‘कहाँ पाउनु अब मखमली फूलको माला’

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । शनिवार साँझ बेनी नगरपालिका-२ ज्यामरुककोट माइतमा आएर आइतबार (आज) तिहारको भाइटीकाका दिन आफ्ना दाजुभाइलाई लगाइदिने सयपत्रीको माला उन्दै गर्नुभएकी प्रतिभा ढुङ्गानाको मन प्रशन्न छैन । माइतीको आँगनमा दाजुभाइ र बुबाआमासँग गफिदै माला बनाइरहनुभएकी ढुङ्गानाको मन प्रशन्न नहुनुको कारण भने मखमली फूलको अभाव हो ।

“कति खोजें कही पनि पाउन सकिन मैले मखमली फूल” ढुङ्गानाले भन्नुभयो “तिहारमा मखमली फूल बिनाको माला पनि के माला ? तर,छैन कतै मखमली । कहाँ पाउनु अब मखमली फूलको माला ।” भाइटीकाका दिन दिदी बहिनीहरुले आफ्ना दाजुभाइलाई लगाइदिने मालामा अनिवार्य जस्तै बनेको मखमली फूल म्याग्दीका ग्रामीण भेगहरुबाट लोप हुँदै गइरहेको छ ।

‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ प्रशिद्ध लोकगायक नारायण रायमाझीले गाएको यो गीतका शब्दमातिहारको बेला प्रदेशबाट दाजुभाइ घरमा नआउँदाका पीडा समेटिएको छ भने अहिलेका दिदीबहिनीलाई मालाका लागि मखमली फूल नपाइँदाको पीडाले मन भक्कानिएको छ ।

दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइनाका साथै तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् ।

तर,केही वर्ष अघिसम्म गाउँघरमा प्रशस्तै पाइने मखमली फूल हिजोआज लोप हुँदै गएको छ । मखमली फूल पाइन छोडेपछि भाइटीकामा दिदीबहिनीहरुले दाजुभाइलाई थुङ्गे फूल,सयपत्री फूल र स्थानीय मौसमी फूलको माला लगाइदिन बाध्य हुनुपरेको दुखेसो पोख्छन् ।

ADVERTISEMENT

नेपालीहरुका लागि तिहारको अभिन्न अंग बनेको मखमली फूल हराउँदै जानुमा तापक्रम बृद्धिका कारण माटोमा अम्लियपना बढ्नु र अनुकुलन हुनेगरी यसको संरक्षण नगरिनु रहेको जानकारहरु बताउँछन् । “पछिल्ला तीनवर्ष यता म्याग्दीको ग्रामीण भेगबाट मखमली फूल लोप हुँदै गएको छ । तर,यसको संरक्षणमा ध्यान भने जान सकेको छैन”बेनीको न्यूरोडमा पूजा तथा श्रृङ्गार पसल संचालन गर्नुभएका टीकाराम आचार्यले बताउनुभयो ।

संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर हुन्छ । मखमली फूल नोपालीहरूका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ ।

अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् । सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्रीझैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिएता पनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा मखमली विशेष लोकप्रिय छ ।

मखमली फूलसँगै गाउँघरमा फुल्ने सुपारी,गरधौली र लालुपाते लगाएतका फूल पनि देखिन छाडेको उहाँले बताउनुभयो । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको विमला सुवेदीले बताउनुभयो ।

नझर्ने, नओइलाउने र वर्षौँ पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी र हल्का रातो रङमा फुल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?