काठमाडौं । स्टार्टअप प्रवद्र्धनका लागि काठमाडौंमा दुईदिने स्टार्टअप एण्ड आइडिया फेस्ट हुने भएको छ । लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस मेलामा सयभन्दा बढी स्टर्टाअप र इन्नोभेसनको प्रदर्शनी रहने बताइएको छ । कात्तिक २९ र ३० गते बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने मेलामा ठूलो संख्यामा डिजिटल स्टार्टअप र इन्नोभेसनको सहभागिता रहने आयोजकले जनाएको छ । आइसिटी अवार्ड २०२४ को प्रि-इभेन्टका रूपमा आयोजना हुने मेलामा द स्क्वाइड अफ चेन्जमेकर र इञ्जिनियरर्स भ्लग्सको सहकार्य रहेको छ । मेलामा आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रोडक्ट र इन्नोभेसनले समेत आफ्ना आइडिया र प्रोडक्टको शोकेस गर्नेछन् ।
आयोजकले सातै प्रदेशबाट छनोट गरेर ल्याएका ३० बढी स्टार्टअपको पनि सहभागिता रहनेछ । सहआयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेम सञ्चालन गर्नेछ भने इञ्जिनियर भ्लग्सले रोबोट प्रतिस्पर्धा गराउनेछ । स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरूलाई प्रवद्र्धन गर्न आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताउनुभएको छ ।
साथै आयोजकले सरकार, इकोसिस्टम विकासमा योगदान दिने संस्था र सरोकारवालासँगै लगानी र सहयोग गर्न चाहनेलाई सहकार्यका लागि आहृवानसमेत गरेको छ । आयोजकका अनुसार मेलासँगै काठमाडौंबाहिरबाट सहभागी हुने स्टार्टअपहरूलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरू सञ्चालन हुनेछ । किङ्स कलेजको सहकार्यमा बुटक्याम्प, एमआइटी कलेजको सहकार्यमा मेन्टरिङ सेसन, सेडर गेट र एफवान सफ्टसँगको सहकार्यमा इण्डस्ट्री भिजिटका विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।
सबै कार्यक्रममा सहभागिताका लागि स्टार्टअपहरूले कुनै शुल्क तिर्नुपर्दैन भने सातै प्रदेशका स्टार्टअपबाट हरेक प्रदेशका उत्कृष्ट एक-एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मानसमेत गरिनेछ । आइसिटी अवार्ड २०२४ का लागि विभिन्न १४ विधामा छनोट प्रक्रियामा छन् । विभिन्न चरणको छनोटपछि उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रोडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसनले पनि कार्यक्रममा सहभागिता जनाएर आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सक्ने बताइएको छ । नेपालबाहिरका स्टार्टअपका लागि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि आयोजना हुनेछ । आइसिटी अवार्डको नवौँ संस्करण पुस ५ गते आयोजना हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा