनको भवन छ । दरबारको उत्तरतिर बालमन्दिर, जिल्ला समन्वय समिति रहेको छ ।
नेपाली सेनाले निशान घर निर्माण गरेको छ । संग्रहालयमा पुराना सामग्रीहरु सजाइएको छ । साथै थारु, मगर, ब्राम्हण नेवार तथा अन्य जातजातिको परम्परागत भेषभूषा, कलाकौशल राखिएको छ । यहाँको आकर्षण सैनिक संग्रहालय छ । सेनाको इतिहासका साथै वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम सम्बत १८७१ मा भएको लडाइँलाई स्मरण गराउने सामग्री राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएको जितगढी, नुवाकोट गढी किल्लाका सम्झनामा सामग्रीहरु राखिएको दि फेमस महिन्द्र दल गणका गणपति भुपेन्द्र गुरुङ्गले बताउनुभयो । संग्रहालयभित्र बृतचित्रमार्फत नेपाल–अंग्रेज युद्धको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर निर्माण भएको छ । तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशनलगायत संग्रहित गरी राखिएको छ । तानसेन नगरपालिकाले पाल्पा दरबार परिसरलाई ‘दरबार स्क्वायर’ बनाउने तयारी थालेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा