भक्तपुर । भक्तपुर प्रहरीले लागू औषध कारोबारविरुद्ध आक्रामक कारबाही गर्दै कात्तिक महिनामा मात्रै १० जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले यस क्रममा दुई मेडिकल पसलका संचालकलाई समेत पक्राउ गरेको छ। प्रहरीका अनुसार, भक्तपुर जिल्लामा पछिल्लो समयमा लागू औषध कारोबार बढ्दै गएको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरले यो अभियान सुरु गरेको हो।
शनिबार, मध्यपुर थिमि–९ स्थित राधेराधेमा रहेको सुजु मेडिकलका संचालक ४८ वर्षीय गणेश प्रसाद आचार्यलाई लागू औषधको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको छ। प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सुजु मेडिकलमा छापा मार्दा ५३० थान ट्याब्लेट लागू औषध बरामद गरेको हो। आचार्यसँगै २८ वर्षीय राजेश गुरागाईलाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिएका छन्। भक्तपुर जिल्ला अदालतले आइतवार आचार्य र गुरागाईको पाँच दिनको म्याद थप गर्दै थप अनुसन्धान अघि बढाउने आदेश दिएको छ।
यसअघि, कात्तिकको पहिलो साता भक्तपुरकै मध्यपुर थिमि–१ लौहकिन्थलीस्थित अर्को फार्मेसीका संचालक रोहित सिंह र उनका सहयोगी बलिराम खड्कालाई पनि लागू औषधको कारोबार गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो। उनीहरुको फार्मेसीमा छापामारी गर्दा १८० थान लागू औषध बरामद गरिएको थियो। भक्तपुर प्रहरीले यी सबै व्यक्तिहरूलाई लागू औषध कारोबारमा संलग्न रहेको ठहर गर्दै थप अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक माधव बुढाथोकीले लागू औषधको कारोबार र सेवन रोक्नका लागि साना र ठूला सबै कारोबारीलाई पक्राउ गर्ने र अनुसन्धानको दायरामा ल्याउने नीति अख्तियार गरिएको बताए। बुढाथोकीका अनुसार, लागू औषध सेवन गर्ने व्यक्तिमार्फत ठूलो गिरोहसम्म पुग्न प्रहरीलाई सजिलो भएको छ।
“लागू औषध कारोबार नियन्त्रण नगरी दुर्व्यसन नियन्त्रण गर्न कठिन छ,” बुढाथोकीले भने, “त्यसैले लागू औषध विक्री वितरणमा संलग्न जो कोहीमाथि कारबाही गरिन्छ। साना कारोबारीबाटै ठूला गिरोहसम्म पुग्न प्रहरी सक्रिय छ।”
यस कारबाहीले भक्तपुर जिल्लामा लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूमा त्रास पैदा गरेको प्रहरीको दाबी छ। भक्तपुर प्रहरीले आगामी दिनहरूमा समेत लागू औषध कारोबारीविरुद्ध थप कठोर कदम चाल्दै जाने बताएको छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts