काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति चयनसँगै बिहीबार एकै दिन चार हजारले घटेको सुनको भाउ शुक्रबार भने दुर्ई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको हो ।
बुधबार एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको सुनको भाउ घटेर बिहीबार एक लाख ६४ हजार पाँच सय रुपैयाँमा झरेको थियो । ट्रम्प निर्वाचित भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकै दिन ३.२ प्रतिशत हाराहारीमा घटेको थियो । बुधबार प्रतिऔंस दुई हजार सात सय ४५ अमेरिकी डलर रहेको सुन बिहीबार दुई हजार छ सय ५७ सम्म झरेको थियो । तर, पछि अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २६६०.११ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.१४ डलरमा कारोबार भएको थियो । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले पछिल्लो समय सुनको मूल्य बढ्नुमा ब्रिक्स संगठनमा रहेका राष्ट्रले डलरप्रति गरेको अविश्वास सबैभन्दा प्रमुख कारण रहेको बताउनुभयो ।
विश्वकै ठूला अर्थतन्त्र भएका चीन, भारत, रुस, ब्राजिल, दक्षिण अफ्रिकालगायत देश पछिल्लो समय डलरको विकल्प खोज्ने तयारीमा छन् । युक्रेन युद्धपछि रुसले डलरमा अन्तर्राष्ट्रिय कारोबार गर्नै छाडेको छ । तर, ट्रम्प निर्वाचित हुनेबित्तिकै सुनको मूल्य घट्नुमा उहाँले लिएको नीतिको मनोविज्ञान प्रमुख कारण रहेको शाक्यको भनाइ छ । उहाँका अनुसार जो बाइडेन र डेमोक्रेटिक उम्मेदवारहरूले अन्तर्राष्ट्रिय राजनीतिमा मात्रै धेरै ध्यान दिने गरेको र अमेरिकाको आन्तरिक अर्थतन्त्र कमजोर हुँदै गएको अवस्थाबीच ट्रम्पको घोषणाले लगानीकर्तामा उत्साह आएको देखिन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता